फेसबुक, फोन र प्रेमको कथा

रञ्जु सुनार
रातको एघार बजिसकेको थियो । निन्द्रा लाग्ने सुरसार अझै थिएन् । सधैँझैं छट्पटी र बेचैनी मनमा छदैँ थियो । एक्कासी मोबाईलले केही सन्देश ल्यायो । हेरेँ, म्यासेज आएको रहेछ । नम्बर परिचित थियो । ‘ह्याप्पी बर्थ डे नानु, जिन्दगी भर खुशी हुनु । म सधै तिम्रो खुसी हेर्न चाहान्छु ।’ म्यासेज हेरेसँगै पुराना दिनहरु बल्झन थाले । सोचेँ जिन्दगी भर मेरो खुशी चाहानेले मेरै खुसीहरुको हत्या कसरी गर्न सक्यो होला ?
मनमनै तर्कना आयो – तिमीलाई शायदै बिर्सिन सकुँला । तर तिमी मलाई बिर्सिन सक्छौ भने, मैले पनि जीवनमा तिमीलाई बिर्सिएका भावहरु छरुँला । आखिर त्यो मेरै निम्ति त हो ! मनका तर्कनासँगै औँलाहरु मोबाइलको स्क्रिनमा चलमलाउन थाले । औँलाहरुले यस्तो लेख्न भ्याएछन्– जबरजस्ती प्रेम फुल्दैन । कति धेरै माया दिएको कि म आफै टुक्राटुक्रा भई गएँ…
आँखामा र मनमा हलचल हुनु अस्वभाविक थिएन । तर रुनुको कुनै खास कारण पनि त थिएन । आफैलाई कठोर बनाएँ, र भने जीवन चल्दै गरेको गाडी हो । मलाई धेरै यात्रा तय गर्नुछ ।
उराठ उराठ लाग्ने चैत्र महिनामा उसले मलाई फेसबुकमा साथी बन्न आग्रह गरेको थियो । यसो हेरेँ उसका र मेरा साथीहरु मिल्दा रहेछन् । अनि मैले आग्रह स्वीकारेँ । च्याटमा उसले नै हो मलाई पहिले बोलाएको । ऊ किन हो खोई मेरो प्रशंसा गरी रहन्थ्यो । म भने हाँसेर टार्थेँ । खासमा सबै पुरुषहरु महिलाको प्रशंसाबाट नै आफ्नो कुरा शुरु गर्छन । शायद यो उनीहरुका लागि माछा फसाउने साझा तरिका हो ।
एकदिन उसले फेसबुकबाटै ‘प्रपोज’ ग¥यो । जवाफमा मैले धन्यवाद मात्र भनेँ । लगातार म्यासेज गर्नु उसको बेग्लै किसिमको खासियत थियो । तर, हाम्रो खासै दोहोरो कुरा हुन्थेन । म उसका म्यासेजहरु हेरेर छोडिदिन्थे । ठ्याक्कै एक बर्षपछि हम्रो एउटा कार्यक्रममा एक्कासी भेट भयो । उसले म आउने कुरा थाहा पाएर आएको भन्यो । एक बर्ष अघिको उसको प्रस्ताव सम्झने मसँग कुनै खास कारण थिएन । कति कुरा बिर्सनु पनि आफैमा राम्रो हो भन्ने कुरा मैले त्यहि दिन महशुस गरेँ । छुट्टीने बेला हामीले फोटो खिच्यौँ । उ मलाई बारम्बार– ‘यु आर सो क्यूट’ भनि रहन्थ्यो । म भने उसको कुरामा फिस्स हाँसी मात्र दिन्थे ।
उसले मलाई आफ्नो नम्बर दियो र मेरो पनि नम्बर माग्यो । अन्ततः हामीले नम्बर साटासाट ग¥यौँ । के त्यो नम्बरमा हामीले कुरा गर्ने थियौँ ? मलाई त्यस्तो लाग्दैन्थ्यो तर त्यहि भयो जुन नहुनु पर्ने थियो । चैत्रको मसान्तझैँ लाग्छ मैले उसलाई फोन गरेँ । फोनमा उसले स्वर सुने लगत्तै भन्यो– मलाई भेट्न मन छ । के हामी भेट्न सक्छौँ ?
उसको कुराले मरो मनमा चैत्र मासको हुरी फेरी मडारियो । तै पनि हुन्छ भनि दिएँ ।
०००
बैशाखको शुरुवातसँगै हाम्रो भेट भृकुटीमण्डप हुँदै बाक्लियो । त्यसपछि के थियो, उसको फोन नम्बर मेरो मोबाईल स्क्रिनमा देखिनु कुनै नौलो भएन । मान्छेको जात बडो अनौठो हुँदाहुँदै पनि केही कुरा भने सहजै हुन्छ । मानिसहरुलाई आफ्नो प्रशंसामा खुसी नभई बस्न सक्दैनन् । म पनि त्यहि मध्येकी एक थिए । मलाई उसले गरेको प्रशंसा मन पर्न थालेको थियो ।
साधारण उचाई, पातलो जीउडाल, आर्यन भए पनि मंगोलियन देखिने अनुहार, गालामा सानो डिम्पल । हामी भेट्दा ऊ जहिल्यै हाँसी रहेको हुन्थ्यो ।
किन यसरी हाँसेको ?
निकै खुसी छु ।
खुसी हुनु पर्ने केही कारण ?
दुखी हुन नपरेकाले ।
अनि किन घुँरेको त ? जतिबेला नी ।
तिमी सारै राम्री छौँ ।
जबाफमा म मुसुक्क हाँसी दिन्थेँ ।
हुँदाहुँदै म उसलाई निकै सम्झन थालेकी थिएँ । अब कलेजको खाजाको पैसाले रिचार्ज जुटाउने तीर मेरो ध्याउन्न मोडिन  थालेको थियो । अन्ततः एक दिन मैले पनि उसलाई माया गर्ने कुरा भनेँ । यो सुनेर उ निकै खुशी भयो । ऊ भने पहिलेदेखि नै भनि राख्थ्यो । हो । अब म पनि प्रेममा डुबेकी थिएँ । हुँदाहुँदा मेरो प्रेमको पागलपन उसको फोन कलमा अड्किन थाल्यो । उसले फोन गर्दा फुरुङ हुने नगर्दा रिसाउने ।
आफैलाई यो सबै कसरी भैरहेको छ भन्ने म स्पष्ट थिइँन । स्पष्ट जम्मा एउटा कुरामा थिएँ, म उसलाई प्रेम गर्थे । ऊ पनि भन्थ्यो– तिमीले मेरो प्रेममा शंका नगर । मेरो कुनै स्वार्थ छैन । ऊ च्याटमा होइन फोनमा बोली रहन चाहन्थ्यो । हामी बीचको सम्बन्धले उचाई छुँदै थियो ।
त्यही उचाईको धरातलमा टेकेर उ मलाई सोधी रहन्थ्यो– तिमी मलाई कति माया गर्छेउ ? हामीले समय पाए सँगै हामी त्यही भृकुटीमण्डपका चीसा गल्लीहरुमा डुलेर, चिया खाएर बिताउँथ्यौँ । मलाई उसका कुराले मोहित गर्न थालिसकेका थिए । तर म के कुरामा मोहित छु भन्नेमा स्पष्ट थिइँन ।
एकदिन फोनमा कुरा हुँदै थियो मलाई उसैको प्रश्न सोध्न मन लाग्यो– मलाई कति माया गर्नुहुन्छ ?
उसको जबाफ सफा र स्पष्ट थियो । दाँज्नलाई सजिलो पनि थियो । उसले भन्यो– तिम्रो आमा बाबाले भन्दा धेरै ।
मनमनै खुशी हुँदै सोधे– साँच्चै ?
अफकोर्स ।
जीवनको कुनै मोडमा लगेर छोड्ने पो हो कि ?
तिमीले छोड्यौ भने मात्र । तर तिमीले छोडेमा म त पागल हुन्छु । तिमी बीना म बाँच्न सक्दिन ।
अब हामीबीच प्रेम, बिगत, वर्तमान र भविष्यका आशा निराशाका कुरा हुन थालिसकेका थिए । त्यही बीच ऊ मलाई भेट्दा अंगालोमा बेर्ने र चुम्बन बर्साउन थालिसकेको थियो । के मैले उसका चुम्बनहरु स्वीकार गरिन ? मैले उसको चुम्बनमा आफूलाई बगाई सकेकी थिएँ । त्यसको अर्को दिन ऊ घर तीर लाग्यो । ऊ भन्दै थियो– मलाई आउन एक महिना भन्दा बेसी समय लाग्छ है ।
उसँगको भेटको अभावले मेरो जीवनमा ठुलो कुराको अभावको महशुस हुँदै थियो । फुर्सद हुने बित्तिकै फोन गथ्र्यो । हुन त उसले टाढा भएको महसुस हुन दिएन । प्रतिदिन उसले मलाई बढी नै माया देखायो । मैले उसलाई यतिन्जेल कुनै शंका गरिन । हुन त उसले शंका गर्ने ठाउँ पनि दिएन । अथवा भनौँ म नै उसको प्रेममा यति लठ्ठ थिएँ कि शंका गर्ने आवश्यकता नै महशुस भएन ।
म थुप्रै उमङ्गहरु बोकेर भेट्ने आसामा दिनहरु बिताइरहेँ । उसको स्मृतिले मेरो मष्तिष्क गाँजेको थियो । उ त्यहाँबाट पटक्कै हलचल गर्न सकेन । उसले आफ्ना कुराहरुमा मह घोलेर पिलाई रहेको थियो । हामी एक अर्काको मुटु छुन सक्थ्यौँ । यहाँसम्म हामीले ६ महिना बिताइसकेका थियौँ ।
अब उसका फोन, म्यासेज आउन बिस्तारै कम हुँदै गएको मैले महशुस गर्न थालेकी थिएँ । भोलिपल्ट बिहानै फोन गरेँ । उसले फोन काट्यो । बेलुका कुरा गर्न खोजेँ थोरै कुरा गरेर राखी दियो । हामी बीच धेरै कुरा हुन छोडेका थिए । उसको फोन बिजी हुन थालेको थियो ।
उसँगको कुराकानीमा आएको कमीले मलाई जरैदेखि हल्लाई दिएको थियो । धेरै दिनमा उसँग कुरा भएपछि मलाई अचानक रुन आयो । उसले सुनिरह्यो । तर केही पनि बोलेन । रोएको सुनेर उसले भन्यो– ‘यो केटीहरुको रुने बानी मलाई फिटिक्कै मन पर्दैन क्या, किन रुनु परेको ?’
त्यसपछि हाम्रो कुरामा कुरा गर्ने केही कुरा रहेन । यो सबै कुरा भाईलाई सुनाएँ । उसले भन्यो– दाई त्यस्तो मान्छे होईन । बिहेको कुरा पनि त भएको होईन । भाई पनि मेरो पक्षमा होइन उसैको पक्षमा थियो ।
फेसबुकमा उसलाई निकै म्यासेज गर्थेँ तर केवल निरासा हात लाग्थ्यो । मलाई अझै पनि उ माया गर्छ भन्ने लाग्थ्यो । म्यासेजको केही प्रतिक्रिया नआएपछि मैले उसलाई लगातार फोन गरी रहेँ तर त्यसमा पनि निराशा हात लाग्यो । म आफैमा केही खोट रहेको भन्दै आफैलाई दोष दिन थालेकी थिएँ ।
हिजो आजका मेरा दिनहरु उसको सम्झना भन्दा धेरै अगाडि निस्की सकेका छन् । उ कहाँ के गर्दैछ थाहा छैन । तर शायद आज पनि म उसलाई प्रेम गर्छु होला ।

मङ्लबार, मंसिर १९, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150