काउलेका १० परिवारका लागि अघि बढ्यो बस्ती निर्माणको काम

बागलुङ ,३० चैत – गत असारमा जमिन भाँसिएपछि बिस्थापित बनेका काठेखोला गाउँपालिका–५ काउलेका १० परिवारका लागि नयाँ घर निर्माणको काम थालिने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले एकिकृत बस्ती निर्माण गरेर विस्थापित परिवारका लागि घर दिन लागेको हो ।

एकिकृत बस्ती निर्माणका लागि भाँसिएको जमिनभन्दा ४ सय मिटर पर ५ रोपनी १२ आना जमिन खरिद गरेर समुहका नाममा लापुर्जा बनेको छ । चालु आर्थिक बर्षमा नै बस्ती निर्माणको लागि बजेटको व्यवस्था रहेकाले आगामी असार मसान्तसम्म पिडित परिवारले बास पाउने गरी काम अघि बढ्ने प्राधिकरणले जनाएको छ ।बस्ती निर्माणका लागि जग्गाको अभावका कारण रोकीएको काम पिडित परिवारका नाममा जग्गाको व्यवस्थापन भएपछि अघि बढेको आयोजना कार्यान्वयन इकाई बागलुङका नायव सुव्वा चुर्ण बहादुर कार्कीले जानकारी दिए । विस्थापित परिवारको लागि बस्ती निर्माण गर्न जग्गा खोज्ने गरी बनेको जग्गा व्यवस्थापन समितिले उक्त जग्गा खरिद गरेको हो ।

चैत १४ गते स्थानीय एक व्यक्तिको एकै कित्तामा रहेको जग्गा खरिद गरेर पिडित परिवारको नममा पास गरेको जग्गा व्यवस्थापन समितिका संयोजक तथा काठेखोला गाउँपालिका–५ का वडा अध्यक्ष शिव कंडेलले जानकारी दिए । पुननिर्माण प्राधिकरणको २० लाख रुपैयाँ अनुदान र स्थानीय युवाहरुले बिदेशबाट सहयोग पठाएको २ लाख ७५ हजार रुपैयाँ रकमले उक्त जग्गा खरिद गरिएको हो । ध्रुमुश सुन्तली फाउण्डेसनले निर्माण गरेको एकिकृत बस्तीको जस्तै मोडेलमा बस्ती निर्माण गरिने कंडेलले बताए । ‘प्राधिकरणले प्रतिघर निर्माणका लागि न्युनतम ६ आना जग्गा हुनुपर्ने भनेको थियो’ सापकोटाले भने ‘हामीले प्रतिपरिवार ९ आना जग्गा पुग्ने गरी व्यवस्थापन गरेपछि बस्ती निर्माणको काम अघि बढेको हो ।

जग्गाको व्यवस्थापनसँगै बस्ती निर्माणका लागि प्राधिकरण बिभिन्न दुई चरणमा सहयोग उपलव्ध गराउने छ । पहिलो चरणमा खानेपानी,बिद्युत, सडक लगायतका संरचना निर्माणको लागि प्रतिघर चार लाख रुपैयाँ उपलव्ध गराउने र दोस्रो चरणमा घर निर्माणका लागि प्रतिघर तीन लाख रुपैयाँ उपलव्धगराउने कार्कीले बताए ।

सुरुमा बिस्थापित बनेका १४ परिवा मध्ये दश परिवारले मात्रै एकिकृत बस्तीमा निर्माण हुने घर पाउने छन् । बिस्थापितमध्ये केहीले दुई जनाले राज्यको सहयोग नलिने बताएको र एक जनाको अन्तै घर रहेको र एक जनाले पहिलैनै पुननिर्माण प्राधिकरणबाट अनुदान लिएर घर बनाएको वडा अध्यक्ष कंडेलले बताए । गत असार १२ गते एक्कासी जमिन फाटेपछि बिस्तापित बनेका १० परिवार अहिले अर्कैको घरमा शरण लिएर बस्दै आएका छन् ।