यस्तो छ निर्वाचनमा एमालेको १० तयारी

केपी ओली
स्थानीय तह निर्वाचन 

सत्ता गठबन्धनद्वारा गरिएका राज्यशक्तिको चरम दुरुपयोग, चौतर्फी घेराबन्दी र अनेकौँ प्रतिकूलताका बीचमा भएको स्थानीय निर्वाचनमा नेकपा (एमाले) पहिलो शक्तिको रुपमा स्थापित भएको छ। पहिलो र दोस्रो चरणमा निर्वाचन भएका कुल ६१७ मध्ये २७६ स्थानमा प्रमुख पदमा विजय हासिल गरेर ४५ प्रतिशतभन्दा बढी सिटसहित एमालेले अग्रता हासिल गरेको छ।
पार्टीको पक्षमा झण्डै ३७ प्रतिशत कुल मत प्राप्त भएको छ। यस परिणामप्रति पार्टी खुशी व्यक्त गर्दछ। जनताको अमूल्य मत प्राप्त गरेर जनप्रतिनिधिका रूपमा जिम्मेवारी सम्हाल्नुभएका र सम्हाल्न लाग्नुभएका सबैलाई पार्टी केन्द्रीय कमिटी हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ। साथै यस निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई पनि धन्यवाद ज्ञापन गर्दछ।
पार्टीको सुदृढ जनाधार रहेको र विगतका निर्वाचनहरुमा अविच्छिन्न ढङ्गले कतिपय स्थानमा पार्टीले भोग्नु परेको पराजयप्रति हामी गंभीर छौं। पराजयका पछाडि विभिन्न कारणहरु हुन सक्छन्, तर निर्वाचनमा कतिपय स्थानमा देखा परेको अन्तरघात र आफूले उम्मेदवारी नपाएपछि पार्टीका आधिकारिक उमेदवारलाई असहयोग गर्ने प्रवृत्ति चिन्ताजनक छ। स्थायी कमिटीले यस अघि नै स्थानीय कमिटीहरुलाई निर्वाचनको गंभीर समिक्षा गर्न र विजयका मुख्य आधार एवं पराजयका मूल कारणहरु पहिल्याएर प्रतिवेदन पठाउन तथा सुनियोजित ढङ्गले अन्तरघात र असहयोग गर्ने व्यक्तिहरुलाई बिना मोलाहिजा कार्बाही गर्न निर्देशन दिइसकेको छ।
पार्टीले ‘कोर मधेस’ भनिने स्थानका गाउँपालिका र नगरपालिकामा समेत विजय हासिल गरेको छ। थारु बहुल क्षेत्रमा सफलता प्राप्त गरेको छ। जनजाति बहुल क्षेत्रमा बहुमत प्राप्त गरेको छ। महिला र दलित उम्मेदवारहरुलाई विजयी बनाउने कुरामा पार्टी अग्रस्थानमा छ। यी तथ्यहरुले हाम्रो पार्टीका विरुद्ध फैलाइएका कतिपय प्रायोजित प्रचार र भ्रमहरुलाई समाप्त पारिदिएका छन्। स्थानीय तह निर्वाचनले जातीय–क्षेत्रीय अतिवाद र सङ्कीर्णतामा रुमल्लिइरहेको राजनीतिक बहसलाई विकास निर्माण, समृद्धि,संविधान कार्यान्वयन तथा सामाजिक सद्भावतिर मोड्न सफल भएको छ। स्थानीय निर्वाचनमार्फत् हाम्रो पार्टीले अगाडि सारेका मान्यता, दृष्टिकोण र एजेण्डा जनअनुमोदित भएका छन्।
यस निर्वाचनसँगै स्थानीय तहमा लामो समयसम्म रहेको जनप्रतिनिधिविहीन अवस्था र त्यसबाट सिर्जित राजनीतिक रिक्तताको अन्त्य भएको छ। जनताले आप्mनो सबैभन्दा नजिकको सरकार प्राप्त गरेका छन्। संविधानले प्रत्याभूत गरेका अधिकारहरूको सदुपयोग गर्दै स्थानीय तहबाटै लोकतन्त्र, सामाजिक न्याय, समानता र समृद्धिको अभियानलाई नयाँ उचाइमा पु¥याउने भरपर्दो आधार तयार भएको छ। पार्टी स्थानीय निर्वाचनमा प्राप्त सफलतालाई यिनै उद्देश्य प्राप्तिका लागि अधिकतम सदुपयोग गर्नेछ।
राजनीतिक शक्ति सन्तुलन 
स्थानीय निर्वाचनसँगै हाम्रो पार्टी मुलुकको पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित भएको छ। सिट सङ्ख्यामा मात्र होइन, कुल मतमा समेत पार्टीले उल्लेखनीय अग्रता हासिल गरेको छ। प्रतिपक्षमा रहेर, सत्ता गठबन्धनद्वारा भएको राज्यशक्तिको चरम दुरुपयोग, घेराबन्दी र प्रतिकूलताका बीचमा पार्टीले प्राप्त गरेको यो सफलता निकै महत्वपूर्ण छ।
यसले नेपालको राजनीतिक शक्ति सन्तुलन बदलिएको यथार्थलाई अभिव्यक्त गर्छ। यो जनलहरलाई अझ प्रभावकारी बनाउँदै आगामी सङ्घीय संसद र प्रदेशसभा दुबै निर्वाचनमाप बहुमत हासिल गरेर एमालेको नीति र नेतृत्व दुबै स्थापित गर्ने महत्वपूर्ण घडीमा हामी आइपुगेका छौं। यस उपलव्धिका पछाडि पार्टीले अगाडि सारेका सही नीति र तिनलाई कार्यान्वयन गर्ने एकतावद्ध प्रयासको योगदान छ।
यस पटकको निर्वाचनको एउटा उल्लेखनीय विशेषता के हो भने आफूलाई देशकै पहिलो राजनीतिक शक्तिको रुपमा दाबी गर्दै आएको र अहिलेसम्मका निर्वाचन एक्लै लड्दै आएको नेपाली काङ्ग्रेसले पहिलो चोटी एमालेसँग एक्लै प्रतिष्पर्धा गर्ने सामथ्र्य गुमाएको छ। एमालेसँग लड्न माओवादी लगायत विभिन्न दलको वैशाखी टेक्ने स्थितिमा पुग्नु भनेको नेपाली काङ्ग्रेसको शक्ति क्षयीकरण र कमजोर आत्मविश्वासको उपज हो। तत्कालका लागि काङ्ग्रेस नेतृत्वको गठबन्धनले हामीलाई कतिपय ठाउँमा असजिलो पारे पनि पहिलो ठानिने शक्तिको यो ह«ासोन्मुख अवस्था नेपालको लोकतान्त्रिक आन्दोलनका लागि सकारात्मक र शक्ति सन्तुलन श्रमजीवी जनताको पक्षमा सुदृढ बन्दै गरेको स्थितिको परिचायक हो।
नेकपा (माओवादी–केन्द्र) को नीतिगत विचलन र परिणाम निरन्तर ओरालो लाग्दै जाने स्थिति यस निर्वाचनको अर्को चारित्रिक विशेषता हो। राजनीतिक अवसरवाद, एमाले विरुद्धको प्रतिशोध र कुण्ठा एवं विगतका गल्तीहरुको संभाव्य परिणतिबाट जोगिने मनोवैज्ञानिक दबाबका कारण आज माओवादी–केन्द्र नेपालको कम्युनिष्ट आन्दोलन र राष्ट्रिय हितका विरुद्ध विभिन्न शक्तिहरुबाट उपयोग हुने विन्दुमा पुगेको छ।
अहिले त्यो पार्टी ‘एमालेको विकासमा आफ्नो आधार संकुचन हुने र एमालेको ‘विनास’ बाट मात्र आफ्नो आधार फैलने’ निष्कर्षमा पुगेको देखिन्छ। उसले जुन बाटो लिएको छ, यसले उसलाई आगामी दिनमा झनै दिशाविहीन र कमजोर बनाउँदै लैजानेछ। माओवादी कार्यकर्ताहरुमा उत्पन्न व्यापक निराशा र पार्टी परित्यागले यिनै कुरालाई सङ्केत गर्छन्। हामीले माओवादी अवसरवादका विरुद्ध वैचारिक सङ्घर्षलाई तीव्रता दिंदै त्यसलाई गलत बाटोमा जानबाट रोक्ने प्रयाशलाई जारी राख्नुपर्छ।
मधेस–केन्द्रित दल तथा केही जातीय समूहहरुले लामो समय संविधानको विरोध र जातीयता–क्षेत्रीयता माथि आधारित भएर राजनीति गर्दै आएका छन्। वाह्य शक्तिको आडभरोसामा, जातीय–क्षेत्रीय अतिवादी नारा तथा सामाजिक विद्वेष र घृणामाथि आधारित भएर सञ्चालन भएको उनीहरुको राजनीति जनतामा आएको जागरणसँगै क्रमशः कमजोर बन्दै गएको छ। यस्तो सङ्कीर्णताबाट मुक्त गर्न र राष्ट्र तथा जनताको हितमा सकारात्मक भूमिका खेल्न अभिप्रेरित गर्दै हामीले उनीहरुका सङ्कीर्णता, सामाजिक विद्वेष र अतिवादलाई प्रोत्साहन गर्ने प्रवृत्ति, तराईमा सामन्ती सामाजिक–आर्थिक–सांस्कृतिक यथास्थिति कायम राख्ने प्रयाश एवं नेपालको आन्तरिक मामलामा वाह्य शक्तिहरुलाई गुहार्ने जस्ता गलत प्रवृत्तिहरुको विरोध गर्नुपर्छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी 
मुलुक आगामी मङ्सिरका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अग्रसर भइसकेको छ। संक्रमणकालको अन्त्य र संविधानको पूर्ण कार्यान्वयनका लागि यी निर्वाचन निर्णायक महत्वका हुनेछन्।
राजनीतिक अस्थिरता नेपालको जटिल र ‘क्रोनिक’ समस्या हो, जसले राज्यलाई निरन्तर खोक्रो, राष्ट्रियतालाई निरन्तर कमजोर र सामाजिक–आर्थिक विकासलाई निरन्तर अवरोध सिर्जना गरिरहेको छ। यसले जनतामा नैराश्य पैदा गरिरहेको छ। आगामी दुवै तहका निर्वाचन एमालेको बहुमत स्थापित गरी मुलुकलाई सही दिशामा, विकासको रफ्तारलाई तीव्र गतिमा अगाडि बढाउन निकै महत्वपूर्ण हुनेछन्।
स्थानीय तह निर्वाचनमा अधिकांश स्थानमा एमालेको जीत भएकाले सङ्घ तथा प्रदेशमा पनि एमालेको सरकार हुँदा मात्र विकास निर्माण र संविधान कार्यान्वयनमा ‘लय’ प्राप्त हुन सक्छ। त्यसैले हामीले स्थानीय तह निर्वाचनको बेलामा अगाडि सारेको ‘गाउँदेखि केन्द्रसम्मै एमाले सरकार’ भन्ने नारा सही र सान्दर्भिक छ।
प्रदेश नं २ को स्थानीय तह निर्वाचन पनि सकिइसकेको परिप्रेक्ष्यमा अबको हाम्रो कामको मुख्य केन्द्रबिन्दु आगामी निर्वाचनको तयारी हुनेछ भने मुख्य लक्ष्य दुबै तहको निर्वाचनमा सुविधाजनक बहुमत हासिल गर्ने। यसका लागि पार्टीको आन्तरिक सङ्गठनात्मक सामथ्र्य र जनताको समर्थन मुख्य आधार हो। तर हामीले यी निर्वाचनहरुमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, अग्रगमन, सामाजिक सद्भाव र राष्ट्रिय एकताका पक्षधर शक्तिहरुलाई पनि सँगै लिएर अगाडि जाने नीति लिनु पर्दछ।
जनताको बीचमा हामीले आगामी निर्वाचनमा एमालेले किन बहुमत प्राप्त गर्नु आवश्यक छ भन्ने सन्देश स्थापित गर्नु पर्दछ। यसका लागि निम्न विषयहरुमा ध्यानाकर्षण गर्न चाहन्छुः
१. अविलम्ब अन्तर पार्टी निर्देशन–७ ले निर्देशन गरेबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरु गठन गर्ने।
२. स्थानीय निर्वाचनको समिक्षा प्रतिवेदन अविलम्ब केन्द्रमा पठाउने र स्थानीय निर्वाचनमा प्रकट भएको सबल पक्षलाई अगाडि बढाउने र कमजोरीहरुलाई हटाउने।
३. तोकिएको मितिभित्रै प्रतिनिधिसभा र प्रदेशसभाका पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तथा समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको सुझाव र सिफारिस केन्द्रमा पठाउने।
४. उम्मेदवारहरुको नाम पठाउँदा क्षेत्रीय समन्वय कमिटी र जिल्ला कमिटीले सुझावका रुपमा र प्रदेश सङ्गठन कमिटीले सिफारिसका रुपमा पठाउने। तलबाट आएका सुझावमा माथिल्लो कमिटीले थप गर्न या कैफियत खुलाउन सक्ने भए पनि तलको सुझावलाई हटाउने या बदल्ने काम भने गर्न पाइने छैन।
५. अबको निर्वाचनमा समानुपातिक तर्फ बन्द सूची (अर्थात प्राप्त मतका आधारमा निर्वाचन आयोगले सिफारिसको क्रम) का आधारमा विजयी घोषणा गर्ने, नेतृत्वले त्यस क्रमलाई तलमाथि पार्न नसक्ने हुनाले समानुपातिक तर्फ पनि लोकप्रिय उम्मेदवारहरुलाई प्राथमिकताका साथ सिफारिस गर्ने।
६. स्थानीय निर्वाचनको घोषणापत्रमा राष्ट्रिय राजनीति, समग्र योजना र समृद्धिको खाका सम्बन्धी सामान्य मार्गदर्शन समावेश गरेका छौं। यसैमाथि आधारित भएर केन्द्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय घोषणापत्र तयार गरिनेछ।
७. प्रत्येक प्रदेश सङ्गठन कमिटीले प्रदेशका मुख्य योजना र विकासको मार्गचित्र सहितको घोषणापत्र तयार गर्नुपर्नेछ। सबै घोषणापत्रको मुख्य सार समृद्धि, सबल राष्ट्र निर्माण र सामाजिक सद्भावसहितको राष्ट्रिय एकताका लागि एमालेको सरकार आवश्यक छ भन्ने कुरामा केन्द्रित हुनेछ।
८. घोषणापत्रमा समावेश गर्ने बुँदाहरु क्षेत्रगत÷विषयगत रुपमा तयार गरेर पठाउने।
९. अन्य वामपन्थी, प्रगतिशील र देशभक्त समूह, दल र व्यक्तित्वहरुसँग निर्वाचनका लागि आवश्यक संवाद अगाडि बढाउने।
१०. निर्वाचन सम्मका लागि पार्टी कमिटी तथा पार्टी सम्बद्ध जनसङ्गठनहरुका अधिवेशन र सम्मेलनहरु स्थगित गर्ने।
स्थानीय तहको परिचालन
स्थानीय निर्वाचनमा हामीले प्राप्त गरेको विजय पार्टी निर्माण र राष्ट्र निर्माणका सर्वाधिक महत्वपूर्ण आधारहरु हुन्। ४५ प्रतिशतमा विजयी भएको यो जनशक्ति सही ढङ्गले परिचालित हुँदा उल्लेखनीय उपलव्धि हासिल हुने स्पष्ट छ। निर्वाचित जनप्रतिनिधिहरुले उत्कृष्ट कार्यसम्पादन र सक्रिय भूमिकाद्वारा पार्टीको जनाधार विस्तारमा उल्लेखनीय योगदान गर्न सक्छन्, किनभने अबको पार्टी निर्माण जनताबाट अनुमोदित हुँदै, जनताको समस्यासँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै, तिनको समाधानमा अग्रणी भूमिका खेल्दै र जनताको मन जित्दै मात्रै संभव छ। असल जनप्रतिनिधिले पार्टीको प्रतिष्ठा अभिवृद्धिमा निर्णायक भूमिका खेल्न सक्छन्।
तर निर्वाचित जनप्रतिनिधिहरुको कार्यसम्पादन राम्रो हुन नसकेमा यसबाट पुग्न जाने क्षति र पार्टीप्रतिको जनविश्वासमा आउन सक्ने ह«ास पनि उत्तिकै गंभीर हुनेछ। स्थानीय तहमा हाम्रो विजय आफैमा लक्ष्य या साध्य होइन, यो त समुन्नत, समृद्ध र सबल राष्ट्र निर्माणमा योगदान गर्ने साधन या माध्यम मात्रै हो। यसलाई ध्यानमा राखेर हामीले निर्वाचित जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्न तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको परिचालनका लागि विशेष ध्यान दिनु पर्छ। यसका लागि निम्न विषयमा ध्यान दिनु जरुरी छः
१. स्थानीय जनप्रतिनिधिहरुलाई पार्टीका वैचारिक–राजनीतिक दृष्टिकोणहरुका बारेमा निरन्तर प्रशिक्षित गरिरहनु पर्छ। यसका अलावा स्थानीय तह सम्बन्धी संवैधानिक–कानुनी व्यवस्था, स्थानीय तहको योजना तर्जुमा, राजस्व परिचालन र बजेट निर्माण, कर्मचारी प्रशासन, सुशासन लगायतका विषयमा पनि निरन्तर प्रशिक्षण र अनुगमन गरिरहनु पर्छ। पहिलो चरणमा यो काम हामीले सम्पन्न गरेका छौं र अझ नयाँ उचाइबाट यसलाई निरन्तरता दिइनुपर्छ।
२. पार्टी विधानमा उल्लेख गरिएजस्तै स्थानीय तह परिचालनका लागि संयन्त्र निर्माण गरिनु पर्छ र त्यसैका माध्यमबाट समन्वय गरिनुपर्छ।
३. यो बर्षभित्रै प्रत्येक स्थानीय तहले आफ्नो आवधिक योजना निर्माण गरिसक्ने गरी प्राविधिक समन्वय गरिनुपर्छ।
४. स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आगामी निर्वाचनमा पार्टीको जनमत र प्रतिष्ठा बढ्ने गरी योजना, गतिविधि र भूमिका खेल्नुपर्छ।
पार्टीभित्र आत्मकेन्द्रित, व्यक्तिवादी र सङ्कीर्ण प्रवृत्तिहरु पनि देखा पर्ने गरेका छन्। उम्मेदवारी नपाएकै कारण पार्टी परित्याग गर्ने या पार्टीभित्रै बसेर अन्तरघात गर्ने प्रवृत्ति देखा पनि देखा परेको छ। उम्मेदवारी वितरण या पार्टीभित्र जिम्मेवारी प्रदान गर्ने बिषयमा पनि निजको इतिहास, योगदान र भूमिकालाई होइन–पक्षधरता र निकटतालाई आधार बनाउने प्रवृत्ति समेत देखा परेको छ। राष्ट्रिय राजनीतिमा पार्टीले जुन उचाइको सफलता र गति लिइरहेको छ, त्यसको सापेक्षतामा हाम्रो सङ्गठनात्मक सामथ्र्य, चुस्तता र विस्तार हुन सकिरहेको छैन।
आन्दोलनका सामु उत्पन्न नयाँ चुनौती र नयाँ जिम्मेवारी वहन गर्न सक्ने खालको पार्टी निर्माण आजको आवश्यकता हो। पार्टी निर्माणको मुख्य आधार वैचारिक चेतना र स्पष्टता हो। त्यसका आधारमा मात्रै सङ्गठनात्मक संरचना, त्यसको तहगत प्रणाली र परिचालन व्यवस्थित हुन सक्छ। लोकतान्त्रिक आन्दोलनमा अग्रणी शक्तिका रुपमा स्थापित भएर मुलुककै मुख्य राजनीतिक दल बन्न सफल हाम्रो पार्टीले आगामी दिनमा समृद्धि प्राप्तिको अभियानमा पनि यसै गरी कुशल नेतृत्व प्रदान गर्न सक्नुपर्छ।
आगामी केही महिना राष्ट्रिय राजनीतिका लागि निर्णायक हुनेछन् र यिनले राष्ट्रिय राजनीतिमा एमालेको सही नीति र सही नेतृत्व स्थापित गर्दै मुलुकको भविष्यका लागि विश्वसनीय आधार सिर्जना गर्नेछन्।
(केन्द्रीय कमिटीको आठौं बैठकमा एमाले अध्यक्ष ओलीले प्रस्तुत गरेको निर्वाचन तयारीसम्बन्धी प्रतिवेदनको प्रमुख अंश)

आइतवार, अशोज ८, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150