पत्रकारको स्वास्थ्य परीक्षण गर्दै महासंघ

बागलुङ, १३ चैत – नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङले जिल्लाभर क्रियाशिल पत्रकारहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ । सधैं काममा व्यस्त रहने पत्रकारहरुले आफ्नो सामान्य स्वास्थ्य समस्या बारेमा जानकारी राख्नुपर्ने भन्दै महासंघले सामान्य स्वास्थ्य परिक्षण गर्न लागेको हो ।पत्रकार महासंघको ६४ औँ स्थापना दिसवको अवसर पारेर बागलुङमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको सँगको सहकार्यमा स्वास्थ्य परिक्षण गर्न लागिएको सचिव राम बहादुर थापाले जानकारी दिए । आगामी चैत १६ गते एक दिनको लागि शिविरनै सञ्चालन गरेर स्वास्थ्य परिक्षण गरिने उनले बताए ।

‘कामको चापका कारण सामान्य स्वास्थ्य समस्याको बिषयमा समेत हामी बेखवर छौं’ महासंघ जिल्ला शाखा अध्यक्ष दिल शिरीषले भने ‘दिवसको अवसरमा सबै पत्रकारको स्वास्थ्य स्थितीबारे जानकारी राख्ने योजना बनाएका हौं ।’ शिरीषका अनुसार दिवसको अवसरमा चैत्र १५ गते जोखिम, संकट तथा कठिन अवस्थाको रिपोर्टिङ अनुभवको प्रस्तुतीकरण, १६ गते प्रभावफेरीसहित पत्रकारको स्वास्थ्य परीक्षण गर्ने निर्णय शाखाले गरेको छ । नेपाल पत्रकार महासंघको २०१२ चैत १६ गते (सन् १९५६ मार्च २९) स्थापना भएको थियो । महासंघका संस्थापक सभापति पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई हुन ।