फाइनलमा आर्मी र छन्त्याल भिड्ने

बागलुङ, १ वैशाख – खुला कालीका कप पुरुष भलिबल प्रतियोगिताको फाइनलका लागि आर्मी र छन्त्याल कन्स्ट्रक्सन भिड्ने भएका छन् । चैतेदशै मेलाको अवसरमा बागलुङ भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको खुला भलिबल प्रतियोगितामा आइतवारका सेमीफाइनल खेलबाट आर्मी र छन्त्याल फाइनलका लागि छनौट भएका हुन् ।

नेपाली सेनाको २३ नम्बर बाहिनीले आइतवार अनेरास्ववियु लाई र छन्त्यालले काठेखोला गाउँपालिका लाई जितेर फाइनल यात्रा तय गरेका छन् । खेलमा नेपाली सेनाको २३ नम्बर बाहिनीले अनेरास्ववियुलाई ३ –२ को सेटमा हराएको थियो भने छन्त्यालले काठेखोलालाई ३–१ को सेटमा हराएको हो ।

आर्मीले १८–२५, २५–१५, २५–१७, २०–२५ र १५–११ को सेटमा अनेरास्ववियुलाई हराएको हो । छन्तयालले काठेखोलालाई २५–१६, २५–२२, २१–२५ र २५– १० को सेटमा हराएको थियो । फाइनल खेल मेलाको अन्तिम दिन संचालन हुने आयोजक मनबहादुर थापाले बताए ।