निर्वाचनपछि समाजवाद उन्मुख अर्थतन्त्र – राष्ट्रपति भण्डारी

बागलुङ, २० मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनपछि देश सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्ने भन्दै सबैलाई आफ्नो अमुल्य मतको प्रयाग गर्न आह्वान गरेकी छिन्।
बिहिबार ४५ जिल्लामा दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभाका लागि निर्वाचन हुनुअघि बुधबार साँझ मतदाताका नाममा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले ‘निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न’ आह्वान गरेकी हुन्।
‘प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक रहेको छ’, राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ, ‘निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरी संवैधानिक प्रावधानबमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्नेछ भन्ने मलाई विश्वास लागेको छ।’
सन्देशमा भण्डारीले निर्वाचनले नेपाली जनताको लोकतान्त्रिक हक र अधिकारको पूर्ण प्रत्याभूति गर्ने जनाउँदै माघ ७ गतेभित्र संघीय संरचनाअन्तर्गतका सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था संविधानले गरेको स्मरण गराएकी छिन्।
‘यो निर्वाचनमा सहभागी हुनु केबल संविधानले दिएको जनप्रतिनिधि छान्ने हक र जनतामा निहित सार्वभौम अधिकारको प्रयोग मात्र नभइ आर्थिक सामाजिक रुपले समृद्ध नेपाल निर्माणको दिशामा ठोस योगदान गर्नुसमेत हो’ भन्दै भण्डारीले सन्देशमा नेपालको संघीय संरचनाअनुसार हुने निर्वाचनमा उत्साह, उमंग तथा उल्लासमय रुपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउन अनुरोध गरेकी हुन्।

बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150