अर्गानिक तरकारीले मालामाल

२२ वर्ष देखि निरन्तर अर्गानिक तरकारी उत्पादन गर्दौ सापकोटा

बागलुङ, १६ चैत – जैमिनी नगरपालिका–२ दमेकका टिकाराम सापकोटाले अर्गानिक तरकारी खेती गर्न थालेको २२ बर्ष भयो । स्थानीय बजारमा उनले उत्पादन गरेको तरकारीको माग अहिले पनि उत्तिकै छ । दमेकको बनहुँमा रहेको ७ रोपनी खेतबारीमा सापकोटाले फलाएको तरकारीले राम्रो बजार पाउने गरेको छ । २०५३ सालदेखि निरन्तर तरकारी खेती गर्दै आएका सापकोटाले तरकारीको बिक्रीबाट मात्रै मासिक ३० हजारभन्दा धेरै खुद नाफा गर्दै आएका छन् । अहिले पनि सापकोटाको बारीमा काउली, बन्दागोपी, मुला, गाजर, सिमी, कांक्रा फलेका छन् । सिजन र बेसिजनमा समेत तरकारी उत्पादन गर्ने सापाकोटाले शुद्ध अर्गानिक तरकारी उत्पादन गर्छन् । बारीमा फलेको तरकारीको स्वाद र गुणका कारणले नै लामो समय बजारमा आफ्नो उत्पादन टिकेको सापकोटा बताउँछन् । ‘तरकारीमा प्रयोग गर्ने बिषादी कस्तो हुन्छ मलाई जानकारी छैन’ सापकोटाले भने ‘रोग किराको नियन्त्रण गर्ने मेरो औषधी गाईबस्तुको गहुँत मात्रै हो ।’ गहुँतकै प्रयोगले मात्रै तरकारीमा लागेका सबै रोगकिरा मर्ने गरेको अनुभव उनीसँग छ । ५४ बर्षिय सापकोटाले तरकारीको बिक्री पनि आँफै गर्दै आएका छन् । डोकोमा तरकारी बोकेर उपभोक्ताको घर–घरमा पुग्ने सापकोटाको तराकारीले मागबमोजिम मुल्य पाएको छ ।

पछिल्लो समय सापकोटलाई मानिसहरु ‘गोपी साईला’ भनेर चिन्ने गरेका छन् । परिवारका साईंला छोरा टिकारामको डोकोमा गोभी बोकेर बेच्दै हिँड्दा परिचयनै फेरीएको हो । दश÷बाह्र बर्ष पहिला कुश्मीशेरा बजारमा डोकोमा तरकारी बोकेर आउने सापकोटालाई आफ्नै ग्राहकले नै गोपी साईंला नामाकरण गरेको बताउँछन् । गोपी साईला, प्रायः मानिसले यहीँ नामले बोलाउँछन् उनलाई । गाउँ, टोलदेखि बाटोमा भेट्नेहरुले भन्छन् ‘गोपी साईला’ । तरकारीले बदलेको परिचयबाट सापकोटा सन्तुष्ट छन् । मानिसहरु अहिले छिटो र सस्तोका लागि तरकारीजन्य वस्तुमा पनि किटनासक औषधी प्रयोग गर्दछन् । औषधीले मानिसको स्वास्थ्यमा कति असर पार्छ भन्ने खासै चासो राख्दैनन् । तर सापकोटाले उपभोक्ता स्वास्थ्यको हितमा हुने गरी तरकारी उत्पादन गर्दै आएका छन् । बिषादीका कारण मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भन्ने बिषयमा गाईंगुईं सुनेका उनलाई कहिल्यै पनि तरकारीमा बिषादी प्रयोग गर्ने र क्षणभरमै मालामाल हुने मन नपलाएको बताए । सापकोटाले उत्पादन गरेका तरकारी छिट्टै नकुहिने अनुभव छ जैमिनी–१ सेराका ओमकार थापाको । केही दिन पहिले थापाले आफ्नो पसलमा सापकोटाले उत्पादन गरेको बन्दागोभी र बाहिरी बजारबाट ल्याएको बन्दासंगै राखे । बाहिरी बजारबाट ल्याएको बन्द एक÷दुई दिनमै कुहियो तर उनले ल्याएको बन्दा लामो समयसम्म कुहिएन । उपभोक्ताले परीक्षणनै गरेर सापकोटाले उत्पादन गरेको तरकारीमा विश्वास गर्ने गरेका छन् । उनलाई उत्पादित तरकारीले बजार पाएन भन्ने पनि छैन ।

धेरै टाढा पु¥याउनु परे जिल्ला सदरमुकाम बागलुङ बजारसम्म हो । प्रायः उनको तरकारी कुश्मीसेरा बजारमै खपत हुन्छ । अझ बजारमा तरकारी पु¥याउन नै हम्मेहम्मे पर्ने गरेको उनको अनुभव छ । ‘बजारमा होस् वा गाउँमा अर्गानिक तरकारी खोज्नेको माग बढ्दै गएको छ’ सापकोटाले भने ‘मागेजति तरकारी पु¥याउन सकेको छैन, मैले जस्तै उत्पादन गर्ने अर्को भेटिएन ।’ उपभोक्ताको चाहना अनुसारको उत्पादन दिन सके धेरथोर कमाउन बिदेश जान नपर्ने उनको भनाई छ । प्रायः सबै काम आँफैले गर्ने सापकोटालाई पछिल्लो समय प्रबिधिले सघाएको छ । खेतबारीको खनजोत गर्नका लागि आधुनिक मेसिन आएकाले सहज भएको सापकोटाले बताए । सापकोटाले तरकारीको कमाईबाट तीन जनाको परिवार राम्रोसँग चलाएर मासिक बचत समेत गर्दै आएका छन् । ‘परिवारसँग रमाएर आफ्नै बारीमा कमाएको छु’ उनी भन्छन्– ‘मेहनत गर्न सके कमाउन बिदेश किन जानु ?’ तरकारीको उत्पादनबाट सफलता पाएका सापकोटाले पछिल्लो समय फलफुल खेती गर्ने सोच बनाएको बताए । केही पाखोबारीमा हुर्किएका रुखहरु हटाएर सुन्तला उत्पादन गर्ने सोच उनले बनाएका छन् । फारामकै रुपमा सञ्चालनमा रहेको उनको तरकारीलाई कहिँकतैबाट सहयोग भने छैन् ।