७ मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता

बागलुङ, २८ चैत – जिल्लाको गल्कोट क्षेत्रमा निर्माण गरिने साढे ७ मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा अवस्थित मध्य दरमखोलाबाट विद्युत उत्पादन गरी वितरण गर्ने गरी नेपाल विद्युत प्राधिकरण र धौलागिरी सिभिल इलेक्ट्रिकल मेकानिकल इन्जियनियरीङ (धौलागिरी सेम) प्रा.लि. बागलुङबीच मंगलबार विद्युत खरिद बिक्री सम्बन्धि सम्झौताा (पिपिए) भएको हो ।
धौलागिरी सेम प्रा.लि.द्धारा प्रवद्र्धित मध्य दरमखोला ए साना जलविद्युतआयोजना (३ मेगावाट) र मध्य दरमखोला वि साना जलविद्युत आयोजना (४.५ मेगावाट) र नेपाल विद्युत प्राधिकरण बीच विद्युत खरिद बिक्री सम्झौता भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र धौलागिरी सेम प्रा.लि.का अध्यक्ष हरिनारायण गौतमले हस्त्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रवद्र्धक कम्पनी धौलागिरी सेम प्रा.लि.ले दुवै आयोजनाबाट वि.सं.२०७८ जेठ ३१ सम्ममा विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको हरिचौर सवस्टेशनमा जडान गरिने छ । मध्य दरमखोला ए (३ मेगावाट) को ब्यापारिक विद्युत उत्पादन मिति वि.सं. २०७७ चैत ३१ र मध्य दरमखोला वि (४.५ मेगावाट) को विद्युत उत्पादन मिति वि.सं. २०७८ जेठ ३१ रहेको छ । दुवै आयोजना स्थानीय लगानी र प्रभु बंैकको ऋण सहयोगमा समपन्न गरिने छ । दुवै आयोजनाको पिपिए टेक अर पे को नीतिमा गरिएको अध्यक्ष गौतमले बताए । दुवै आयोजनाबाट उत्पादित विद्युतलाई नेपाल विद्युत प्राधिकरणले सुख्खायाम (पौषदेखि चैतसम्म) मा प्रतियुनिट ८ रुपैयाँ ४० पैसादेखि १० रुपैयाँ ४२ पैसामा खरिद गर्नेछ । बर्षा याम (बैशाखदेखि मंसिरसम्म) मा प्रतियुनिट ४ रुपैयाँ ८० पैसादेखि ५ रुपैयाँ ९५ पैसा सम्ममा खरिद गर्नेछ । दुवै आयोजनाबाट बार्षिक ४ करोड ४५ लाख १३ हजार २ सय ६९ यूनिट विद्युत उत्पादन हुनेछ ।