बालरोग सम्बन्धी ६ दिने तालिम शुरु

बागलुङ, २२ चैत – जिल्ला स्वास्थ्य कार्यालय, सुआहारा कार्यक्रम, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहकार्यमा स्वास्थ्यकर्मीका लागि ६ दिने तालिम दिन थालिएको छ । बालरोग र उपचार बिषयमा उनीहरुलाई तालिम दिन लागिएको हो । स्वास्थ्य क्षेत्रको सेवा प्रवेश गरेकाहरुलाई समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन तालिम दिइएको फाउण्डेसनका सुआहारा कार्यक्रम संयोजक विश्वनाथ आचार्यले बताए । स्वास्थ्य कार्यालय बागलुङले पोषणको क्षेत्रमा काम गरेको सुआहाराको सहकार्यमा २५ स्वास्थ्यकर्मीलाई तालिम दिएको हो ।

तालिममा अनमी, स्टाफ नर्स, अहेव, हेल्थ असिस्टेन्ट र मेडिकल अधिकृत समेत छन् । आमा र शिशुको स्वास्थ्य अवस्था, उमेर नपुगिकनै जन्मेका बालबालिकाको उपचार, कमतौल तथा बालबालिकामा लाग्ने रोग र उपचार पद्दती बारे बिषय समेटेर तालिम दिइएको बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले बताए । तालिमलाई तिवारीसहित धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डा. सागरकुमार राजभण्डारी लगायतले प्रशिक्षण दिएका छन् । सैद्धान्तिक शिक्षा पाएकालाई व्यवहारिक तामिम दिएपछि मात्र दक्ष स्वास्थ्यकर्मी बन्ने तिवारीले बताए । तालिममा पूर्व सावधानी र प्रसुती सेवामा सरसफाई, हातधुने तारिका, आवस्यक नवजात शिशु स्याहार, न्यानो राख्ने तरिका, नाभीको हेरचाह, पुरै शरिरको जाँच लगायतको बिषय समेटिएको हो । त्यस्तै खाना खुवाउने तरिका, बच्चा रोए नरोएको थाहा पाउने, अवधि नपुगि जन्मेको, व्यक्टेरियाको संक्रमण बारे थाहा पाउने, कमलपित्त, शितांङ्गको जाँच तथा वर्गिकरण जस्ता बिषयमा पनि तालिम दिइनेछ ।

तालिमका सहभागिलाई अस्पतालमै लगेर प्रयोगात्मक अभ्यास पनि गराईने व्यवस्था गरिएको राजभण्डारीले बताए । तालिम उद्घाटन कार्यक्रम बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीको अध्यक्षता, देवप्रकास घिमिरेको संचालन र हरिकाशी पालिखेको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा तालिमको आवस्यकता र औचित्यबारे सुआहारा कार्यक्रमका संयोजक चिरन्जिवी दाहालले जानकारी गराए ।