धमाधम बनेका अग्ला पुलका कारण प्रयोगविहीन भए साना झोलुङ्गे पुल

१०० बर्ष पुराना पुलको अस्थित्व संकटमा

बागलुङ, १५ चैत–कालीगण्डकी माथि अग्ला र लामा पुल बन्न थालेपछि सर्वसाधारणको आवातजावतका लागि बनाइएका साना र छोटा पुलहरु प्रयोगविहीन बन्न थालेका छन् । बागलुङ र पर्वत जोड्ने गरी बनेका अग्ला तथा लामा पुलहरुका कारण दशकौं पहिला बनेका छोटा र होचा पुलहरु प्रयोगविहीन बनेका हुन् ।
अहिलेभन्दा १०० वर्ष पहिला बागलुङको निरहे घाट र पर्वतको खनियाघाट जोड्ने गरी बनेको पुलका अवशेष समेत बाँकी छैनन् । बागलुङका नन्द कुमार श्रेष्ठको सम्झना उनको परिवारले व्यक्तिगत लगानीमा उक्त पुल बनाएका थिए । पुल बन्नु पूर्व ढुङ्गामा ओहोरदोहोर गर्ने बागलुङेहरुलाई पहिलो पटक कालीगण्डकी तर्न यसले सहज बनाएको इतिहासका जानकार काजी रोशन बताउँछन् ।
दश वर्ष पहिले नेपाल सरकारले नयाँ प्रविधिको ‘सपेन्सन ब्रिज’ निर्माण गरेपछि पुरानो पुलका सबै संरचना हराए । नयाँ बनेको पुलमा समेत मानिसहरुको आवतजावत निकै कम छ । मालढुङ्गामा मोटर चल्ने गरी २०५० सालमा पुल बनेपछि उक्त पुल प्रयोगविहीन अवस्थामा रहेको छ । निरहेको पुलमा अहिले घाँस दाउरा गर्ने र खेतिपातीका लागि वारिपारि गर्नेहरुले मात्रै प्रयोग गर्दै आएका छन् । निरहेको पुल बागलुङेहरुलाई पर्वत र त्यसभन्दा पूर्वका सबै क्षेत्रमा आवतजावतका लागि एक मात्रै विकल्पको रुपमा रहेको थियो । विकास क्रमसँगै बागलुङमा सवारी भित्रिए पछि पुलको प्रयोग घटेको काजी रोशन बताउँछन् ।
बागलुङको बलेवा क्षेत्र र पर्वतको सदरमुकाम कुश्मा बजार तथा बागलुङको जैमिनी क्षेत्र र पर्वतको फलेवास क्षेत्र जोड्ने गरी आधा दर्जनभन्दा धेरै छोटो दूरीका झोलुङ्गे पुलहरु बनेका छन् । बागलुङको कुश्मीशेरामा पर्ने जैमिनी घाट र पर्वतको देवीस्थान जोड्ने गरी १९९० साल भन्दा पहिला खानीगाउँका भवानी प्रसाद शर्मा र मोती प्रसाद शर्माले झोलुङ्गे पुल निर्माण गरेका थिए । दक्षिण बागलुङका सर्वसाधारणको प्रदेश जाने र नून तेल ल्याउन बटौली जान कालीगण्डकी तर्ने एक मात्रै माध्यमको रुपमा रहेको उक्त पुल पछिल्लो समय मर्मतसमेत हुन सकेको छैन । दश वर्ष पहिलासम्म दैनिक हजारौं मानिसको ओहोरदोहोर हुने उक्त पुलमा अहिले मुश्किलले महिनामा एक÷दुईजना मानिस आवतजावत गर्ने गरेको स्थानीयवासी केदार शर्मा बताउँछन् ।
अहिले पनि उनीहरुले बनाएको पुल जीर्ण अवस्थामा रहेको छ । माघे सङ्क्रान्तिको समयमा विसं २०३० को दशकमा यो पुल चुडिँदा कयौं मानिसहरुको मृत्यु भएको जैमिनी नगरपालिकाका पुराना शिक्षक कृतिनाथ शर्माले बताए । चुँडिएको पुललाई पटक पटक मर्मत गरेर बनाइएका संरचना अहिले पनि बाँकी छन् । पुरानो पुलभन्दा केही तल जैमिनी ऋषिको मन्दिर नजीकैबाट २०६० को दशकमा अर्को झोलुङ्गे पुल बनेपछि यो पुल प्रयोगविहीन अवस्थामा रहँदैआएको छ । जैमिनी घाटमा झोलुङ्गे पुल नजीकै प्रदेश सरकारको लगानीमा मोटर चल्ने पक्की पुल निर्माणको कामसमेत भैरहेको फलेवासका समाजसेवी भोलानाथ शर्माले बताए ।
समयको विकास क्रममा मानिसहरुका इच्छा र आवश्यकता बढे सँगै पछिल्लो समय बागलुङ र पर्वतका विभिन्न ठाउँहरु जोड्ने गरी अग्ला र लामा पुलहरु बनाउने क्रम बढ्दै गएको छ । कालीगण्डकीले बनाएको खोँचमा निर्माण भएका पुलहरुमा निर्भर रहेका यहाँका सर्वसाधारणलाई खोँच माथिबाट बन्ने पुलले सहजता प्रदान गरिरहेको छ । विसं २०४५ देखि कुश्मा र ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिए पनि २०६७ सालमा आएर उक्त पुल निर्माण भएपछि बागलुङ र पर्वत जोड्ने अग्ला पुल निर्माणको लहर चलेको हो । मोदीखोलामाथि निर्माण भएको यो पुलको लम्बाइ ३४५ मिटर र उचाइ १३५ मिटर रहेको छ । त्यस्तै, कुश्मा–कैया झोलुङ्गे पुल २०७० फागुनदेखि सञ्चालनमा आयोे ।
योे झोलुङ्गे पुलका कारण बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन् । कालीगण्डकी नदीमाथि बनेको ३४७ मिटर लामो र १५६ मिटर उचाइमा रहेको यो पुल रु एक करोड ५६ लाखको लागतमा निर्माण गरिएको हो । पुल निर्माण भएसँगै यही पुलभन्दा तल खोँचमा रहेको कैया–कुश्मा जोड्ने गरी बनाइएको पुल प्रयोगविहीन अवस्थामा छ । विसं २०६० देखि ७० को दशकमा यो पुलको प्रयोग गरेर दैनिक ३ हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्थे ।
बलेवाकै नेपाने र कुश्मा जोड्ने अर्को सानो पुल समेत घाँस दाउरा गर्नेहरुका लागि मात्रै भएको छ । साना र छोटा पुलहरुको प्रयोगमा कमी आउनुको अर्को कारण केबुलकार मोडेलको कुश्मा–बलेवा यान्त्रिक पुल हो । यो पुल २०६९ सालदेखि सञ्चालनमा आएको हो । पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा निजी क्षेत्रको लगानीमा निर्माण भएको सो पुलमा शुल्क तिरेर मात्रै आवतजावत गर्न सकिन्छ । यो पुल सञ्चालनका कारण पनि खोँचमा कालीगण्डकीमाथि बनेका पुलको प्रयोग घटेको बलेवाका स्थानीयवासी भरत पौडेलले बताए ।
यस्तै, केही दिन पहिला मात्रै बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण थालिएको ‘सस्पेन्डेट डी टाइप’ को यो झोलुङ्गेपुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको हुनेछ । ‘सस्पेन्डेट डी टाइप’ को यो पुल नेपालकै लामो र अग्लो झोलुङ्गे पुल भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए । कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको पुल दुई वर्षभित्र सक्ने गरी हिमशिखर÷बिएलटी÷थानी जेभी कन्स्ट्र«क्सनले ७ करोड ९७ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । यो पुलको निर्माण लागत रु १२ करोड २२ लाख १८ हजार ९५७ छ । बागलुङको जैमिनी नगरपालिका र पर्वतको फलेवास नगरपालिका जोड्ने गरी जैमिनी–५ बिनामारे र फलेवासको देवीस्थानमा पनि अर्को अग्लो पुल बनिरहेको छ । निर्माणाधीन दुवै पुलको काम सकिए पछि थप साना झोलुङ्गे पुलहरु प्रयोगविहीन बन्ने छन् ।
मानिसहरुको सुविधाका लागि नयाँ प्रविधिका अग्ला र लामा पुलहरु बनेका भए पनि पुरानाको पुलको पनि संरक्षण र प्रयोगको प्रवन्ध मिलाउनुपर्ने जानकारहरु बताउँछन् । “संरचना त्यसै बनेका होइनन्, ठूलो लगानी र तपस्याले बनेका हुन्,” पर्वतको खानीगाउँका समाजसेवी भोलानाथ शर्माले भने – “नयाँ बनेका संरचनाको उपयोग गर्दा पुराना संरचनाको सदुपयोगमाथि पनि सोच्नु पर्छ ।”