अपराजित ‘जैमिनी संङ्कीर्तन समूह’

नयाँ पुस्तालाई पुरानो पुस्ताको कला संस्कृतिको बिषयमा जानकारी गराउनु दायित्व

बागलुङ, २८ चैत – पछिल्लो समय मेला र महोत्सव तथा कुनै बिशेष पर्वको अवसरमा आयोजना हुने भजन प्रतियोगितामा उपाधिको दाबेदार हो– ‘जैमिनी संङ्कीर्तन समुह’ । बागलुङको जैमिनी नगरपालिकामा गठन भएको समुहले नेपाली लोक भजनको क्षेत्रमा हराउँदै गएका परम्परालाई उजागर गर्दै हरेक भजन प्रतियोगितामा उपाधि रक्षा गर्न सफल हुँदै आएको छ । पछिल्लो समय गण्डकी प्रदेशका बिभिन्न ठाउँमा भएका प्रतियोगितामा समुहले प्राप्त गरेको नतिजाले मात्रै लोक भजनको क्षेत्रमा अपराजित छ । २०७५ सालको कृष्ण जन्मअष्टमीका बेला पोखराको राधाकृष्ण मन्दीर व्यवस्थापन समितिले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा दोस्रो स्थान हाँसिल गरेर चर्चामा आएको यो समुहले त्यसपछि बागलुङमा भएका राष्ट्रिय लोक भजनमा दोस्रो हुनु परेको छैन । शिवरात्रीको अवसरमा बागलुङको बिहुँकोटमा आयोजना भएको राष्ट्रिय लोक भजन प्रतियोगितामा प्रथमहुँदै ५५ हजार रुपैयाँ पुरस्कार राशी जितेको समुहले जारी चैत्राष्टमी मेलामा भएको लोक भजन प्रतियोगितमा समेत प्रथम हुँदै ५१ हजार रुपैयाँ जितेको छ । उदाहरणका रुपमा प्रस्तुत गरीएका यि प्रतियोगिताबाहेक पालिका, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका कयौं प्रतियोगितामा सहभागिता र सफलता हाँसील गरेका कारण समुह चर्चामा छ ।

नेपालमा पश्चिमा संस्कृतिले प्रभाव पारिरहेका बेला नेपाली लोक भजनलाई माया गर्नेहरुको संख्या पनि निकै कम हुँदै गैरहेको छ । लोक संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्दा आफ्नो लोक संस्कृति लोप हुने देखेर सङ्कीर्तन समुह गठन गरेर प्रतियोगिताहरुमा सहभागी हुन थालेको समुहका संयोजक संगम क्षेत्री बताउँछन् । समुहमा २७ देखी ४० जनासम्म कलाकार आवद्व छन् । अधिकांश जैमिनी नगरपालिकाका विद्यालयमा अध्यापनरत शिक्षक समुहमा रहेकाले नयाँ खोज र पुराना संस्कृतिको बिषयमा बिषयबस्तु तयार हुन्छ । ‘भजन प्रतियोगितामा सहभागी हुँदा समय सान्दर्भिक बिषयबस्तु छनौट गर्नु हाम्रो समूहको विशेषता नै हो’ समुहका सदस्य नविन प्रताप जिसीले भने । शिवरात्रीमा शिव लिला, रामनवमीमा रामलिला र कृष्णजन्माष्टमीमा कृष्ण लिलामा आधारित भजन सँगैको प्रस्तुती अव्वल हुने गरेको संयोजक क्षेत्री बताउँछन् । प्रतियोगिताका लागि प्रतिस्पर्धामा रहेका बेला समुहका संयोजक संगम क्षेत्रीले स्लोक सहितको भजन निकाल्ने गरेका छन्भने उनको स्लोक र भजनको टुक्काकै लयमा अरु कलाकारले अभिनय सहितको नृत्य गर्छन् । स्वरका साधक शिक्षकहरु उनको समुहमा छन् जसको स्वरकै कारण भजन संगीतमय बन्छ । बाद्यबादनमा माहिर बादकहरुले संगमको स्लोककै आधारमा बाजागाजा बजाउँछन् । पाकादेखी युवा र केटाकटीसम्म समुहमा समाबेश छन् । उनीहरुले कुशलता र सतर्कतापुर्वक प्रस्तुती दिने गरेका छन् । यहि कारणको यो समुह हरेक प्रतियोगितामा उपाधिको दाबेदार हुने गरेको क्षेत्री बताउँछन् ।

‘पुर्खाको नासो जस्ताको त्यस्तै’ भन्ने मुख्य उद्देश्य प्राप्तीका लागि यो समुह गठन गरिएको हो । ‘गर्भबाटै सम्पादन भएर यो धर्तिमा आउने नयाँ पुस्ताको लागि पनि हाम्रो संस्कृति सिकाउनका लागि समुह बनाएका हौं’ संयोजक क्षेत्रीले भने ‘हाम्रो समुहमा बाउसँगै छोरा र आमासँगै छोरी पनि सहभागी हुने गरेका छन् ।’ नयाँ पुस्तालाई पुरानो पुस्ताको कला संस्कृतिको बिषयमा जानकारी गराउनु आफ्नो दायित्व भएकाले डाक्टर, इन्जिनियर पढ्ने छोराछोरी समेत साथमै लिएर कलाकारहरु प्रतियोगितामा सहभागी हुने गरेको क्षेत्रीले बताए । समुहले हालसम्म प्रतियोगितामा जितेको रकमले बाजागाजा, पोशाक, नाटकका सामग्री र अन्य समुहका लागि आवश्यक बस्तुको खरिद गरेको छ । ‘हामी यो समुहलाई नयाँ पुस्ताले भजन सिक्ने थलोका रुपमा विकास गर्न चाहन्छौं’ समुहका सदस्य नविन प्रताप जिसीले भने ‘पुरानो पुस्ताको नासोलाई जस्ताको त्यस्तै र नयाँ पुस्ताको चाहना अनुसारको भजन बनाउन लागेका छौं ।’