यसरी हुन्छ चितवनमा प्रचण्डको मर्निङवाक

सीताराम बराल
‘मर्निङ वाक त दाईसँग हिँड्नुपर्ने रहेछ क्या’ ग्लोबल कलेज अफ म्यानेज्मेन्टका बोर्ड अफ डाइरेक्टर समेत रहेका डा गंगाधर दाहालले अग्लिसकेको आफ्नो भुँडीमा प्याट्ट हान्दै भने, ‘दाई जसरी नै मर्निङवाकमा कुँद्ने हो भने मेरो भुँडीपनि एक महिनामै घट्दो हो।’ गंगाधर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सानीआमाका छोरा रहेछन्।
‘सँधै यसरी हिँड्न पाए पो, नाममात्र भएको छ मर्निङवाकको’ भाई गंगाधरलाई ‘प्रचण्ड’ ले जवाफ फर्काए, ‘दिन दिनै पार्टी प्रवेश कार्यक्रम राखिएको छ। हिँड्दाहिँड्दै ‘हामीपनि माओवादी केन्द्रमा प्रवेश गर्छाैं’ भन्दै टीका टाप्न आइपुग्छन्, मेरो मर्निङ वाक यस्तै पार्टी प्रवेश कार्यक्रमले खाइदिएको छ।’
१३ मंसीर। विहान पौने सात बजिसकेको थियो। विहानैदेखि जताततै वातावरणमा हुस्सु र तुवाँलोको राज थियो। मर्निङवाकका क्रममा प्रचण्ड भरतपुर महानगरपालिका–१४, बरबोटचोकमा पुगिसकेका थिए। त्यसैबेला प्रचण्डको फोनको घण्टी बज्यो। ‘लौ, लौ, त्यहाँ ठूलो समूह उपस्थित भइसकेको छ रे, ढिलो भइसक्यो रे’ फोन उठाएपछि प्रचण्डले भने, ‘छिट्टो पुग्नुपर्ने भयो।’
प्रचण्डले मर्निङवाक पुरा गर्न पाएनन्। लाहुरेचोकस्थित उनको निवासबाट गाडी बरबोटचोकमा आइपुग्यो, प्रचण्ड त्यसमा चढे। गीतानगरमा अनौपचारिक खालको चुनावी कार्यक्रम रहेछ। ‘लौ त है, यस्तै छ’ आजकल भन्दै, विदाईका हात हल्लाउँदै प्रचण्ड गीतानगरतिर हान्निए।
१३ मंसीरको दिन आधा घण्टामात्र उनीसँग मर्निङवाकमा रहेपनि अघिल्लो दिन (१२ मंसीर) भने करिव १ घण्टा प्रचण्डलाई मर्निङवाकमा पछ्याएको थिएँ।
000
प्रचण्डका काका बाबुराम दाहालले बरबोटचोकस्थित आफ्नो निवासमा अघिल्लै दिन मलाई सचेत गराइसकेका थिए, ‘मर्निङवाक’ मा सँगै हिँड्ने हो भने विहानै साँढे पाँच बजे नै लाहुरेचोक पुगिसक्नुपर्छ।’भोलिपल्ट विहान प्रचण्डका काकासँगै मपनि झिसमिसेमै प्रचण्ड निवास पुगेँ। त्यहाँ पुगेको १५ मिनेट पछिमात्र प्रचण्ड मर्निङवाकका लागि तयार भएर निस्किए। ढिलाईको कारण रहेछ, एमाले अध्यक्ष केपी शर्मा ओलीले विहानै गरेको फोन। यो कुराको खुलाशा प्रचण्डले दिउसो चितवन–३ मा पर्ने मेघौलीको चुनावी सभामा गरे।
त्यो सभामा प्रचण्डले भनेका थिए, ‘आज विहानै एमाले अध्यक्ष केपी शर्मा ओली र म बीच कुराकानी भयो, झण्डै आधा घण्टा। त्यो कुराकानीमा हामीले के निष्कर्ष निकाल्यौं भने, पहिलो चरणको निर्वाचनमा वामगठबन्धनले दुई तिहाई सिट जित्ने पक्का भइसकेको छ।’
दौडकै गतिमा प्रचण्डले मर्निङवाक गर्दा रहेछन्, नहिँड्ने मान्छेले उनलाई भेट्नै मुस्किल हुने। तीब्र गतिको हिँडाईको गतिका कारण उनको हिँडाईंमा ताल मिलाउनै गार्‍हो। यस्तै दौडाईका बीच मैले देशभरिको चुनावी माहोलका बारेमा उनको मुखबाट जान्न चाहें। उनले चुनावी अवस्थाका बारेमा छोटो विश्लेषण गरेः
अहिले देशभरि नै वामगठबन्धनको पक्षमा लहर आएको छ। सबैले त्यही भनेका छन्। यो चुनावमा धेरै ठाउँमा त जान सकिन। तर, जहाँ जहाँ गइयो, त्यही देखें। एमालेका साथीहरुको रिपोर्टिङपनि यस्तै छ।
त्यसपछि उनी आफ्नै क्षेत्रमा केन्द्रित भए। स्थानीय चुनावमा वडातहसम्म जित्नका लागि उम्मेदवारहरुले पैसाको खोलो बढेका कारण चुनाव महङ्गो हुँदै गरेको गुनासो गरे। जहाँ पुग्यो, त्यहाँ पैसा माग्न आउने व्यक्ति र समूहका कारण उनी हैरान भएका रहेछन्। भनेः
चुनावी परिपाटी त सार्‍है बिग्रेछ। यस्तो गरी बिग्रको होला भन्ने थाहा थिएन। स्थानीय चुनावमा एउटाले मासु ख्वायो। उसले मासु ख्वाएपछि अर्काेले खसी काट्यो। मासुको बदलामा दोस्रोले खसी काटेपछि तेस्रोले झन् ठूलो खसी काट्यो। यस्तो पो भइसकेछ चुनाव…।
मैले त के भन्या’ छु भने, भो बाबा, मलाई भोट नदेऊ, पैसाले भोट किन्नुपर्छ भने बरु म हार्छु भन्या’ छु। कोही कोहीले हामीसँग यति भोट छ, पैसा चाहियो भन्न आउँछन्। तिनलाई मैले भन्दिएको छु, भो त्यसो भए त्यो भोट मलाई चाहिएन। तपाईंहरुलाई पैसै चाहिएको हो भने त्यो गर्न म सक्दिन। पैसाले किनेको भोट मलाई चाहिएन।
त्यसपछि उनी मतिर फर्के। र, भने, ‘राष्ट्रिय लिडर आएर पनि अरुले जस्तो बिकृति फैलाएका छन्, त्यही गर्न थालियो भने देश त खत्तम भयो नि!’ यति भन्दा नभन्दै एउटा घर आइपुग्यो, बाटो बायाँतिर। घर निकै राम्रो थियो, पक्की थियो। गाउँको घर भएपनि घरलाई ठूलो बलियो पर्खालले घेरेको थियो। काका बाबुरामले भतिज प्रचण्डलाई त्यो घरको मालिकबारे जानकारी गराए, ‘आशबहादुर छैन? हो, यो उनैको घर हो।’
शिवनगरको लाहुरेचोकमा अड्डा जमाएर बसेकाले प्रचण्डलाई त्यो ठाउँ र त्यहाँका बासिन्दाबारे धेरथोर जानकारी भइसकेको रहेछ। त्यसैले सोधे, ‘भाईको हो कि ज्वाइँको हो ? काका– ‘हो, हो हरि तामाङको ज्वाइँको घर हो।’
त्यहाँबाट अघि बढेपछि एउटा मोड आइपुग्यो। आफ्नो निवासबाट दक्षिणतर्फ हिँडिरहेको प्रचण्डको टोली त्यो मोडबाट पश्चिमतिर लाग्यो। मोडबाट केही अघि बढ्नासाथ एकजना युवा भीड छिचोल्दै प्रचण्डको अघिल्तिर उभिए।
‘नमस्कार’
प्रचण्डले नमस्कार फर्काउनासाथ ती युवकले आफ्नो परिचय दिए, ‘म चेतन मामाको भाञ्जा।’ प्रचण्डले अँगालो हाले, ‘ए, के छ त खबर ?’ उनले सुबिस्तै रहेको बताए। हिँड्दाहिँड्दै प्रचण्डले उनीसँग कुराकानी गरे। २–३ मिनेटसम्म यसैगरी दौड चलिरह्यो।
मौन रहेरै हिँडिरहँदा एउटा ठूलो जग्गाको प्लट आयो। काकाले प्रचण्डलाई त्यो प्लट ‘उमानिधिको जग्गा हो’ भने। र, त्यहाँ अझै उनको १० विगाह जग्गा रहेको जानकारी गराए। प्रचण्डले आश्चर्य व्यक्त गरे, ‘ओ हो, यस्तो ठाउँमा अहिलेपनि १० विघा ? यो भनेको त धेरै पो हो त?’
काका– ‘पहिले–पहिले ५० विघा जग्गा भयो भने जमिन्दार भनिन्थ्यो क्यारे। त्यो भन्दा तल भयो भने जमिन्दार गनिन्थेन।’ त्यसपछि प्रचण्डले काकासँग अर्कै व्यक्तिको जग्गाका बारेमा सोधे। काकाले ‘डेढ दुई विघामात्र होला’ भन्ने जवाफ दिए। प्रचण्डले सोधे, ‘यहाँ कठ्ठाको कति भन्छन्, विघाको कति जान्छ ?’
काका– ‘सामान्यतया कठ्ठाको १५ लाख भयो। ३ करोडमा एक विघा जग्गा लिन सकिन्छ। अलि तल तल गयो भने अल्लि सस्तोमा पनि पाउँछ। तर १० लाख पर्छ। त्यस दरले विघाको २ करोड पर्ने भयो।’ प्रचण्डले मुन्टो हल्लाए। उनको ‘बडील्याङ्ग्वेज’ले के बताउँथ्यो भने, ‘जमाना फेरिइसकेछ। जग्गा धेरै महङ्गो भइसकेछ।’
अघि बढ्दै गर्दा एउटा सानो नहर आइपुग्यो। मैले सोधें, ‘के यो त्यही नहर हो, जसले तपाईंलाई कम्युनिष्ट बनाउने भूमिका खेल्यो ?’
शान्ति प्रक्रियामा आएपछि प्रचण्डले आफूमा राजनीतिक चेतनाको सुरुवात कसरी भयो, त्यसबारे बताउँदा गाउँको एउटा नहरको प्रसङ्ग निकालेका थिए। त्यो नहर उनको गाउँ शिवनगर–भीमसेननगर छिचोल्दै अघि बढ्थ्यो। त्यो नहरले कम्युनिष्ट पार्टीसँग जोडेको नाताबारे प्रचण्डले एउटा अन्तर्वार्तामा उल्लेख गरेका थिए।
खगेरी खोलाबाट आउने भएकाले त्यो नहरलाई ‘खगेरी नहर’ भनिन्थ्थ्यो। प्रचण्ड किशोर वयमा चढ्दै थिए। पञ्चायतको उत्कर्षकाल थियो। तर शिवनगरमा पञ्चायत इतर राजनीति प्रभावशाली थियो। गाउँमा पञ्चहरु पनि थिए। तर उनीहरुको भूमिका गाउँमा कांग्रेस र कम्युनिष्टलाई जुधाउने र आफ्नो शक्ति मजवुत बनाउने भन्ने हुन्थ्यो। त्यसैले, कांग्रेस–कम्युनिष्टहरु व्यवस्था विरोधी रहेपनि उतिसार्‍हो हस्तक्षेप गर्दैनथे।
प्रचण्डको गाउँ शिवनगरलाई खगेरी नहरले दुई चिरामा बाँडिदिएको थियो। नहरको माथिल्लो भागमा कांग्रेस समर्थकहरु ज्यादा थिए भने तल्लो भागमा कम्युनिष्टहरु। नहरमुनि पनि कांग्रेसका नेताहरु नभएका होइनन्, तर कम्युनिष्टहरुको बाहुल्यता थियो। प्रचण्डको घर नहरमुनि पथ्र्याे। कांग्रेस–कम्युनिष्टबीचको द्धन्द्धको मुख्य कारण थियो, शिवनगरमा रहेको रहेको गौचरन।
जव २०१४ मा चितवनमा पुनर्वास कार्यक्रम लागू भयो, त्यस अन्तर्गत बसोबासका लागि खुलेको बस्तीको बीचमा ठूल्ठू्ला प्लट जग्गाहरु खालि राखिए। त्यसलाई गौचरन भनिन्थ्यो। किसानहरुलाई गाईवस्तु चराउन सजिलो होस् भनेर त्यसो गरिएको थियो। तर वस्ती विस्तारसँगै गौचरनको जग्गा मिचिन थाल्यो। सुरुमा स्कूल, मन्दिर आदिका नाममा गौचरनको जग्गा कब्जा भयो। हुनेखानेहरुले विभिन्न बहानामा गौचरनका लागि छुट्ट्याइएको जग्गा कब्जा गरेका थिए। पछि त्यहाँ पहाडबाट झरेका सुकुम्वासी पनि आएर बस्न थाले।
गौचरनमाथि भएको अतिक्रमणको विषयलाई लिएर शिवनगरवासीहरु दुई समूहमा विभाजित भए। त्यसले राजनीतिक रुप समेत ग्रहण गर्‍यो। एउटा समूहले गौचरनको जग्गा सुकुम्वासीले अतिक्रमण गरेको बताउँदैउनीहरुलाई त्यहाँबाट हटाउनुपर्ने माग गर्‍यो। यो पक्षको तर्क के थियो भने, ‘वस्तुभाउ चरनका लागि गौचरन बनाइएको हो। त्यहाँ सुकुम्बासीका नाममा मानववस्ती बसाल्न पाइँदैन।’ यस्तो माग र तर्क गर्नेहरुमा कांग्रेस समर्थकहरु थिए।


अर्काे समूहले सुकुम्बासीलाई त्यहाँ बस्न दिनुपर्ने माग गर्‍यो। उनीहरुको तर्क थियो, ‘जग्गा मिच्नेहरुले चाहिँ अनेक नाममा मिचिरहेका छन्। हुनेखानेहरुले यसरी विभिन्न नाममा गौचरनको जग्गा मिच्दा केही नगर्ने, बरु अनेक तर्क निकालेर बचाउ गर्ने। सुकुम्बासीहरु आएर बस्दा चाहिँ उठीबास लगाउने कुरा गर्ने? साँच्चिकै गौचरन जोगाउने हो भने विभिन्न नाममा मिचिएका जग्गापनि फिर्ता गर्नुपर्छ।’ सुकुम्बासीहरुको पक्षमा बोल्नेहरु कम्युनिष्ट थिए।
जब कम्युनिष्टहरु सुकुम्बासीहरुको पक्षमा र कांग्रेस समर्थकहरु विपक्षमा छन् भन्ने किशोर वयमा लम्कँदै गरेका प्रचण्डले थाहा पाए, त्यसपछि प्रचण्डमा पनि कम्युनिष्ट पार्टीप्रति आकर्षण जाग्यो। यसरी प्रचण्डको राजनीतिक पक्षधरता निर्धारणमा त्यो नहर निर्णायक बन्यो।
मर्निङवाकको रुटमा भेटिएको नहरको आडैमा पुगेपछि मैले त्यो नहरको प्रसङ्ग उप्काएँ, प्रचण्डले भने, ‘हुन त त्यो नहर यही हो। तर यो शाखा नहरमात्र हो। मुख्य नहर अलिक माथि छ। गाउँ विभाजित भएको यो ठाउँमा होइन, मेरै गाउँमा हो।’
नहरसँगै जोडिएको राजनीतिक जीवनको प्रसङ्गले प्रचण्डलाई रोमाञ्चित बनाइसकेको थियो। उनले पुरानो घटनाबारे थप बताउन थाले, ‘कम्युनिष्टहरुका नेता चाहिँ नहरमुनि अल्लि धेरै थिए। त्यसैले तिनीहरुको प्रभाव नहरमुनि बढ्दै गएको थियो। कांग्रेसका धेरै नेता–समर्थक नहरमाथि थिए। मेरो घर नहरमुनि पथ्र्याे। त्यसैले ममा पनि कम्युनिष्ट राजनीतिको प्रभाव पर्‍यो।’
चितवनको मलिलो भूमिमा खगेरी नहरको पानीका कारण प्रसस्त धान र अन्न फल्थ्यो। कास्कीको ढिकुरपोखरी, लेवाडेबाट २०१९ फागुनमा चितवन झर्दा प्रचण्डका बाबु मुक्तिराम दाहालले साँढे दुई विघा जग्गा किनेका थिए। मेला–पर्म बाहेक मुक्तिरामको आम्दानीको मुख्य स्रोत त्यही थियो। मिहिनेती मुक्तिराम मंसीरमा धान थन्क्याएपछि चामल बोकेर बेच्न नारायणगढ पुग्थे।
उनी कहिलेकाहीँ चामलको भारी प्रचण्डलाई पनि बोकाउँथे र नारायणगढतिर लाग्थे। त्यसैक्रममा एकदिन घटेको एउटा घटनाले प्रचण्डमा वर्गीय भावना उब्जाइदियो।
त्यो घटनाको स्मरण प्रचण्डले यसरी गरे:
मंसीरमा धान थन्क्याइन्थ्यो। पछि धान कुटेर चामल नारायणगढ लगेर बेच्ने चलन हुन्थ्यो। हाम्रो घरमा साइकल थिएन। गाढा पनि थिएन। बा धान–चामल बोकेरै नारायणगढसम्म पुग्नुहुन्थ्यो। आम्दानीको स्रोत भनेको त्यही धानचामल थियो। त्यो बेचेर कपडा–सपडा किन्ने भन्ने हुन्थ्यो।
म सानै थिएँ। एकदिन बाले चामल बेच्न जाने भनेर मेरो पिठ्युँमा चारपाथी चामल बोकाइदिनुभयो। बाले त अझ धेरै बोक्नु भएको थियो। बा दुई पैसा भएपनि बढि कहाँ पाइन्छ भनेर नारायणघाट बजारभरि घुम्ने। बरु दिनभरि भारी बोकेर बजार घुमिरहने। तर सकभर २–४ पैसा बढिमा बेच्ने भन्ने।
म त सानो केटो। शिवनगरदेखि चामल बोेकेर नारायणगढसम्म पुगेको छु। हिँड्न सकिरहेको थिइन। थकाईले लखतरान परिसकेको थिएँ। बा कुन चाहिँ साहुले बढि पैसामा आफ्नो चामल किन्छ भनेर घरघरै चाहारिरहनु भएको थियो।
त्यसरी हिँडेपछि बाले मोलमोलाई गर्नु स्वभाविक हो। किनभने, कुन साहुकहाँ आफ्नो चामल अल्लि धेरै मोलमा बेच्न सकिन्छ भनेर उहाँले त्यो दुख मोल्नु भएको थियो।
तर मोलमोलाईको क्रममा एउटा साहुले बालाई नराम्रोसँग गाली गर्‍यो। बाले केही गल्ती गर्नुभएको थिएन। ‘यति पैसा भएमात्र दिन्छु, नत्र दिन सक्दिन’ भन्नु भएको थियो। तर त्यसले अपमानित नै गर्ने गरी बालाई हप्कायो। त्यो बेला १२–१३ वर्षको थिएँ हुँला। यो गौचरनको विषयलाई लिएर द्धन्द सुरु हुनुभन्दा केही वर्षअघिको घटना हो।
पुरानो प्रसङ्गले रोमाञ्चित बन्दै गर्दा प्रचण्डको पाइलाको गति अझ तीब्र बन्न थालेको थियो। काकाले अब प्रचण्डलाई रोक्न चाहे, ‘धेरै भयो, अब फर्किने हो कि ?’ ‘अलिक अगाडिसम्मै जाऊँ क्यारे आज’ प्रचण्डले भने।
सिनेमा निर्माणमा काम गरिरहेका एकजना व्यवसायिक भिडिओ ग्राफरपनि प्रचण्डको मर्निङवाक यात्रामा थिए। प्रचण्डले उनीसँग सिन्धुपाल्चोकको चुनावी अवस्थाबारे सोधे। दुईदिनअघि मतदान गरेरउनी सिन्धुपाल्चोकबाट चितवन झरेका हुन् भन्ने प्रचण्डलाई थाहा भइसकेको रहेछ।
उनले सिन्धुपाल्चोकको चुनावी अवस्थाबारे जानकारी गराए। (मौन अवधिमा निर्वाह गर्नुपर्ने निर्वाचन आचार संहितका कारण त्यो कुराकानी यहाँ उल्लेख गर्न मिलेन।)
अघि बढ्दै गर्दा एउटा चोक आइपुग्यो। त्यो भरतपुर–१५ अन्तर्गत पर्ने मिलडाँडा रहेछ। चोकमा पुगेर प्रचण्ड फर्कनै के लागेका थिए, एक महिला आफ्नो घरबाट निस्किन्। नमस्कार गर्दै उनले प्रचण्डलाई भनिन्, ‘जय नेपाल। म लक्ष्मी सापकोटा। मेरो घर यहीँ हो।’प्रचण्डले पनि ‘जयनेपाल’ भन्दै नमस्कार फर्काए। ती महिलाको अभिवादनबाट प्रष्टै बुझ्न सकिन्थ्यो कि, उनी कांग्रेस समर्थक हुन्।चितवन–३ मा प्रचण्ड आएकोमा उनले धन्यवाद दिइन्। भनिन्, ‘यस्तो बेलामा पनि हाम्रो गाउँमा आउनुभयो। तपाईंलाई धेरै-धेरै धन्यवाद छ।’
९ दिनअघिमात्र प्रचण्डले एकमात्र पुत्र प्रकाशलाई गुमाएका थिए। सापकोटाको संकेत यसैतर्फ थियो। उनले थपिन्, ‘त्यस्तो हुँदा पनि यति शान्त भएर आउनु भयो, जो कोही मान्छे यस्तो अवस्थामा हाम्रो घरआँगनमा आउन सक्दैन। तर तपाईं आउनुभयो…।’
प्रचण्डले भने, ‘अव धैर्य गर्नुको विकल्प मसँग छैन।’ लक्ष्मीले प्रचण्डको हात समाइन्। त्यो छोटो कुराकानीलाई बिट मार्दै, प्रचण्डलाई विदाई गर्दै भनिन्, ‘ढुक्क भएर जानुस्। तपाईंलाई हाम्रो सहयोग हुन्छ।’
यो प्रसङ्गले प्रचण्ड भावुक बनिसकेका थिए। लक्ष्मीसँग उनी धेरै बोल्न सकेनन्। उनले यत्तिमात्र भने, ‘चितवन आएको छु, यहाँ विकासको बाहेक अरु मुद्दा छैन।’
०००
जुन बाटो त्यहाँसम्म पुगिएको थियो, प्रचण्ड त्यही बाटोबाट फर्के। मिलडाँडा नजिकै दायाँतिर एउटा सुकुम्बासी वस्ती रहेछ। त्यसलाई पनि गौचरन नै भनिँदो रहेछ। त्यहाँ सुकुम्बासीहरु प्रचण्डको स्वागतमा फूलमाला लिएर बसेका थिए। प्रचण्डको स्वागतमा सानो कार्यक्रम पनि आयोजना गरिएको रहेछ।
कार्यक्रममा आयोजकहरुले आफ्नो समस्या समाधानका लागि प्रचण्डलाई खोज्दै हिँडेको बताए। उनीहरुले आफूहरुले बर्षौंंदेखि लालपूर्जा नपाएको दुखेसो पनि प्रचण्डसँग गरे। जवाफमा प्रचण्डले भने, ‘मलाई लज्जित बनाउनुभयो। खासमा तपाईंहरुलाई खोज्नुपर्ने दायित्व मेरो हो। किनभने म यहाँको उम्मेदवार हुँ। यस्तो बेला मैले तपार्इंलाई खोज्नुपर्ने, तर तपाईंहरुले मलाई खोज्नुभयो।’उनले शिवनगरको गौरचनमा सुकुम्वासी बस्न दिने नदिने सम्बन्धमा भएको संघर्षबारे सुनाए। र, त्यो द्धन्दमा आफूले सुकुम्बासीहरुलाई साथ दिएको, त्यही घटनाका कारण आफू राजनीतिमा आएको जानकारी पनि गराए। त्यो सानो कार्यक्रम सकिनासाथ प्रचण्डले आफ्नो हातको घडी हेरे। विहानको साँढे ७ बजिसकेको थियो।
प्रचण्ड आत्तिए, ‘ओ हो, आज धेरै ढिलो भइसक्यो। हिँड्नुपर्छ है अब चाहिँ।’
मर्निङवाक सुरु गर्दा प्रचण्डका पाइला जुन रफ्तारमा थिए, फर्कंदा पाइलाको रफ्तार झण्डै दोब्बर थियो। यसबाट बुझ्न सकिन्थ्यो कि, उनलाई निकै हतार भइसकेको छ। गाडी नै मगाएर फर्कने हो कि भन्ने कुरापनि चल्यो। तर प्रचण्डले ‘आज हिँडेरै पुगौं’ भने।
फर्कंदै गर्दा मैले प्रचण्डसँग सोधें, ‘दिनमा कति समय मर्निङवाक गर्नुहुन्छ ?’
‘गर्नुपर्ने त ४० मिनेटदेखि १ घण्टासम्म हो। तर, भनेजत्ति समय कहाँ पाइन्छ र ?’ प्रचण्डले भने, ‘देखिहाल्नुभो, बाटो–बाटोमा मानिसहरु भेटिरहन्छन्। उनीहरुसँग बोल्नै पर्‍यो, उनीहरुको कुरा सुन्नै पर्‍यो। त्यसैले साँच्चिकै हिँडाई त आधा घण्टा हुन पाउँदैन।’ नेपालखवर 

बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150