काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्य चौकीमा फिजियोथेरापी सेवा शुरु

बागलुङ, २४ चैत – काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्य चौकीमा फिजियोथेरापी सेवा शुरु भएको छ । सो सेवाको शुक्रबार गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले शुभारम्भ गरे । स्थानीय ७३ वर्षीय लिलबहादुर कुँवरलाई फिजियोथेरापिष्ट सुजन कार्कीले पहिलो सेवा प्रदान गरेका थिए । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र हाडजोर्नी तथा नशाका बिरामीलाई लक्षित गरी सेवा शुरु गरिएको हो । सेवा सञ्चालनका लागि अन्तराष्ट्रिय नेपाल फेलोशिप –आइएनएफ) को समुदायमा आधारित पुनःस्थापना कार्यक्रम (सिबिआर)ले उपकरण उपलब्ध गराएको हो । फिजियोथेरापीमा प्रयोग हुने अल्ट्रासाउण्ड, टेन्स, हिटिङ प्याड, सोल्जर ह्विललगायत गरी १२ प्रकारका उपकरण पनि शुक्रबारनै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो । सर्वसाधारणलाई गाउँमै फिजियोथेरापी सेवा मिलोस् भन्ने उद्देश्यले निःशुल्क रुपमा सामग्री प्रदान गरिएको सिबिआरका अधिकृत सूर्यबहादुर कुँवरले बताए ।

‘अपाङ्गता भएकासँगै अन्य बिरामीले पनि यसबाट सेवा लिन सक्नहुनेछ’, उनले भने । कूल रु ५९ हजार ४०० मूल्य बराबरका उपकरण स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको हो । फिजियोथेरापी सेवा सञ्चालनका लागि (सिबिआर) का फिजियोथेरापिष्ट कार्कीले स्वास्थ्य चौकीका स्वास्थ्य सहायक ललिता घिसिङलाई एक महिने तालिम प्रदान गरेका थिए । मांसपेशी, हाडजोर्नी, नशा र स्नायुसम्बन्धी बिरामीलाई सेवा उपयोगी हुने फिजियोथेरापिष्ट कार्कीले बताए । ‘अपाङ्गतका कारण अशक्त हुनुभएका व्यक्तिलाई पनि यो प्रभावकारी उपचार विधि हो’, उनले भने । शरीरको दुखाइ कम गर्न, जोर्नीको चाल बढाउन र मांसपेशीलाई आराम दिलाउन फिजियोथेरापी गर्ने गरिन्छ ।

ज्येष्ठ नागरिक, अशक्त र बिरामीका लागि चाहिने व्यायामका रुपमा समेत फिजियोथेरापीलाई लिइन्छ । सेवाको निरन्तरताका लागि जनशक्ति व्यवस्थापनको खाँचो रहेको स्वास्थ्य चौकी इञ्चार्ज रामचन्द्र लामाले बताए । ‘फिजियोथेरापी गर्न महँगो खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ’, उनले भने, ‘सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न थप जनशक्ति आवश्यक छ ।’ गाउँपालिकाका अध्यक्ष थापाले ग्रामीण भेगको स्वास्थ्य सेवामा फिजियोथेरापीको सुविधाले नयाँ आयाम थपेको उल्लेख गरे । ‘गाउँपालिकाका अन्य स्वास्थ्य चौकीमा पनि यो सेवा शुरु गर्न प्रयास गर्छौ’, उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवाका लागि लगानी बढाउन गाउँपालिका पनि तयार छ ।’