जनप्रतिनिधिका १०० दिन

कृष्ण प्रसाद शर्मा
     गणतन्त्रका धेरै फल मध्येको एक फल स्थानिय सरकार भनिएको थियो । दुई चरणको चुनाव भएर पनि १०० दिन जनप्रतिनिधिले बिताए । तराईका आठ जिल्लामा तेस्रो चरणको चुनाव यहि आश्विन दुईमा हुँदैछ । पहिलो चरणको जस्तै अहिले पनि उमेदवार छनोट र पाटिकक प्रवेशको क्रम जारी छ । एक अर्कोलाई तराई बिरोधी देखाएर प्रमूख तीन दलको खैलाबैला ठुलै छ । सय दिन पार गरेको जनप्रतिनिहरूको कार्यकाल अहिले टिठलाग्दो छ । केन्द्रदेखी गाउँ–गाउँ सम्म सबैले गफ चुटेरै समय कटाए । करीब दुई महिना त भोज भतेर र सम्मानका लागि गरिएका कार्यक्रममा कुदेरै बिताए ।
५० र ६० ठाउँमा पुगेर खादा र माला नलगाएको जनप्रतिनिधि पाउन गाह्रो छ । यसरी संसारै जिते जस्तै गरी आएका जनप्रतिनिधिहरूले के गरे कसैलाई बहसको बिषय समेत छैन किनकि आफ्नो पार्टिका मान्छेको बिरोध गर्नु महापाप नै हो भन्ने नीतिमा चलेका रैतीहरूको कमी छैन केन्द्रदेखी गाउँसम्म । चाहे केन्द्रको सरकार होस् वा स्थानिय सय दिनलाई एउटा परिक्षण कालको रुपमा हेरिन्छ । समग्रमा भन्दा देशै भरी अपबाद बाहेक अधिकांश जनप्रतिनिधि पास मात्र पनि हुन सकेनन् । काठमाडौंका मेयर विद्यासुन्दरले सय दिनमा यो यो गर्छु भनेर चुनाव ताका घोषणा गरेका सूची हामीलाई ताजै छ । उनी मात्र होईन देशै भरी सबैले घोषणा गरे तर आज सय दिनमा काठमाडौंमा के परिवर्तन आयो जगजायर छ ।
मेयर बिद्यासुन्दरले सय दिनमा आँफुले गरेको कामको प्रचार गर्न बोलाएको सभामा देखाउने र सुनाउने खासै केही भएन र उनले भने स्पष्ट कानुन नहुँदा काम गर्न गाह्रो भयो तर उनले बोलेको पुरा गर्न सकिन भनेर माफ समेत माग्ने हिम्मत गरेनन् । यसै बाट देखिन्छ राजनैतिक संस्कार । ललितपुर र भक्तपुरको हालत त्यो भन्दा केही फरक छैन । दशैं आएको छ बजारमा महङगी बारे कसैलाई चासो छैन । काठमाडौंमा फोहोरको डुंगुर जताततै छ यसैबाट थाहा लाग्छ कति काम भयो भनेर । जिल्ला तहमा पनि दृष्य त्यो भन्दा कम छैन । फोहोर फाल्ने निश्चित ठाउँ समेत नभएर प्रायः जिल्लाका नगरपालिकाले नदी किनारमा फोहर फालेका छन् । यो सय दिनमा कुनै कदम चालिएको छैन । चुनावको मुखमा यसरी कार्यक्रम घोषणा गरेकी उनीहरूले जिते पछि जादुको छडी छ छोए पछि सब ठीक हुन्छ जस्तो । स्थानीय तहको कानुन संसदमै छ पास नहुँदै के बोल्ने, के नबोल्ने कसैलाई मतलब भएन ।
भत्ता बढाउने कुराको श्रृङखला नै भयो । नयाँ–नयाँ भत्ताको घोषणा गरे तर त्यो पैसा केन्द्रबाट आउने कुनै कानुन पनि थिएन तर पनि घोषणा गर्दै गए । स्थानिय तहमा राजश्व बृद्धी गर्ने खालका काम गरेर स्थानिय तहबाटै मात्र दिन सकिने काम लहड र सस्तो लोकप्रियताका लागी गरिएका थिए । कतिपय जनतालाई हो की पनि जस्तो लागे होला नत्र खासै यी सबै भन्ने कुरा मात्रै थिए । जाजरकोट, बागलुङ र बाजुराका तीन वटा स्थानिय निकायमा जनप्रतिनिधीले आफ्ना छोराछोरी सरकारी स्कुलमै पढाउनु पर्ने निर्णय  गरेका छन् । यो निर्णयको कार्यान्वयन के भएको छ थाहा छैन । यो बाहेक अरू कुनै ठाउँमा माखो मरेको छैन । माथी अपबाद भने झै एउटा स्थानिय निकायमा चुनाव ताका जे बाचा भएको थियो त्यो पुरा भएको छ । सिन्धुपालचोकको जुगल गाउँपालिकाको उपाध्यक्षमा बिजयी भएकी २४ बर्षिय सृजना तामाङले चुनाव ताका गाउँमा टेलिफोन सेवा पुर्याउँछु भनेकी थिईन उनले १०० दिनमा त्यो काम पुरा गरेर देखाईन । उनले स्मार्ट सिटी मोनोरेल केही भनेकी थिईनन् गाउँको आवश्यकता यहि देखेर बोलेकी थिईन पुरा पनि गरिन । उमेरले सानो भएर भन्दा आत्मविश्वास र दृढ संकल्प भए आँटेको काम पुरा हुन्छ भन्ने कुरा सृजनाले देखाईन । अरु ठुला ठुला कुरा छोडौं आफ्नै गाउँ टोल समेत सफा राख्न सकेका छैनन् यो सय दिनमा । काठमाडौंको त्रिभुवन बिमानस्थलको समेत सरसफाई गर्न सकेका थिएनन ।
अष्ट्रेलियाका खेम शर्माको टोलीले बिमानस्थल चम्काए अहिले फेरी पशुपतिनाथको मन्दिर परिसरमा सफाई अभियान चलाएका छन् । यो सय दिनमा एक दिन हातमा कुचो लिएको काठमाडौंका मेयरको फोटो सामाजिक संजालमा देखिनु बाहेक अरू खासै केही प्रगति हुन सकेन । देशका अन्य शहरमा पनि चुनाव ताका निकै मिठा घोषणा पढियो र सुनियो तर पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । यो अवधीमा नकुनै एउटा ठाउँमा एम्बुलेन्स ल्याए न त दमकल । केन्द्रमा त थोत्रा २, ३ वटा दमकल बाहेक केही छैनन् भने अब अन्य शहरमा के सोच्नु । जनतालाई अत्यावश्यक के रहेछ यो अवधीमा थाहा भईकन कुनै ठोस काम शुरु हुनु पर्ने थियो तर कहिंकतै यस्तो सुनिएको छैन । पाँच बर्षमा पुरा गरिने दिर्धकालिन योजना सोच नकसैले ल्याएका थिए न पुरा नै हुनेछन् । अध्यान गर्न समय समेत ३ बर्ष जति लाग्ने मोनोरेल दुई बर्षमा कुदाएर देखाईदिने बाचा गरे तर त्यो सम्भव छैन । जनतालाई तत्काल राहत हुने काम समेत केही भएको छैन । भुकम्पले घरबार बिहिन भएका पीडितहरूलाई केन्द्रले बनाईदिने घर त परै जाओस् स्थानिय तहबाट समेत कुनै सम्बोधन गरिएन । केन्द्रले नगरे पनि भत्केका स्थानीय मठमन्दिर, पाटिपौवाको बेहालै छ । कोही कसैले त्यसको बारे नबजेट छुट्टाए नत कुनै भावी योजना नै ।
यो १०० दिनमा धेरैले आएको बजेटलाई बाटोघाटोको मर्मतमा लगाएका छन् जसबाट हरेक बर्ष जस्तै कमिशन खाने सोच अहिले पनि कायमै छ । कुनै पनि ठाउँमा अस्पताल वा अन्य राम्रा कामको शिन्यास समेत भएका छैनन् । समग्रमा नयाँ जनप्रतिनिधिका यी सय दिन पुर्ण निराशामय बाहेक केही हुन सकेनन् ।

मङ्लबार, भदौ २७, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150