म्यानमार सेनाद्वारा रोहिंग्या मुसलमानको हत्यामा संलग्नता स्वीकार

एजेन्सी, २७ पुस – म्यानमारको सेनाले रखाइन प्रान्तमा भड्किएको हिंसाको क्रममा रोहिंग्या मुसलमानको हत्या गरेको स्वीकार गरेको छ । यसअघि रोहिंग्याको हत्यामा आफूहरुको संलग्नता अस्वीकार गर्दै आएको म्यानमारको सेनाले पहिलो पटक हत्या तथा ज्यादतीमा आफूहरु संलग्न रहेको स्वीकार गरेको हो ।
तर सबै घटनामा नभइ एक घटनामा मात्रै आफूहरुले रोहिंग्या मुसलमानको हत्या गरेको म्यानमारको सेनाले दाबी गरेको छ । सेनाका अनुसार इन दिन गाउँमा १० जनाको हत्या भएको र त्यसमा चार सुरक्षाकर्मी सामेल रहेको पाइएको छ । सेनाले जारी गरेको प्रतिवेदनमा चार सुरक्षाकर्मीले प्रतिशोधको रुपमा १० जनाको हत्या गरेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा मारिएकालाई बंगाली आतंकवादीको सज्ञा दिइएको छ भने आग्रमणमा स्थानीय बासिन्दाले सहयोग गरेको दाबी गरिएको छ । म्यानमारको सेनाले रोहिंग्या चरमपन्थीका लागि बंगाली आतंकवादी शब्द प्रयोग गर्ने गर्छ । म्यानमारमा रोहिंग्या मुसलमानमाथि ज्यादती हुँदै गएको छ ।
गएको अगस्टदेखि रोहिंग्याको बसोबास रहेको रखाइन प्रान्तमा हिंसा भड्किएको छ । हिंसाको क्रममा रोहिंग्या मुसलमानमाथि आम नरसंहार गरेको आरोप म्यानमारमाथि लाग्ने गरेको छ । गएको अगस्टदेखि अहिलेसम्म साढे ६ लाख रोहिंग्या मुसलमान छिमेकी देश बंगलादेशमा विस्थापित भएका छन् । बुद्धिस्ट समुदायको सहयोगमा सेनाले आफूहरुको घर जलाउने तथा सर्वसाधारणको हत्या गर्ने गरेको रोहिंग्याको आरोप छ ।

बिहिबार, पुस २७, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री