उपभोक्ता हित र अस्तव्यस्त बजार

राजेशचन्द्र रा.भ.
बेला–बेलामा उपभोक्ता हितको पक्षमा निकै बहस हुने गर्छ । सरकारदेखि सरोकार राख्ने सबैले उपभोक्ता कै बारेमा कुरा गर्छन् । अहिले फेरि बजार अनुगमन शुरू भएको छ । प्रहरी प्रशासनदेखि राष्ट्रिय उपभोक्ता मञ्च, नगरपालिकाका प्रतिनिधि समेतले संयुक्त रूपमा अनुगमन गर्नेछन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । तर हाम्रो अनुगमन गर्ने पुरानो शैली छ । ब्यापारीहरूको पनि आफ्नै खालको पारा छ । जतिसुकै अनुगमन भए पनि न त बजार सुधार भएको छ न त आमउपभोक्ताको हितमा नै कुनै काम भएको छ ।
साँच्चै भन्नुपर्दा अहिले भएको अनुगमन ‘घुम्दैफिर्दै रूम्जाटार’ भन्ने सिवाय अरू केही नदेखिएको उपभोक्ताको गुनासो पनि आफ्नो ठाउँमा छ । ‘जब पर्छ राति तब बुढी ताती’ भनेझै अहिले असार मसान्त र चाडपर्व नजिक आएपछि मात्रै बजार अनुगमन गर्ने पुरानो परम्परा भने अझैसम्म कायम भएको हुँदा अब त्यसलाई सुधार गर्न जरुरी छ । जतिसुकै बजार अनुगमन भए पनि के साँच्चै उपभोक्ताको पक्षमा काम भए त ? भनी प्रश्न गर्ने होभने त्यो पनि देखिदैन ।
जिल्ला प्रशासन कार्यालयमा उपभोक्ता हकअधिकार बारे छलफल अन्तरक्रिया कार्यक्रम गरियो । जिल्लामा भएका सरोकारवाला निकायले आम उपभोक्ताको बारे चिन्ता जाहेर गर्नु सकारात्मक पक्ष हो । तर के अहिलेसम्म किन उल्टो काम हुदै गएका छन् । किन अहिलेसम्म उपभोक्ता किन जागरुक हुन सकेनन् त प्रमुख कुरा यहीँनेर छ । अहिले पनि सबैको चासो र चर्चा भनेको आमउपभोक्ता कै भएको देखिन्छ । अहिले बजारमा दुध ८० लिटरमा खुद्रा बिक्री गरिन्छ उपभोक्ताले ८० रूपैयाँ मुल्य तिरे पनि शुद्ध र गुणस्तरीय दूध खान भने पाएको देखिदैन ।
बजारमा बिक्री गरिने बस्तुको मुल्य निर्धारण कसरी गरिन्छ, बजारबाट बस्तु खरिद गरेर खाने आमउपभोक्ता भने अहिले पनि सिण्डीकेट ब्यापारीको मारमा परिरहेका छन् । ब्यापारीले भनेजस्तो मुल्य लिन्छन् तर मुल्य लिएअनुसार गुणस्तरीय बस्तु भने नदिँदा उपभोक्ता दोहोरो मारमा परेका छन् । एउटा बढी मुल्य तिर्नुपर्ने, अर्को गुणस्तरीयहिन बस्तु लिनुपर्ने मारमा उपभोक्ता भएको भनी प्रशासन कार्यालयमा सबैको आवाज एक भए पनि ब्यबहारमा भने त्यो हुन सकेको देखिदैन । जसले दुःख गरेर ऋणधन गरी गाई भैंसी पाल्छन् । त्यो कृषकले दुधको मुल्य पाउदैन तर जसले बजार सहजीकरण गरि दिएको नाममा ब्यबसायिक सिण्डीकेट गरेर उपभोक्ता ठगी रहेका छन् ।
एकातिर खुला बजारको कुरा गर्छाैं अर्काेतिर बजार नियन्त्रण गर्न विभिन्न अनुगमन भएको देखिन्छ । अहिले खुला बजारको नाममा मनपरि ढंगबाट ब्यापार हुने गरेको कुरा पनि बेला–बेलामा बाहिर आउने नगरेको हैन तरपनि अहिलेसम्म आइपुग्दा उपभोक्ता ठगिने क्रम भने घटेको छैन । बजारमा बिक्री हुने सुनको मुल्यमा एकरूपता देखिएपनि यसको गुणस्तरमा भने अझै बिश्वस्त हुन सकिएको छैन । बेला–बेलामा बजारमा किनिएको सुन र गहनामा आफुहरू ठगिएको गुनासो पनि सुन्ने गरिन्छ तर अझै पनि यसको कतै सुनुवाई भएको देखिदैन । साँच्चै नडाँटी भन्नुपर्दा अहिले जसले जहाँ–जति सकिन्छ त्यति लुट्न छोडेको देखिदैन । अहिले जमाना लुट्ने कै देखिन्छ । हुनतः हामीले देश लुट्ने को हो भनी प्रश्न गर्दा सबैको एउटा जवाफ आउँछ त्यो हो नेता भनेर । यो कुरालाई हैन भन्ने आधार छैन तर लुट्ने कुरामा कसैले कहिँ ठाउँ बाँकी राखेका छैनन् । जसले जहाँ–जति सक्यो त्यति लुटेका छन् । शहर बजारमा रिक्सावाला, ट्याक्सी ड्राइभर सबैले नयाँ मान्छे पायो भने लाग्नेभन्दा दोब्बर भाडा असुल गरेका छन् । अहिलेसम्म सबै ठाउँमा उपभोक्ताहरू यो वा त्यो नाममा लुटिएका छन् तर पनि यसबारे उपभोक्ता बोलेका छैनन् । नेपालका चर्चित जनबादी गायक रामेश श्रेष्ठले गाउनु भएको चर्चित गित छ –
गाउँ–गाउँबाट उठ
बस्ती–बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ
हातमा कलम हुनेहरू
कलम लिएर उठ
साथमा केही नहुनेहरू
आवाज लिएर उठ…
हो अहिले पनि यो गितको सान्दर्भिकता घटेको छैन । पंचायत कालदेखि अहिलेसम्म पनि यो गित पुरानो भएको छैन । हो अहिले चुपचाप बसेका उपभोक्तालाई पनि रामेशले गाएको गितले गिजाइरहेको छ । जतिसुकै ठगिए पनि चुपचाप बस्ने कारणले पनि अहिले उपभोक्ता ठगी रहेका छन् । साँच्चै ‘साथमा केही नहुनेहरू आवाज लिएर उठ’ भन्ने जुन गित छ त्यो अहिले पनि आमउपभोक्ताले मनन गर्न जरुरी छ । आमउपभोक्ता जानाजान ठगी गर्नेलाई जबसम्म हदैसम्मको कानुनी कार्बाही गर्न सक्दैनौं तबसम्म अनुगमन हात्तीको देखाउने दाँत सिवाय अरू केही पनि हुनेवाला छैन । जहिले सुकै चाडपर्वमा मात्र गरिने अनुगमन भन्दा अब फरक खालको प्रभाबकारी अनुगमन हुन जरुरी छ ।
नेपालमा ऐन कानुन नियम सबै नभएको हैन । प्रमुख कुरा ब्यबहारमा लागू गर्ने निकाय मात्रै कमजोर भएर हो । अहिले पैसा भएपछि जे–जस्तो पनि हुने जुन प्रबृत्ति छ त्यसलाई भने रोक्न अहिलेसम्म कसैले सकेको छैन । जसले कोशिस गर्छ त्यो पनि यो वा त्यो नाममा प्रभाबित भएर गएको छ । अहिले ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नयाँ नारा अगाडि आएको छ । स्थानीय तहको निर्वाचन भएर पनि जनप्रतिनिधि समेत पाइसकेका छन् अब भने उपभोक्ताको वास्तविक हकहितबारे सबै सरोकारवाला एकजुट हुन जरूरी छ । खुला बजार र अर्थ नीतिलाई मान्नु पर्छ तर बस्तुको मुल्य लिइसके पछि उपभोक्तालाई सहि बस्तु बिक्री गर्नुपर्छ । त्यसो गर्नु जुनसुकै ब्यबसायको पनि धर्म हुन्छ । धर्म र मर्मलाई ख्याल राख्ने होभने समस्या छैन । साँच्चै अनुगमन अनुगमनका लागि नभएर परिवर्तनको लागि हुन जरुरी छ । राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई जरिवाना दण्ड गर्न सकेमात्र सुधार हुनेछ । हैन भने खाली उपभोक्ता देखाउने साधन मात्र हुनेछ ।

सोमवार, असार २६, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150