बेरोजगारको तथ्यांक संकलन शुरु

म्याग्दी, १५ चैत – प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि म्याग्दीका स्थानीय तहहरुमा बेरोजगारको तथ्याङ्क संकलन शुरु गरेको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने सरकारको लक्ष्य अनुरुप जिल्लाका ६ ओटै स्थानीय तहमा तथ्याङ्क संकलन शुरु गरिएको हो । स्थानीय तहका वडाबाट तथ्याङ संकलन शुरु गर्ने निर्देशिका अनुसार बेनी नगरपालिकाका १० वटै वडा मार्फत बेरोजगार नागरिकको तथ्याङ्क संकलन गर्न शुरु गरिएको बेनी नगरपालिकाकी रोजगार संयोजक भगवती खड्काले जानकारी दिइन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण संकलन गर्ने निर्देशन दिएअनुरुप संकलन कार्य शुरु गरिएको उनले बताइन् । ‘बेरोजगार नागरिकको पहिचान गरी नाम दर्ताका लागि दिने निवेदन फारम नगरपालिकाका १० ओटै वडामा पु¥याइएको छ’, खड्काले भनिन् ।

खड्काका अनुसार निवेदन संकलनका लागि चैत मसान्तसम्मको म्याद रहेको र निवेदन संकलन भएपछि सबै निवेदन नगरपालिकामा आइपुग्नेछ । वडाबाट आएका सूची नगर कार्यपालिकाले पास गरेपछि रोजगार व्यवस्थापन सूचना प्रणालीमार्फत् सम्बन्धीत मन्त्रालयको सर्भरमा अद्यावधिक हुने व्यवस्था रहेको उनले जानकारी दिएकी छन् । त्यसपछि सूचीमा सूचीकृत भएका व्यक्तिलाई सेवा केन्द्रले लाभग्राहीको परिचयपत्र वितरण गर्ने संयोजक खड्काले जानकारी दिइन् । प्रत्येक वडा कार्यालयमार्फत् संकलन भएका बेरोजगार हुनेको विवरण देशभरिबाट नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको विभागमा अद्यावधिक हुनेछ ।

यस्तै जिल्लाका अन्य स्थानीय तहमा समेत बेरोजगारको तथ्याङ्क संकलन शुरु भइसकेको छ । मंगला, मालिका, धौलागिरि, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा पनि तथ्याङ्क संकलनको काम शुरु गरिएको सम्बन्धित स्थानीय तहका प्रमुख तथा सम्बन्धित कर्मचारीले बताएका छन् । रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्ने प्रावधान रहेको छ । लाभग्राहीको परिचयपत्र पाएका तर न्यूनतम काम समेत नपाएका व्यक्तिलाई जीवन निर्वाह भत्ता सरकारले उपलब्ध गराउने छ । परिवारको कुनै एक सदस्य वैदेशिक रोजगारीमा भएको खण्डमा भने निर्वाह भत्ता दाबी गर्न पाइने छैन ।