कृषिमा लगानी बढाउँदै गाउँपालिका

अध्यक्ष विशेष कृषि तथा पशु विकास कार्यक्रम

बागलुङ, २७ चैत – कृषिमा आत्भनिर्भर बनाउने उदेश्यले बडिगाड गाउँपालिकाले ‘अध्यक्ष विशेष कृषि तथा पशु विकास कार्यक्रम’ शुरु गरेको छ । कार्यक्रममार्फत् ठूला तथा व्यावसायिक कृषि तथा पशुपाल ‘फार्म’ सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएको हो । योजना लागू गर्न गाउँसभाले चालु आवमा रु. एक करोड ५० लाख बजेछ छुट्टाएको छ । सोही बजेटबाट व्यावसायिक कृषि गर्ने व्यक्ति, समूह, सहकारी वा फार्मलाई सशर्त अनुदान उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजाले बताए । ‘कृषिलाई व्यावसायिक बनाउने प्रमुख उद्देश्य हो’ उनले भने, ‘यसबाट रोजगारी सिर्जनासँगै विदेश पलायन रोकिने हाम्रो विश्वास छ ।’ ठूलो परिमाणमा उत्पादन नगरेसम्म कृषि क्षेत्र व्यावसायिक बन्न नसक्ने उनको भनाइ छ ।
गाउँपालिकाले बनाएको कार्यविधि अनुसार अनुदान रकम उपलब्ध हुनेछ ।

अनुदान पाउनका लागि कम्तीमा आधा हेक्टर क्षेत्रफलमा व्यावसायिक कृषि गर्नुपर्ने प्रावधान छ । पशुपालनतर्फ कम्तीमा २० भैँसी या २५ गाई वा एक सय बाख्रा या पाँच सय कुखुरा पाल्नेले अनुदान पाउने छन् । ‘उत्पादन, आम्दानी र रोजगार सिर्जनाको सुनिश्चिता भए मात्र अनुदान उपलब्ध गराउँछौँ’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले भने । उनका अनुसार गापाका अध्यक्षको नेतृत्वमा रहेको समितिले गरेको अध्ययन र सिफारिसपछि अनुदानको प्रकृया अघि बढ्नेछ । गाउँपालिकाका १० वटै वडा समेट्ने गरी योजना छनोट गर्ने तयारी गरिएको छ । गाउँपालिकाले सार्वजनिक सूचना निकालेर व्यक्ति, समूह, सहकारी र फार्मबाट आवेदन माग गरेको छ । ‘धेरै आवेदन परेभने छाटो सूची निकाल्छौँ’ अधिकृत सुवेदीले भने, ‘स्थलगत अध्ययनपछि छनोटको अन्तिम टुङ्गो लाग्छ ।’

योजनाको कूल लागतमध्ये गाउँपालिकाले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने छभने बाँकी २५ प्रतिशत सम्बन्धित व्यक्ति, समूह, सहकारी र फार्मले लगानी गर्नेछन् । अनुदान र लगानीको सुरक्षाका लागि लालपूर्जा जमानतमा राख्ने सोचमा गाउँपालिका छ । ‘कृषिमा लगानी अनुसार प्रतिफल नआउने अवस्थाको अन्त्य गर्न अनुदानमा पनि कडाइ गर्दैछौँ’ गाउँपालिका अध्यक्ष पाइजाले भने, ‘गत वर्षपनि एक वडा एक उत्पादन भनेर बजेट छुट्टायौँ तर उपलब्धीमूलक भएन ।’ कृषिमा टुक्रे योजनाको सट्टा ठूला र व्यावसायिक फार्ममा लगानी बढाउनुपर्ने उनको धारणा छ । गाउँपालिकाले नीति तथा बजेटमै कृषि क्षेत्रलाई प्राथमिकताका साथ सम्बोधन गरेको छ । आउँदा वर्षमा लगानी बढाउँदै जाने गाउँपालिकाको योजना छ । बडिगाडमा तरकारी, फलफूल, खाद्यन्नबालीका साथै पशुपालनको सम्भावना छ ।