तिरस्कृत आमा (कथा)

ललिता तामाङ
काललाई कुर्नुबाहेक अरू के नै बाँकी छ र नानी अब ?
के भन्नुभएको आमा, त्यसो नभन्नुस् ।
के गर्नु नानी, आफैंले नौ मैना कोखाँ राखेर जन्माको सन्तानबाट हेलाँ खपेर धेरै वर्ष बाँचें । अब त उमेरले नि डाँडा काटिगो कालले कैले लग्ला भनेर त बस्ने हो नि ।
यो त सृष्टिको नियम नै हो नि ढिलो, चाँडो सबैले जानैपर्छ आमा ।
त्यै भर मर्न डर छैन, स्वर्गां पुगे नि नर्कां पुगे नि हाँसीहाँसी मर्न पाए हुन्थो । उमेर छँदा र रहर छँदा रोएरै बितिगो, कति रोइयो साँधी छैन । अब त रुँ भन्दा नि आँसु झर्दैन ।
अनि आमा तपाईंलाई थाहा छैन छोराछोरी कता छन् भनेर ?
था छैन नानी । उनेरूका हातखुट्टा लागिसक्याथ्यो मैले छोडेर हिन्दा । पैंतालीस, छ्यालीस थिएँ त्यतिबेला, अरुैले त अस्सी, बयासी पुगें कि अझ बडी नै पुगें होला । दुखियालाई त कालले नि चाँडो नटिप्दोरै’छ । अब त उनेरूकै नातानातिना हुुर्किसके होलान् । छोरो त जागिरे नि भैसक्याथ्यो, क्याम्पस नि पढ्थ्यो बिहान्को, दिउँसो जागिर खान्थ्यो । छोरी नि भर्खर क्याम्पस जान थाल्याथी । दुइटैको बानीबेउरा असल थे, होलान् कतै, राम्रै गर्दै होलान् । उनेरूका बाउ बेपत्ता भएसी मलाई झन् दुःखले छोपेको तैपनि जसोतसो क्याम्पस पढ्नेसम्म बनाइदें ।
कसरी बेपत्ता हुनुभएको त आमा तपाईंको श्रीमान् ? खोजखबर गर्नुभएन ?
गरें नि आफूले जानेसम्म त । चिनेजानेहरूकाँ हारगुहार गरीं केही सिप लागेन । छोराछोरी नि सानै थे । पुलिसले नि खोज्दिन सकेनन् ।
काठमाडौं कसरी कहिले आउनुभएको त ? एक्लै आउनुभएको कि श्रीमान्सँग ?
उनैसँग आको नि एक्लै त कसरी सक्थें र ? गाउँमा जति नै काम गरे नि खानलाई धौधौ । उनैले मन परार बे गरेका मलाई, झ्याइँझ्याइँ पारेर भित्राका भपो ! सासुले नि क्यै गरी मन पराइनन् मलाई । उनलाई नि कमाइ न धमाइखाने मुखमात्र थप्यो भनेर सधंैको कचकच गर्थिन् । बरा उनले नि के गरोस् गरिखाने माटो थिएन, अरूको जोताहा बनेर कति नै पुगोस् र । ऊबेला उमेर थ्यो ज्यानाँ बल थ्यो, जोश नि थ्यो सहराँ गएसी जति नि काम पाइँछ नपाए जे नि गरौंला भनेर सहर छिरियो । गाउँको मान्छे पढेलेख्या थिएनौं, एताउता ज्यालादारी गरेर नि दुई ज्यान बाँचेकै थ्यौं । तीन वर्षको फरकमा लगालग छोराछोरी जन्मिगो त्यसपछि त झन् गाह्रो । मैले नि भ्याउन्जेल दुई घरमा घरधन्दा गर्थे । तैनी कोठाभाडा तिर्न खान पुर्याउनै गाह्रो । साह्रै गारो भएसी उनी इन्डियातिर काम खोज्न हिँडेका, गएर दुई मैना पछि एउटाको हातबाट अलिकति खर्च त पठाइदेकाथे । अब चैं सुखको दिन आउलान् कि भनेको त्यसपछिबाट न कुनै खबर न कुनै चिट्ठी, आजको दिनसम्म नि केही अत्तोपत्तो छैन, भेट्ने आशा मारेको नि धेरै वर्ष भो ।
अनि आमा छोरीछोरीबाट कसरी टाढा हुनुभयो ?
खै कसरी भन्नु ? दुःखियाको खप्पर जाँ गए नि ठक्कर ।
उनको खबर आउन छोडेसी खर्च धान्न गाह्रो भो । एक्लो ज्यान भपो जसरी नि पालिनु । दुई÷दुईजना बच्चा । उनेरुलाई हेर्नु कि काममा जानु । छोरालाई इस्कुल पढाउने बेला भैसक्ता नि भर्ना गर्न सक्या थिनँ । दुःखले ग्वाम्लांगै छोपेको थियो । अरूको घरमा घरधन्दा गर्थें, पाएको बेला ज्यामी काम नि गर्थे । तैपनि धौ÷धौ नै हुन्थ्यो । एक्लो आइमाई देखेसी जोल्ले नि हेप्ने, नराम्ररी हेर्ने, जे पायो बोल्ने । काममा जाँदा साउसमेत उस्तै थे, था नपाए जसरी गरी जाँ पायो त्याँ छुन खोज्थे । बचेर हिन्न नि गाह्रो, धेरै दुःख खपियो नानी ।
एक दिन कामबाट फर्किंदै थें । उनेरूका बाउले सँगै ज्यामी काम गर्दाको दिदी भेट भो । मैले त काँ चिन्नु र उनैले चिनेर मलाई बोलाउँदा पो बल्ल चिनें । ती दिदी त पैलाभन्दा फेरेकी रैछिन् । उनको लवाइ बोलाइ जम्मै फरक भएछ, पैलाभन्दा नि झन् तरुनी पनि भकी रैछिन् । दिदीलाई नि थाहा रैनछ उनी बेपत्ता भएको । आफ्नो दुःख सुनाएँ । दिदीले भोलि अलि सफा सुग्घर भएर आउनु म एकठाम काम लगाइदिम्ला भनिन् ।
भोलिपल्ट काममा त लगिन् तर काम सुनेर अलमल्ल परें । मैले त यौन पेसा पो गर्नुपर्ने रै’छ । नगरुँ त आफूसहित तीनजनाको भोको पेट, गरुँ भने आफैंले आफैंलाई मार्नुपर्ने । दिदीले नि त्यै काम गर्दिरैछिन् र पो फेरिएकी रैछिन् । दिदीका त झन् तीन÷तीनजना केटाकेटी त्यै काम गरेर नै पालेका रैछन् । अरू काम गरे मरिगए नि परिवार पाल्न नसक्ने भन्दै दिदीले मलाई फकाइन् । उनका लोग्नेले नि अर्कै आइमाईसँग लागेर उनलाई बिचल्ली पारेका रै’छन् ।
त्यो काम गरेदेखि जसोतसो गुजारा चल्न थाल्यो । उनीहरूलाई पढाउनसम्म सक्ने भएँ । सुरुसुरुमा त मलाई त्यो प्रत्येक नोटले भत्भती पोल्थ्यो, म हरेक दिन मरेकी हुन्थें, तैपनि छोराछोरीले पेटभरि खान पाएको देख्ता मन बुझाउन बाध्य हुन्थें । कैयौंपटक त त्यो काम छोडेर अरू नै काम गर्ने सोच नबनाको नि हैन तर नपडेको मान्छे जे काम गरे नि तीनजनाको परिवार पाल्न मुस्किल । छोराछोरीले पडेको, खुसी भएको देख्दा मनभित्रको पीडा लुकार भए नि उनेरू सँगसँगै खुसी भइदिन्थें ।
भगवान्ले अरू नदिए नि छोराछोरी चैं ज्ञानी नै देकाथे । मन लगाएर पढ्थे । नम्मर नि राम्रै ल्याउँथे । म त के जान्दथें र उनेरूकै मास्टरहरू भन्थे । दाजुबैनी साह्रै मिल्थे, एकअर्काको निकै ख्याल राख्थे । तिनीहरू असल भकोले नि हुर्काउन गाह्रो परेन । छोरोले एसेल्ससी गरेसी एताउता काम गरेर अलिअलि कमाउन न िथालेको थ्यो । आमा म अलिक कमाउने भएसी तपैंलाई काम गर्न दिन्न, तपैंलाई पाल्ने पालो हाम्रो भन्थ्यो, छोरीले नि हो मा हो मिलाउँथी । मैले बिस्तारै कामहरू कम गर्दै गएँ । तिनेरूलाई म काँ काम गर्छु भनेर था थेन । छोराले त बेलाबेला सोध्थ्यो, कहिले के कहिले के भनेर टार्थें । तर, कुनै दिन मौका मिलार उनीहरूलाई साँचो कुरा भन्ने विचार चंै ग¥या थीं ।
छोरी नि क्याम्पस जान थाल्या थ्यो । कोही नहुनेलाई भगवान्ले हेर्छन् भन्थे हो रै’छ जस्तो लाग्न थाल्या थ्यो । मैले मनमनै अब यस्तो काम गर्दिनँ ठानेर एक दिन साँझ दुवैलाई राखेर हिम्मत गरी र भनीं ‘हेर तिमीहरूलाई मैले आजसम्म मैले के काम गर्छु भनेको थिनँ, संसारलाई ढाँटे नि तिमीहरूलाई ढाँट्न हुन्न भनेर लाग्या भर सुनाउँदै छु । मैले अरू कुनै उपाय नलागेसी यौनकर्मी बनेर काम गरी तिमेरूलाई हुर्काको हुँ । मैले जे गरी भए नि तिमेरूलाई हातखुट्टा लाग्ने बनाइदें । आफू अनपड भर दुःख पाकोले तिमेरूले नि त्यस्तै दुःख खप्न नपरोस् भनी तिमेरूलाई धेरथोर पडाएँ । अब तिमेरू नि कमाउने भयौ, त्यै भर अबदेखि म यो काम गर्दिनँ । तिमेरूले भनेजस्तै अब मलाई पाल्ने बेला आयो । मैले त सकिनँ, सक्छौ भने आफ्नै पौरखले एउटा घर बनाओ । कालले चाँडै लगेनछ भने तिमेरूको बे हेरेर नातानातिना खेलाउन पाऊँ । यत्ति नै हो मेरो इच्छा ।
यत्ति भनिनसक्दै छोरी रुन थाली, छोरो केही नभनी फुत्त निस्क्यो । साँझको भात नि खाएनन् । तिनेरूले नखाएसी आफूूलाई झन् के रुच्थ्यो र ?
राति पल्लो कोठामा सँुक्कसुँक्क आवाज सुनें । ढोकामा कान लाएर सुनेको छोरा रोइरको रै’छ । सानो छँदाबाहेक त्यो त्यसरी रोको कैल्यै थाथेन । बरु छोरी पिन्चे थी सानोसानो कुरामा नि आँसु झारिहाल्ने । ऊ मैसँग सुत्थी । ऊ नि रातभरि नै रोइरई । मलाई भने मुटुभरि गाँठो पारेर राखेको कुरा भन्न सकीं भनेर मन हलुंगो भा’को थ्यो । नभनेको भए मर्न नि गाह्रो हुन्थ्यो होला । सपनामा नि नचिताएको कुरा सुनेसी जसको नि मन भरिन्छ यिनेरूका त झन् आफ्नै जन्म दिने आमाको कुरा सुन्दैथे नरुने त कुरै भएन । त्यै भर केही नभनी रुन दिएँ ।
राति अनिदो भकोले बिहान अलि ढिलो आँखा खुलेछ । छोरी अझै उठेकी रै’नछ । छोरालाई हेर्न गएँ ओछ्यानमा नदेखेसी क्याम्पस गएछ भन्ठानें । छोरी उठेसी सँगै चिया खाउँला भनी तरकारी केलाउन बसें । छोरी उठिवरी केही नबोली तयार पर्न थाली । ढिलासम्म सुतेकाले क्याम्पस नजाने रै’छ भन्ठानेको तर ढिलै भए नि तयार परेको देखेर च्या बनाइदें अनि क्याम्पस जान लागेको भनी सोधें केही जवाफ फर्काइन् । जानेबेला नि केही नबोली हिँडी । बनाइदेको च्या नि जस्तातस्तै रछ । बल्ल मलाई नि नराम्रो लाग्यो, आफ्नो भाग्य देखेर रुन मन लाग्यो । छोराछोरीको चित्त नराम्ररी नै दुखाएछु झैं लाग्यो । एक्लै थिएँ, बेस्सरी रोएँ । एकछिनपछि आफूलाई सम्हालेर खाना पकाउन लागें । खाना पकाइवरी उनेरूलाई कुरेर बसें । तर, उनेरू दुवैजना आएनन् । दिनभरि रुँदै र सम्हालिँदै बित्यो ।
साँझपख ढिलोगरी दुवैजना सँगै आएपुगे । छोरा आउनेबित्तिकै एक शब्द नि नबोली कोठा छिरे । भात खान बाबु बाबु भनेर ढकढक गर्दा नि ढोका खोलेन, न एक शब्द नै फर्काए । छोरी नि उसैगरी नबोली आउनेबित्तिकै नाक मुख छोपेर ओछ्यानभित्र छिरी । आज किन भात खान नआएको, के खायौ त ? भनेर सोधें । एत्तिकै भनेर झर्किंदै जवाफ दिई । खाना खान उठाउँदा नि बाहिरै खाएर आएको भनेर उठिनन् । साह्रै मन रोयो तैपनि सम्हालिएँ । छोरीको छेउमा गएर बसें । ‘छोरी किन त्यसो गरेका तिमेरू दाजुबैनीले ? मैले गल्ती गरेको रै’छु, मलाई माफ गर्देऊ तर यसरी मसँग नबोली नबस । हो, मैले गल्ती गरें तर त्योबेला मेरो बाध्यता थ्यो । नत्र त मजस्तो अनपडले तिमेरू दुई÷दुईजनालाई हुर्काउन, पडाउन कसरी पो सक्थें र ? तिमेरूकै लागि त मैले त्यस्तो काम गरें नत्र त मेरो यो एउटा ज्यान जसरी नि पाल्थें वा मरिपो सक्थें कि । हेर छोरी यसरी धेरै दिन मन नदुखाऊ । दाजुलाई नि सम्झाऊ ।’ छोरीले मेरो मुख नै नहेरी भित्तातिर फर्केर ‘त्यस्तो काम गरेर हुर्काउनुभन्दा त हाम्लाई मार्देको भए नि त हुन्थ्यो नि । त्यस्तो कुकर्म गरेको पैसाले हुर्किनुभन्दा त !’ भन्दै फेरि रुन थाली । मलाई भने कि एक÷दुई दिनपछि त तिनेरूका रिस शान्त होला भन्ने आशा थियो । फेरि भोलिपल्ट नि छोरी च्यासमेत नखाई हिनी । छोरो झन् एक शब्द नि बोलेको थेन । दुई दिनदेखि पाकेको भात यसै थियो भाँडामा । सबै लगेर दोबाटाँ कुकुरहरूलाई खन्याइदें अनि भाँडा माझिवरी थन्क्याएँ । यसैगरी, पाँच दिन बित्यो तर तिनेरू मसँग एक शब्द नि बोल्न खोजेनन् । छोरो त झन् मेरो अघि देखासम्म नि परेन । ६ दिनको दिनाँ यसै टोलाएर बसिराथें मनमा के लाग्यो, जुरुक्क उठेर हिँडेको कोठामा फर्केर गइनँ । कैले कता कैले कता मन्दिरतिर बसें । मन्दिराँ बस्ता नि धेरै दुःुख खेपें । कति दिन भोकभोकै नि काटें । धेरै वर्ष दुःख काटेरै पनि छोराछोरी खोज्दैखोज्दै आउलान् कि भनेर आशाचाहिँ लागि नै रन्थ्यो । उनेरूका उमेर मिल्नेजतिलाई राम्ररी नियाल्थें । तर, आजसम्म पनि उनीहरूको मुख देख्न पाको छैन ।
अब त नानीहरूले ह्याँ आश्रममा ल्याएर राख्नुभको छ, आराम छु । ह्याँ बसेको नि धेरै भइसक्यो बाहिरखेर नि गइन्न, देख्ने त कुरै भएन । मनमा भेट्ने आस पनि तुहिसक्यो, अब त मरेपछि मात्र यो मनले शान्तिको सास फेर्ला कि । –रातोपाटीबाट

मङ्लबार, भदौ २७, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150