एकाबिहानै बालुवाटार सरे प्रधानमन्त्री देउवा

काठमाडौँ, ५ असार-प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका देउवा आज बिहान बालुवाटार सरेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइदिएपछि सोहीअनुसार नै उनी बिहानै पूजापाठ गरी सरेका हुन् । जेठ २४ गते प्रधानमन्त्री पदको शपथ पनि उनले ज्योतिषीले जुराइदिएको साइतको समयमा नै लिएका थिए ।
बिहान सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्नुका साथै भवनको साँचो हस्तान्तरण गरेका थिए । सो अवसरमा उनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
प्रधानमन्त्री देउवाको शपथ समारोहकै दिनदेखि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सरेपछि बालुवाटारको सरकारी निवास खाली थियो । यस अवधिमा सहरी विकास तथा भवन निर्माण विभागले उक्त सरकारी निवासको मर्मत सम्भार एवम् रङरोगन गरेको थियो ।

सोमवार, असार ५, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150