डा.गोविन्द केसीलाई अब फाँसी दिनुपर्छ

ओमप्रसाद घायल

यो वेमानहरूको देश हो
तर यही बेमान कचहरीमा बसेर
तिमीले बारम्बार इमानको कुरा गर्यौ
तिमीले निरन्तर स्वाभिमानको कुरा गर्यौ
‘कानो देशमा गए आँखा चिम्लिनु र
लँगडो देशमा गए खुट्टा उचाल्नु’ भन्ने उखान छ
तर तिमीले देश अनुसारको भेष गर्न जानेनौ
डा. केसी त्यसैले त समातियौ
****** ****** ********
यहाँ त चोरलाई चोर भन्योभने अपराध लाग्छ
यहाँ त देखेर पनि देख्नुहुँदैन
न्याय दिनेहरूले अन्यायनै गरेपनि बोल्नुहुँदैन
किनकि न्यायलयमा बस्नेहरू
हाम्रा न्यायमूर्तीहरू हुन्
उनीहरूलाई भगवान सरह पुज्नुपर्छ
त्यसैले त उनीहरुले अन्याय गरेपनि सहनुपर्छ
तर तिमी पागल
तिमीले नबोल्ने कुरा बोल्यौ
तीनकरोड जनताको सरोकारको कुरा छोडेर
तिमीले यो देशका
तीनसय सम्भ्रान्त खलकको पैरवी गर्नुपर्थ्यो
तर तिम्रो दिमाख खुस्कियो
तिमीले आफैलाई यातना दिएर
दर्जनौपटक अनशन बस्यौ
हटेनौ कसैसँग बरू डट्यौ
झुकेनौ कसैसँग बरू झुकायौ
तिम्रो त्यही इमानको बदलामा
तिम्रो त्यही स्वाभिमानको बदलामा
तिमीले भुक्तान गर्नुपर्यो यो सजायँ !
**** ****** ******
आफ्नो पतिबाट अवहेलना भइ
त्यही अदालतमा अंश मुद्दा लडेकी एक अवला
अदालतको ढोका धाउँदा धाउँदा
उसको सम्पत्ति सकिन्छ
उसको जिन्दगी सकिन्छ
तर त्यही न्यायलयले उ मरेको पाँच बर्षपछि फैसला सुनाउँछ ।
आह ! हाम्रो सम्मानित न्यायलय र यहाँका न्यायमूर्तीहरू
जसको बिषयमा बोल्ने
र प्रश्न उठाउने
तिमीनै हौ माफिया ग्याँङका लिडर
तिमी नै हौ अपराधी
तिमी त एक पागल
ए डा. गोविन्द केसी !
तिमीलाई त अब फाँसी दिनुपर्छ ।

मङ्लबार, पुस २५, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री