ओशोले पोखरामा चलाएको कम्युन !

वाशुदेव मिश्र 
पोखरा, १६ मंसिर – ‘हामी जेठ महिनातिर काफल चोर्न जान्थ्यौं, काफलको रुखबाटै खरबारीमा यौनिक क्रियाकलाप देखेको मलाई अलिअलि सम्झना छ’, ‘पाइताला’ उपन्यासका लेखक गनेस पौडेलले अतित सुनाउँदै भने,‘हामी त्यो क्याम्पलाई रन्जिस क्याम्प भन्थ्यौं।’
कालखण्ड हो, २०४२ साल। गनेस पौडेलको स्मृतिमा रहेको यो दृष्यको हो पोखराको छिनेडाँडाको। हो, पोखराको छिनेडाँडा त्यो बेला चर्चित थियो। कारण एउटै थियो, ‘सेक्स गुरु’ को उपमा भिराइएका रजनिश अर्थात् ओशोका चेलाहरुले त्यहाँ आश्रम बनाएका थिए।
रजनिश आश्रमलाई स्थानीयहरु गनेसकै भाषामा ‘रन्जिस क्याम्प’ भन्थे। ओशोका अनुयायीहरुको लागि भने त्यो ‘कम्युन’ थियो। उन्मुक्त गोरा युवतीहरुको आउजाउ, उनीहरुको उन्मुक्त जीवनशैली, अनि मिथकजस्ता लाग्ने यौन प्रसङ्गहरुले अहिले पनि पोखरालाई छाडेको छैन। झन् त्यो त चालिसको दशक न पर्‍यो!
आचार्य रजनिश अर्थात् ओशो, यो शताब्दीका चर्चित र विवादित आध्यात्मिक गुरु। भारतमा जन्मेर अमेरिका लगायत सम्पूर्ण विश्व हल्लाउने महान विदुषकका संसारभर लाखौँ अनुयायीका पथप्रदर्शक। नेपालमा झण्डै १ लाख र पोखरामा मात्र ५ हजारको हाराहारीमा ओशोका अनुयायी र प्रशंसक रहेको अनुमान गरिन्छ।
तिनै ओशो कुनै समय बडो शानसँग नेपाल र नेपालको पनि पोखरामा बस्ने योजनाका साथ यो सुन्दर हिमाली देश भित्रिएका थिए। तर, ओशोलाई तत्कालीन सरकारले न कुनै भाउ दियो, न त बस्ने अनुमति नै। नेपालमा बस्ने अनुमति नपाएपछि ओशो अन्ततः भारतको पुणेमा स्थायी रुपले बस्न पुगे।
सन् १९३१ को डिसेम्बर ११ तारिखमा जन्मिएका उनी अहिले यो संसारमा त छैनन्, तर उनको चर्चा भने अध्यावधि उत्तिकै छ। खासगरी यौन र ध्यानका विषयमा चर्चा हुँदा उनी नछुटिने नाम हुन्।
ओशो सन् १९८५ मा नेपाल आएका थिए। अमेरिकाको रजनिशपुरम्मा बस्न नपाएपछि नेपाल पसेका उनी सो समय होटल सोल्टीको सुइट रुममा बसेका थिए। पत्रकार विजयकुमारले आफ्नो पुस्तक खुसीमा ओशोको अन्तर्वार्ता लिने प्रसंगमा स्वीमिङ पुलमा उन्मुक्त गोरी युवतीहरुप्रति ध्यान केन्द्रित हुँदा ओशोको सेक्रेटरीले ‘कि मलाई ध्यान देऊ, कि उतै हेर’ भन्ने प्रसङ्ग उल्लेख गरेका छन्।
हिमाल असाध्यै मन पराउने ओशोले सो समय पोखराबारे सुने र पोखरा बस्ने मनसाय व्यक्त गरे। उनकै चाहना अनुसार उनकी सेक्रेटरी माँ शुन्याले पोखराको भ्रमण पनि गरिन्।ओशोसँगका क्षणहरुबारे आत्मकथा नै लेखेकी उनले पोखराको वर्णन गरेकी पनि छन्।
अहिलेको फूलबारी होटल भएको ठाउँको जग्गा हेरेको र त्यो बेला लामो कपाल पाल्ने तथा तीब्र गतिमा मोटरसाइकल चलाउने ‘एक सन्यासी’को बानी मन नपरेको उनको आत्मकथामा समेटिएको छ।
‘ओशोपथ’ मा लागेका मुक्ति चालिसेका अनुसार ओशोकै आग्रहमा करीब ३ करोडमा हाल पोखरामा फिस्टेल लज भएको जग्गा लिने लगभग पक्का पनि भएको थियो। ‘तर विश्वव्यापी रुपमा नै अमेरिकाको विरोधमा परेकाले जग्गा किन्न सम्भव भएन’ उनले सुनाए, ‘पछि छिनेडाँडाको पोखरा होटल म्यानेजमेण्ट कलेज भएको ठाउँतिर कम्युन (ओशोले आफ्ना अनुयायीहरु सामूहिक रुपले बस्ने ठाउँलाई कम्यूनको नाम दिएका थिए) पनि बन्यो। तर विविध कारणले त्यहाँ कम्युन चलेन।’
हो, पोखरामा ओशोको चर्चा हुँदा छिनेडाँडातिरको ‘कम्युन’ को खुबै चर्चा हुन्छ। ‘सम्भोगबाट समाधी’ सम्म भन्ने चर्चित र बिवादित भाषणका कारण चर्चामा आएका ओशोलाई धेरैले ‘सेक्स गुरु’ कै रुपमा चिन्थे त्यतिबेला।
उनका चेलाहरु पनि मोक्षको खोजीमा निस्केका हिप्पीहरुजस्तै थिए। कम्यूनमा हुने नाचगान, उन्मत्त गोरा सुन्दरीहरुको आवागमनका कारण त्यो बेला कम्युनलाई बदनाम नै गराइयो।
थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टका भाई गुणचन्द्र विष्ट (स्नानानन्द) ले ओशोका हितैषी चेला चिन्मय स्वामीसँग मिलेर ओशो नेपाल आउनु अगावै त्यहाँ झण्डै ३ सय १६ रोपनी जग्गा किनेका थिए। ओशो नेपाल आएपछि चिन्मयले सोधे, ‘म के गरुँ ?’ ओशोले ‘फर्क’ भनेपछि उनी फर्के। र, ओशो रहिञ्जेल उनीसँगै रहे। जग्गा पछिसम्म थियो।
त्यो बेला ओशोको पछि लाग्ने धनाढ्य नेपाली र भारतीयको पैसामा किनिएको जग्गा थियो त्यो जग्गा। केही ओशो सन्यासीले त्यहाँ व्यक्तिगत रुपले नै जग्गा किनेका थिए। जग्गा बेचिएपछि पैसा हिनामिनाको आरोप–प्रत्यारोप पनि चल्यो। गुणचन्द्र बिष्टले चाहिँ त्यो पैसा पुणेमा रहेको ओशो कम्यूनलाई फिर्ता दिएको दावी गरेको उनलाई नै उधृत गर्दै मुक्ति चालिसेले जानकारी दिए।
पोखरेलीमा ओशो चेतना
२०२५ सालतिर पोखराका मुक्तिलाल (स्वामी धर्म चैतन्य) सामान किन्न गोरखपुर पुग्दा आचार्य रजनीशको किताब भेटे। तत्कालीन समयमा भारतमा ‘हटकेक’ बनेको ‘सम्भोग से समाधीकी और’ किन्न तन्नेरी मन किन पछि पथ्र्यो र? उनले पनि किने। दाई मथुरालाललाई पनि पढ्न दिए। युवा अवस्थामा रसरंग गर्नुपर्ने उनीहरु ओशोको विचारसँग यसै लहसिए।
उनीहरुले गोरखपुरतिरबाट अरु किताब पनि ल्याउन थाले। ओशोको विचारबाट प्रभावित बनेपछि उनीहरुले सन् १९७८ मा भारत पुगेर सन्यास लिए। मुक्तिलालले भने, ‘पछि मलाई पनि स्वामी धर्म चैतन्यले ‘अमृत की दिशा’ भन्ने किताब दिनुभयो, पढेपछि बल्ल नयाँ कुरा भेटेजस्तो लाग्यो र ध्यानमा लागियो।’
नयाँ विचारधारा र विद्रोहात्मक शैलीको पछि लाग्ने युवाहरु जहाँ पनि हुन्छन्। पोखरामा पनि त्यस्तै भयो। कपडा पसल चलाउने मथुरालालले तत्कालिन उद्योग बाणिज्य संघको हल भाडामा लिएर ध्यानकेन्द्र चलाउन थाले। पछि त्यसलाई महेन्द्रपुल र तेर्सापट्टीमा सारियो। ‘ओशो सत्मार्ग ध्यानकेन्द्र’ को नाममा त्यो अहिले पनि संचालनमा छ। मुक्ति चालिसेले त्यहाँ अहिले पनि ध्यान सिकाउँछन्। ओशो सन्यासीहरु ध्यान गर्न आउँछन्।
‘मलाई ध्यानको मार्गमा प्रवेश गराउने स्वामी देव चैतन्य ( मथुरा साहु) नै हो’, ओशो उपवन संचालन गर्दै आएका जगदिश अर्थात् स्वामी योगानन्दले भने, ‘पोखरामा ओशोको विचारधारा प्रचारमा उहाँको ठूलो योगदान छ।’
ओशो नेपाल आएपछि उनीप्रतिको मोह झनै बढ्यो। त्यो समय सन्यास लिनेहरुमध्ये केही ओशोको दर्शनमा भिजे भने केहीले सन्यास त लिए। तर त्यो मार्ग अपनाएनन्। पोखरामा स्थापित ओशो सत्मार्ग ध्यानकेन्द्र, ओशो इनरकनेक्सन, ओशो उपवन लगायतका ध्यानकेन्द्रले पनि सन्यासीहरुको संख्या बढायो। ध्यान र योगको प्रचार बढी हुन थालेको वर्तमानमा त ओशोको अपरिहार्यता झन बढ्ने नै भयो।
चर्चा समाधीको
मथुरासाहु खानपानका सौखिन। ‘बुबा पसलमा कपडा बेच्दाबेच्दै पनि माथि गएर स्वाँट्ट (रक्सी) दिनुहुन्यो,’ आफ्ना पितालाई सम्झँदै किरणलालले भने, ‘उहाँले सन्यास लिएपछि सबै त्याग्नुभयो, उहाँको अल्सर पनि त्यसै हरायो।’
ध्यानमा चुर्लुम्म डुबेका मथुरासाहुको इच्छा अनुसार सन्ततीले उनको मृत्यु पनि उत्सवमय बनाए। आफ्नो सफलताको श्रेय पितालाई दिने किरणलालका अनुसार भेट्न आउने व्यक्तिहरुले ‘ज्ञानप्राप्त’ व्यक्तिको उपमा दिन्थे पितालाई। पितालाई मृत्युबारे जानकारी प्राप्त भएको पनि उनले दावी गरे। राजधानीमा बसेर ओशो तपोवन नामक ध्यानकेन्द्र सञ्चालन गर्ने स्वामी आनन्द अरुणलाई पनि धेरैले निर्वाणप्राप्त व्यक्तिको संज्ञा दिने गर्छन्।
ओशो आश्रम भएको भए !
ओशो नेपाल बसेको भए यहाँको पर्यटन उद्योगमा कायापलट हुन्थ्यो भन्ने अनुमान लगाउन सकिन्छ। पोखरामा ओशोका पुराना अनुयायी स्वामी गोपाल भारतीले भने, ‘यो पक्कै पनि आध्यात्मिक केन्द्र बन्ने थियो।’
उनले भनेको कुरामा किन दम छ भने, अहिले भारतको पुणेमा महिनामै लाखौँ ओशो सन्यासीहरु ओइरिन्छन्। उनीहरुले गर्ने खर्च पनि चर्कै हुन्छ। ‘सन्यास भनेको काम छाड्नु हैन’ भन्ने सन्देश दिने ओशोका चेलाहरु धनी नै हुने भएपछि खर्च पनि गर्ने नै भए।
ओशोलाई पोखरा र सकेसम्म नेपालमै राख्न सकेको भए अहिले नेपाल आध्यात्मिक केन्द्र बन्ने तर्क गर्छन्, पोखराका पुराना ओशो अनुयायी स्वामी देवचैतन्य (स्वर्गीय मथुरालाल श्रेष्ठ)का सुपुत्र किरणलाल श्रेष्ठ। सरकारले लुम्बिनीलाई प्रमुख पर्यटकीय गन्तब्य बनाउन लागेको प्रसंग झिक्दै स्वामी योगानन्दले भने, ‘ओशोका सन्यासीहरुले अमेरिकाको ओरेगन राज्यको बन्जर जमिन रजनीशपुरम्लाई त हराभरा बनाए भने, यहाँ के हुन्थ्यो आफै कल्पना गर्नुहोस् ।’
त्यसो त,पोखरामा ओशोका अनुयायीहरुको कुनै कमी छैन अहिले पनि। कास्कीकै दोबिल्लामा स्वामी आनन्द अरुणको अगुवाईमा ‘आश्रम’ बनेको छ । आश्रममा अरु त अरु, नेपालकै सफल व्यवसायी उपेन्द्र महतोको पनि ‘आलिशान आश्रम’ छ।

शनिबार, मंसिर १६, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150