‘पाइनँ खबर’ गीत सुनेर आमाहरुले चारसय दिए

हरिदेवी कोइराला लोकप्रिय गायिका हुन्। उनका सयभन्दा बढी लोक तथा दोहोरी एल्बम सार्वजनिक छन्।  उनले अधिकांश गीत आफ्नै लय र शब्दमा गाएकी छन्। ‘पाइनँ खबर’ उनको पहिलो र सर्वाधिक रुचाइएको लोकगीत हो। 
हरिदेवी कोइराला
मलाई सानैदेखि गीत–सङ्गीत र साहित्यले मन छुन्थ्यो। चौध वर्षको हुँदा पहिलो पटक मेरो कविता छापियो। त्यही बेलादेखि गाउँघरका सांस्कृतिक कार्यक्रममा गाउन पनि थालेँ । तर गीत रेकर्ड गर्नेतिर सोचाइ गएकै थिएन। मेरो गाउने लेख्ने रुचि देखेरै होला, पोखरा बाटुलेचौरका कुलबहादुर केसी र लमजुङका देवी गुरुङले मलाई ‘तिमीले जसरी पनि गीत रेकर्ड गर्नुपर्छ’ भनेर हौस्याउनुभयो। बेलाबेला अरु साथीसँगीले पनि ‘गीत रेकर्ड गर’ भन्थे । तर ममा भने आत्मविश्वास नै थिएन।
तिबेला पोखराबाट काठमाडौं धाएर गीत रेकर्ड भर्ने काम झञ्झटिलो थियो । तर सबैले भनेपछि एकपटक प्रयास किन नगरुम् भन्ने लाग्यो । मेरा गीत अरुलाई मन परेनन् भने पनि ठीकै छ, मै सुनम्ला भन्दै रेकर्ड गराउन काठमाडौं जान तम्सिएँ।
२०४१ सालमा मैले संकलन गरेका रचनाहरूमध्येबाट ८ ओटा गीत छानेँ । ती सबैमा लय र शब्द सङ्कलनको काम पनि मेरै थियो। ०४२ सालमा भीमसेनस्थानको एउटा सामान्य स्टुडियोमा मैले ती गीतहरू गाएँ । नाम बिर्सेको छैनँ भने राजु मानन्धरको भर्‍याङमुनिको त्यो अध्याँरो स्टुडियोमा मैले एक बिहान ४ र अर्को बिहान फेरि ४ गरी सबै रेकर्ड सकाएँ । मेरा सबै गीत गण्डकी–धौलागिरि क्षेत्रको लोकभाकामा आधारित छन्। यी गीतहरू हार्मोनियम, सारङ्गी र मादलको भरमा तयार गरियो । लोकगायक प्रेमराजा महत मेरो श्रीमान् रामबहादुर कोइरालाको मामा पर्नुहुन्छ । गीत रेकर्डिङको काममा मैले वहाँको सुझाव र साथ पाए।
मेरो श्रीमान् कृषि विकास बैंकको जागिरे हुनुहुन्थ्यो । उहाँको कामकै सिलसिलामा म पनि लमजुङमै बसेँ । त्यहीँको क्याम्पस भर्ना भए । लमजुङमा गुरुङ जातिको बाहुल्य थियो । गुरुङ गाउँमा आइजाइ हुन्थ्यो । आउँदा जाँदा उनीहरूको समाज र संस्कृतिबारे धेरै कुरा जानियो । त्यहाँ लाहुर जाने प्रवृत्ति बढी थियो । भागेरै भए पनि जिन्दगीमा एकपटक लाहुर जानु पर्छ भन्ने मान्यता हावी थियो । उनीहरूको प्रभावले हो कि, हाम्रा काका, दाइ पनि लखनऊ, बम्बई जस्ता भारतीय सहर जान मरिहत्ते गर्थे ।
मैले ‘पाइनँ खबर’ गीत यही यथार्थमा भावना मिसाएर तयार पारेको हुँ । म साहित्यमा रुचि भएको मान्छे हुँ । देखेका सुनेका मर्मस्पर्शी घटनाहरूले दिमागमा बिम्ब बनाउँथ्यो । घरमा छोरो कहिले फर्केला भनेर कुरिरहेकी वृद्ध आमाको आँसुले पोल्थ्यो । भर्खरै बिहे भएर राम्ररी अनुहारसमेत देख्न नपाएकी श्रीमतीको वेदनाको रापले झोस्थ्यो । अनि, कलिला नानीहरूका ‘आमा ! बाबा खै ?’ भन्ने प्रश्नले काँडा बनेर घोच्थ्यो । पराई भूमिमा तात्तातो विदेशी गोली खाने नेपाली ज्यान सम्झेर कहाली छुट्थ्यो । मेरो मनोविज्ञानलाई यी सबै कुराले प्रभाव पारिरहेको थियोजस्तो लाग्छ । त्यही भएर मेरो गीतमा पनि यही विषय मुखर बन्यो।
‘पाइन खबर’को रेकर्ड सकाएर म आफ्नै दैनिकीमा फर्किएँ । लमजुङमै थिएँ । गीत सार्वजनिक भएर निकै हल्लाखल्ला भइसकेको रहेछ । तर मैले झन्डै दुई महिनापछि मात्र यसबारे चाल पाएँ । क्यासेट कति निकालियो, कति छापियो यसबारे कुनै वास्तै भएन । तर मेरा गीत यति धेरैले डबिङ गरेर सुनेछन् कि यसको आर्थिक पाटोको कुनै लेखाजोखा नै छैन । यो गीतमा महिलाको पीडा छ । यो गीत चर्चित भएपछि गीत गाउने गायिका अर्थात् मेराबारे पनि अनेक हल्ला चले । ‘हरिदेवीले यो गीत परदेश गएका श्रीमान्लाई सम्झेर लेखेकी हुन्’ भन्ने धेरैले अनुमान गरे । कतिपयले ‘कठै बरा !’ पनि भने ।
‘पाइन खबर’को चर्चा चल्नासाथ एउटा घटना सधैं सम्झन्छु । कर्मचारी मिलन केन्द्र लमजुङले मेरो कविताको सम्मानमा एउटा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा गुरुङ समुदायका आमाहरू पनि आउनुभएको थियो । बेसीसहरमा भएको त्यो कार्यक्रममा मैले ‘पाइन खबर’ गाएपछिको माहोल गम्भीर बन्यो । आमाहरूका आँखा भिजे, मेरो गला अवरुद्ध भयो । आमाहरूले मलाई आफ्नै समाजको कथा व्यथालाई गीत बनाएको भनेर सराहना गर्नुभयो । मायास्वरूप मलाई सबैले माला लगाइदिए । कसैले रु १, कसैले २, केहीले ५ सम्म दिए । त्यसबेलाका लागि त्यो ठूलो रकम थियो । झन्नै, ३—४ सय उठ्यो । अन्तमा मैले सबै रकम सामाजिक रूपमा उपयोगी होस् भनेर अस्पताललाई दिएँ।
एउटा रोचक प्रसङ्ग छ । यसपछि निस्किएको ‘के सिन्दूर पहिरिएछु धर्मछाडाको’ भन्ने गीतलाई धेरैले ‘पाइनँ खबर’सँग जोडे । पहिलो गीत सुनेर धेरैलाई मेरा श्रीमान् विदेशमा हुनुहुन्छ भन्ने भान परेको थियो । ‘के सिन्दूर पहिरिएछु धर्मछाडाको’ सुनेपछि त विदेशबाट फर्केर श्रीमान्ले अर्कैसँग बिहे गरेछन् । हरिदेवीको जीवनमा सौता पसेपछि यो गीत गाउनु परेको भनेर फेरि ‘कठैबरा’ भन्नेहरू बढे । हुँदाहुँदा घरमै आएर सोध्न थाले । आफन्तहरूले पनि टीकाटिप्पणी गरेको सुनियो । जवाफ दिँदादिँदा हैरान भएँ । एकातिर रमाइलो लाग्थ्यो, अर्कोतिर दिक्क।
जे होस्, गीत गाएपछि श्रोताले गीतमा भनिएका शब्दलाई कसरी गाउने मान्छेकै जीवनसँग जोड्छन् भन्ने कुरा यी दुइटै गीतले मज्जाले बुझायो । ‘पाइनँ खबर’का श्रोताहरू अझै भेट्छु र दंग पर्छु । गाउँदेखि विदेशसम्म बस्नेहरूलाई यो आफ्नै कथाजस्तो लाग्दोरहेछ । यो मेरो सार्वजनिक भएको पहिलो गीत हो र मलाई चिनाउने गीत पनि यही भएको छ।
गीत पाइन खबर

स्वर/सङ्कलनः हरिदेवी कोइराला

घरको मालिक परदेशमा गएको, धेरै भयो क्यै खबर न’पाको
पाइन खबर, घर फर्की आउनुहोस्, मेरो हजुर!

घरको व्यवहार थाहा छँदै थियो नि, लियो साहुले त्यै टुक्रो खेत पनि 
पाइन खबर, घर फर्की आउनुहोस्, मेरो हजुर!

रोगी आमा साह्रै मो रोएको, लाउला पाप दशधारा दुध ख्वाको
पाइन खबर, घर फर्की आउनुहोस्, मेरो हजुर!

लाउँदिन भो मखमली त्यो चोली, मर्छु क्यारे हृदय नखोली
पाइन खबर, घर फर्की आउनुहोस्, मेरो हजुर!

सन्चै छौ कि बिसन्चो भयो कि, तातो गोली छातीमा लायो कि
पाइन खबर, घर फर्की आउनुहोस्, मेरो हजुर!

उमेर मेरो साह्रै नै छ कच्चा, कसो गरी पालुँला बालबच्चा
पाइन खबर, घर फर्की आउनुहोस्, मेरो हजुर!

फरालेर मरौँ कि बरु, बालबच्चा सानै छन् के गरुँ
पाइन खबर, घर फर्की आउनुहोस्, मेरो हजुर!

दही भनेर राखेको चौलानी, घर सम्झेर फर्क है मौलानी
पाइन खबर, घर फर्की आउनुहोस्, मेरो हजुर!

यो मुटुलाई चरचरी चिरी, त्यै रगतले लेख्दैछु यो चिठी
पाइन खबर, घर फर्की आउनुहोस्, मेरो हजुर!

यहीँ खनौँला गैँची र कोदाली, खाउँला बरु खोलेमा नुन हाली
पाइन खबर, घर फर्की आउनुहोस्, मेरो हजुर!

प्रस्तुतिः प्रभाकर गौतम

शनिबार, पुस २९, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री