घुम्न आउन नगरबीच निम्तो

बागलुङले धरान र धरानले बागलुङ चिनाउने

बागलुङ, २८ चैत – बागलुङ नगरपालिका र एक नम्बर प्रदेशको धरान उप–महानगरपालिकाले घुम्न आउनका लागि एक अर्कामा निम्तो आधार प्रदान गरेका छन् । बागलुङ नगरपालिकाका गतिविधिको बिषयमा जानकारी लिन बागलुङ आएको धरान उप–महानगरपालिकाको समुह र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलका बिचमा निम्तो आधार प्रदान भएको हो । दुवै पालिकाले आफ्नो क्षेत्रमा रहेका पर्यटकीय स्थलहरु समाबेश रहेको मायाको चिनो आदानप्रदान गर्दै एक अर्कालाई घुम्नका लागि निम्तो दिएका हुन् । निम्तोमा बागलुङ नगरपालिकाले प्रसिद्ध कालिका भगवतीको मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, भैरवस्थान, भकुण्डेको घरबास लगायतका पर्यटकीय स्थल घुम्नका लागि आग्रह गरिएको नगरपालिकाका प्रेस संयोजक चन्द्रप्रकाश शर्माले जानकारी दिए । धरान उप–महानगरपालिकाले पनि उपमहानगर भित्रका पर्यटकीय स्थलहरुको बिषयमा जानकारी गराउँदै बागलुङ नगरपालिकालाई घुम्नका लागि आग्रह गरेको थियो ।

यसैबीच बागलुङ नगरपालिकाका गतिविधिको बिषयमा धरान उपमहानगरपालिकाले अध्ययन गरेको छ । स्थानीय सरकारले बनाएका योजना र तीनको कार्यान्वयनको अवस्थाका बिषयमा जानकारी लिन धरानको टोली बागलुङ आएको हो । उप–महानगरका जनप्रतिनिधिसहित कर्मचारीको समुहले बागलुङ नगरपालिकाका कामको बिषयमा अध्ययन गरेको बागलुङ नगरपालिकाका प्रेस संयोजक शर्माले बताए । उनका अनुसार धरान उपमहानगरपालिकाका वडा नं १ का वडा अध्यक्ष मनीराम राई नेतृत्वको जनप्रतिनिधि तथा कर्मचारीहरुको टोलीले बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलसँग अन्तरक्रिया गरी स्थानीय सरकारले गरेको भौतिक पूर्वाधारको विकास, उत्पादन बृद्धि, राजश्व संकलन, सुशासन तथा सामाजिक सुरक्षाका विषयमा अध्ययन गरेको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बागलुङ नगरपालिकाले सबै वडाका केन्द्रसम्म जोड्ने सडकको स्तरोन्नती गरी पक्की बनाउँने, बजारको ट्राफिक व्यवस्थापनका लागि चोक सुधार, आधुनिक बसपार्क, विश्वमै लामो मानिएको बाङ्गेचौर–पाङ पुल निर्माण, बागलुङ बजारमा खानेपानीको समस्या समाधानका लागि लिफ्टििङ प्रविधिको खानेपानी आयोजना, ढल निकासका लागि आधुनिक ढल निर्माण लगायतका क्षेत्रमा काम गरिरहेको जानकारी गराएका गराए । स्थानीय सरकारले जनतालाई मर्का नपर्नेगरी आन्तरिक आय बृद्धिमा नगरपालिकाले ध्यान दिएको भन्दै नगरप्रमुख पौडेलले स्थानीय सरकार गठनको पहिलो वर्षभन्दा दोस्रो वर्ष तेब्बर बढी आन्तरिक आय गर्न सफल भएको जानकारी दिए । पौडेलले नगरमा हुने हरेक गतिविधिहरु जनताले थाहा पाउन भन्ने उद्देश्यले वडागत रुपमा सार्वजनिक सुनुवाई लगायतका कार्यक्रमहरु गरिरहेको बताए । भ्रमण टोलीका संयोजक मनीराम राईले बागलुङ नगरपालिकाले गरेका कामहरु उदाहरणीय भएको भन्दै आफूहरुले आफ्नो नगरमा योजना बनाउँदा अन्य स्थानीय तहका अनुभवलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताएका थिए ।