प्रधानमन्त्रीले सेना परिचालन गर्ने होइन ः सभापति देउवा

पोखरा, २९ चैत – कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सेनामाथिको हस्तक्षेप असैह्य हुने बताएका छन् । प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन सिफारिस गर्न सक्ने गरि सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आएको भन्दै कांग्रेसले लगातार विरोध जनाईरहेको छ । बिहिबार कांग्रेसका कोषाध्यक्षहरुको तेश्रो राष्ट्रिय सम्मेलनमा बोल्दै देउवाले प्रश्न गरे, ‘प्रमले कहिँ सेना परिचालन गर्ने भन्ने हुन्छ ?’
सेना परिचालन गर्ने सुरक्षा संयन्त्र हुन्छ, त्यसको परिषद् हुन्छ, परिषदले सिफारिस गर्नुपर्ने प्रक्रिया छ । तर, प्रधानमन्त्री ओलीले भने एकल निर्णयबाट सेना परिचालन गर्न खोजेको उनको आरोप थियो । प्रधानमन्त्री ओलीको यो कदम कांग्रेसलाई अमान्य हुने उनले बताए । यसबाहेक, प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी विधेयक ल्याउन खोजेको आरोप देउवाको छ । ‘निर्वाचन ताका नै हामीले अधिनायकवाद आउँछ भनेका थियौँ, अहिले प्रेस स्वतन्त्रतालाई दबाउन खोजेर अधिनायकवाद ल्याउन खोजिएको छ, हामी यसको विरोध गछौँ ।’ उनले भने ।

सभापति देउवाले प्रधानमन्त्री ओली नेतृृत्वको सरकारले १ वर्षमा पनि राम्रो काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘सरकारले एउटा राम्रो काम गर्न सकेन, उल्टो ठुलाठुला घटनाहरु भए, बलात्कार, महंगी बढे, निर्मला पन्तको बलात्कारी हत्यारालाई अझै कारवाही भएको छैन, सरकार उल्टै संरक्षणमा लागेको छ ।’ यसबाहेक देशको आर्थिक अवस्था झनै खस्केको, उद्योगी, व्यापारीहरु करबाट त्रसित हुनुपरेको उनले बताए । ‘एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा पनि कर तिर्नुपरेको छ, उद्योगपतिहरुले पनि भनिसके, प्रधानमन्त्री केपी ओली नभई करप्रसाद ओली हुन् ।’ नेपाली कांग्रेसले बैशाखदेखि जागरण अभियान थालनी गर्ने र सम्पूर्ण कार्यकर्ताहरु जनताको घरआँगनसम्म पुग्न उनले आग्रह गरे । पार्टीमा अन्तर्घातको पुरानो रोगले जरा गाडेको हुँदा यसको अन्त्य जरुरी रहेको उनको भनाई छ । ‘अनुशासन समिति बनाएका छौँ, अन्तर्घात गर्ने र चुनावमा हराउन लागिपर्नेलाई कारवाही हुन्छ’ उनले भने ।

सम्मेलनलाई सम्बोधन गर्न आएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्मा सरकारले गरेको नियुक्तिका बारेमा बोल्दै ओली सरकारले प्रतिपक्षी दलको हैशियत नराखी निरंकुशवादी शैलीबाट नियुक्ति गरेकोमा कडा आलोचना गरे । उनले भने, ‘संवैधानिक परिषद्मा प्रधानमन्त्री र प्रतिपक्ष दलको उत्तिकै हैसियत हुन्छ ।’ उनले सर्वसहमति बिना नियुक्ति गरिएका कुनैपनि पदाधिकारीहरु काँग्रेसका लागि मान्य नहुने समेत बताए । कम्युनिष्टको नियत सबै सत्ता आफ्नो पक्षमा ल्याउनेमात्र हुने भन्दै कम्युनिष्टको कार्यशैलीप्रति टिप्पणी गरे । नेता पौडेलले पार्टीभित्रको आन्तरिक द्धन्द्धका बारेमा बोल्दै पार्टीमा क्षमतावान् र योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने र हाम्रोभन्दा राम्रोलाई रोज्नुपर्ने बताए । पार्टीका महामन्त्री डा. शशांक कोइरालाले पार्टी एक भएर अघि बढ्न आफूले जुनसुकै कुरा त्याग गर्न तयार रहेको बताए । उनले यस्ता सम्मेलनले पार्टीलाई मजबुद बनाएर लैजान दबाब दिने समेत उल्लेख गरे । अर्का, नेता प्रकाशमान सिंहले पार्टी पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने बताए ।

राष्ट्रियसभा काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सरकार अधिनायकवादतर्फ उद्दत भएको आरोप लगाए । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका गतिविधि जनतासमेत सन्तुष्टि छैनन्, प्रतिपक्षी कसरी सन्तुष्ट हुन्छ भनी टिप्पणी गरे । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अर्जुन जोशी, काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनी, महासचिव लक्ष्मी पाण्डे लगायतले सरकारको रवैया र पार्टीभित्रको असन्तुष्टि बारेमा बोलेका थिए ।
पोखरा सभागृहमा दुई दिनसम्म चल्ने सम्मेलन पार्टीलाई चलायमान र सुदृढिकरण बनाउने उद्देश्यले आयोजना गरिएको काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए । उनले सम्मेलनले पार्टीलाई गुट–उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने उल्लेख गरे । सम्मेलनले विदेश पलायन युवाहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ । त्यस्तै, सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रह समेत गर्ने र कास्की क्षेत्र–२ सहित रिक्त स्थानमा निर्वाचन गराउन सरकारलाई दबाव दिने जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेले बताइन् ।