बजेट गयो गाउँमा

किसान बीउ खोज्दै जिल्लामा
प्रम कृषि कार्यक्रम पनि प्रभावित
बागलुङ, २८ भाद्र – जिल्ला कृषि विकास कार्यालयमा दैनिक किसान आउने जाने क्रम चलिरहेको छ । हरेक किसानले यतिबेला फलफूलको विरुवा माग गर्ने, बीउबिजनको खोजी गर्ने र किटनासक बिषादीको प्रयोग बारे तालिम चाहेका छन् । तर कृषि विकास कार्यालयमा यो बर्ष न यस्ता कार्यक्रम छन्, त्यसका लागि बजेट नै छ । कार्यक्रम नभएपछि गाउँ र नगरपालिकामा जान कर्मचारीहरुले आग्रह गर्छन् ।
किसान गाउँ र नगरपालिका पुग्छन्, तर त्यहाँ पनि प्राविधिक नभएकोले जनप्रतिनिधिले चित्तबुझ्दो उत्तर दिन सक्दैनन् । प्राविधिक कर्मचारी स्थानीय तहमा खटाउने, कृषि कार्यक्रम बनाउने र सोही अनुसारको बजेट विनियोजन गरिनुपर्नेमा गत असारमै बजेट बाँडफाँड भैसकेको छ । अहिलेसम्म कृषिका प्राविधिक कर्मचारी नगर र गाउँपालिकामा पुगेका छैनन् । जसको कारण आवस्यक बजेट बिनियोजन हुन सकेको छैन । अर्थ मन्त्रालयले भने कृषि मन्त्रालयको अनुमति लिएर सबै गाउँ र नगरपालिकामा बजेट पठाईसकेको छ ।
बागलुङ नगरपालिकामा ५८ लाख, ढोरपाटन नगरपालिकामा ५२ लाख, जैमिनी नगरपालिकामा ५७ लाख र गलकोट नगरपालिकामा ६७ लाख बजेट बिनियोजन गरेको छ । त्यस्तै काठेखोला गाउँपालिकामा १ करोड, तमानखोलामा ४८ लाख, ताराखोलामा ५५ लाख, निसी खोलामा ४३ लाख, बडिगाढखोलामा ५५ लाख र बरेङ गाउँपालिकामा ४० लाख बजेट बिनियोजन भएको छ । तर उक्त बजेट कृषि कार्यक्रमका लागि सदुपयोग हुनेमा बरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यनै विश्वस्त छैनन् । ‘प्राविधिक कर्मचारी नपुगेको र परिषद भैसकेकोले यो बर्षको बजेट अलपत्रै भयो’ आचार्यले भने, ‘कसरी बजेट बिनियोजन गर्ने, कहाँ खर्च गर्नुपर्नेछ भन्ने प्रशासनका कर्मचारी र जनप्रतिनिधिलाई थाहा छैन ।’ चालु बर्षको बजेट जिल्लामै आएर अर्कोबर्षको तयारी गरेपछि मात्र पठाउनुपर्नेमा नहुँदा कार्यक्रम भद्रगोल भएको उनले गुनासो गरे ।
गाउँ र नगरपालिकाका कर्मचारी पनि बजेट बिनियोजन गर्न नसक्दा अममलमा परेका छन् । उनीहरुले कतिपय स्थानमा एक मुष्ट बिनियोजन गरेर राखेका छन् । ‘तत्काल प्राविधिक खटिएन भने हामीले कार्यक्रम बनाएर लागू गर्न सक्दैनौं’ बरेङ गाउँपालिकाका कार्यकारी अधिकृत बैकुण्ठ पौडेलले भने, ‘प्राविधिक बिना कुन क्षेत्रमा आवस्यकता हो हामीले कसरी बुझ्ने ?’ उनले निशर्त आएको बजेटको अधिकांस हिस्सा बिकास निर्माणमा बिनियोजन भएको बताए ।
जनप्रतिनिधिले तोकेको स्थानमा अधिकांस बजेट खर्च भएको उनको भनाई छ । कृषि कार्यक्रमका लागि खर्च गर्ने बजेट कहाँ कसरी छुट्टयाउने भन्नेमा प्रशासनका कर्मचारी अलमलमा परेको उनले गुनासो गरे । कृषिबाट दशै तिहार पछि मात्र प्राविधिक अधिकृत खटिने संभावना छ । आचार्यले तत्काल कर्मचारी खटाउन नसकेको प्रष्ट पारे । केहीको पेन्सन हुन लागेको, कोही जान नमान्ने, कोही बढुवा हुने क्रममा रहेकोले पठाउन ढीलाई भएको उनले बताए । ‘बजेट सिधै अर्थले पठायो, हामीलाई थाहै छैन’ आचार्यले भने, ‘जिल्लामा तालिमको बजेट छैन, यता आएका किसानलाई निरास बनाएर पठाएका छौं ।’ बिषादीको प्रयोग बारेको तालिम, बिउबिजन खरिद तथा अनुदान जस्ता कार्यक्रममा चाहेर पनि स्थानीय तहले काम गर्न नसक्ने उनले बताएका छन् ।
प्रधानमन्त्री कृषि कार्यक्रम पनि प्रभावित
गत आर्थिक बर्षदेखि शुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि स्थानीय तहमा बजेट बिनियोजनबाट प्रभावित भएको छ । क्रमागत रुपमा संचालन हुने कार्यक्रम र दश बर्षसम्म संचालन हुने भएपनि चालु बर्षको सबै बजेट स्थानीय तहमा गएको छ । तर त्यहाँबाट आवस्यकता अनुसारको कार्यक्रम बनेको छैन ।
जिल्लामा सुन्तला, आलु र मकैको ब्लक तथा अन्य कृषि फसलको पकेट क्षेत्रको रुपमा बिकास गर्ने गरी आवस्यक बजेट र कार्यक्रम आएको थियो । उक्त कार्यक्रमका लागि पनि जिल्ला कृषि विकास कार्यालयले हेर्न नसकेपछि काम अलपत्र परेको हो ।
उक्त परियोजनाको अनुगमनको जिम्मा मात्र जिल्लामा रहेकोले चाहेजस्तो सफलता पाउन नसकिने आचार्यले बताए । कृषि प्रधान देश भएपनि व्यवसायिक कृषि उत्पादन गर्न नसकिएको, बजारीकरणको समस्या तथा विशेष क्षेत्रमा बिशेष लगानी गरेर उत्पादन बढाउने लक्षले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन भएको थियो । परियोजनाले कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित गर्ने लक्ष राखेको छ ।

बुधबार, भदौ २८, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150