नेपाल र नेपालीको यथार्थ चित्रण

संजिव बोहरा आभाष
हरियाली डाँडाकाँडा र हिमश्रृंखलाहरुमा अवस्थित अनि मोहित र लालाहित बनाउने यो देश हो नेपाल । विश्वले शान्तिमय देश भनेर चिन्ने यो देश हो नेपाल । कहिल्यै नडगमगाउने सगरमाथाले चिनाएको देश हो नेपाल । शान्तिका अग्रदुत भगवान बुद्धले विश्वभरि शान्तिको विगुल छरेको देश हो नेपाल । जल सम्पदाले धनी देश हो नेपाल अनि यो देशलाई माया गर्ने हामी नेपाली तर आज यो देशको दुर्दशा यो देशले भोग्नुपरेको पिडा यो देशमा फैलिएको हिंसा, अशान्ति, अत्याचार, दमन, शोषण यही देशमा भित्रिएको यो अराजकता, कुर्सीको लागि दौड धुप गर्ने नेता, मन्त्रीहरु यो देशको मुहार फेर्छौ भनेर भाषण छाँट्ने नेताहरु, महिना महिनामा विदेशी निम्तोमा विदेश भ्रमणमा जाने नेता, मन्त्रीहरु यो देशलाई दुरदर्शतामा धकेलिरहेको यो अवस्था । बलात्कृत नेपाली महिलाको पीडा, दलितले पाएको उपहास, नेपालीहरुले भोग्दै आएको यथार्थ चित्रण, अनि मुकदर्शक बनेर हेरेको सरकार ।
सबैभन्दा पहिला नेपाललाई बुझ्ने चेष्टा गर्ने कि ! भैसकेका, भएका र हुनेवाला मन्त्रीज्यूहरु ! नेपाललाई पढ एकचोटी, नेपाल कुन स्थानमा कहाँ छ भनेर पनि विश्लेषण गर तिमीहरु । विदेश भ्रमणमा जानुका कारण आफुले आफुलाई सोध । अनि हेर, ति देशहरुलाई, त्यो देशले गरेको विकासका उन्नतीलाई, अनि हाम्रो देश कहाँ छ भनेर पछाडी फर्केर दाँज एकचोटी, सिक उनीहरुबाट कि उनीहरुको देश जस्तै नेपाललाई विकासोन्मुख देश कसरी बनाउन सकिन्छ । अब कुन तरिकाले ति देशहरु भन्दा राम्रो बनाउन सकिन्छ भनेर । विदेशबाट आएको सहयोग जसको जथाभावी दुरुपयोग भैरहेको अवस्था छ । जुन सहयोगलाई ठीक ठाउँमा सदुपयोग गर्ने हो भने कति समस्या हल हुन सक्छ बुझ्न जरुरी छ । नेपाल गरिव छैन गरिव बनाइएको छ भन्नेमा ध्यान जाओस् । भ्रष्टचारले सिमा नाघेको हाम्रो देशमा भ्रष्टचार हुन दिने छैनौ भनेर जनमानसमा कुर्लनु अघि आफ्नो अनुहार एकचोटी ऐनामा हेर्नु राम्रो होला कि । यहाँ रातारात सिमा मिचिन पुग्छन् सिमा स्तम्भहरु हराउन पुग्छन् आफ्नै नेपाली भूमीको अस्मितामाथि खेलवाड गर्दा पनि चुप लागेर बस्ने तिमीहरु के–को सिमा मिच्न दिने छैनौ भनेर कुर्ली कुर्ली भाषण गर्छौ भाषणले मिचिएका सिमाहरु फिर्ता हुँदैनन् । यसलाई त भुक्ने कुकुरले टोक्दैन भन्ने आशय दिन पुग्छ ।
आज हाम्रो देशमा अरु देशबाट आएका हतियारधारी समूह भित्रिरहेको अवस्था छ । नेपाली भूमीमा अड्डा जमाएर बसेका पनि छन्, नेपाली चेलीबेटीमाथि हात पात गरिएका छन् कस्तो दुर्भाग्य दिनानुदिन बलत्कारको सिकार बन्न पुगेका ति नेपाली महिला, ति चेलीबेटीहरु, सोंच ! ति बलात्कृत चेलीबेटीहरु को हुन भनेर, नेपाल आमाको गर्भबाट जन्मिएका ति महिला चेलीबेटीहरु तिमी हाम्रा दिदीबहिनी हुन् । आफ्नै दिदीबहिनीको अस्मितामाथि खेलवाड गर्दा पनि नदेखे जस्तो गर्ने तिमीहरु जस्ता लाछीसँग के आश गर्न सकिएला र देश बनाउछु भनेर फलाक्दै हिंड्छौ । आज के खाउँ र भोली के खाउँ भनेर चिन्तित सिमान्तकृत नेपालीहरुलाई लुटिरहेको दर्दानक पीडा तिम्रो घरको टि.भी च्यानेलमा पनि आउँछ होला तिमीले सुन्ने गरेको रेडियोमा पनि सुनिन्छ होला । अनि बिहान चियाको सुर्कीसँगै ति समाचारहरु तिमीहरु पनि हेर्छौ होला तर कानमा तेल हालेर बस्ने मन्त्रीज्यूहरुले म्युजिकल चियर खेल्नु बाहेक अरु के सोच्न सक्छ होला र होइन ।
हामी गर्व गर्छौं हाम्रो देशमा शान्तिका अग्रदुत बुद्ध जन्मिएका हुन् रे ! तर खै शान्ति ! अनि कहाँ छ शान्ति ! दिनानुदिन हत्या हिंसा, लुटपाट, चोरी डकैती, अपहरण, बलात्कारले सिमा नाघेको छ यहाँ । अरु देशबाट आएर नेपाली नागरिकमाथि गोली चलाइन्छ पक्रन सक्दैन हाम्रो सरकार जब घटना घट्छ अनि कडा पारिन्छ शान्ति सुरक्षा त्यो पनि सर्वसाधारण जनताहरुलाई दुःख दिन उनीहरुको झोला, ब्याग चेक गरेर । खुट्टा तान्ने प्रवृत्तिले गर्दा पछाडी परेको हाम्रो देश यहाँ एकले राम्रो गर्न खोज्छ अर्कोले गर्न दिंदैन राम्रो गर्न खोज्ने सधैं पछाडी हुन्छन् । जसले भ्रष्टचार गर्छ, जसले घुसखोरी गर्न जानेको छ । जुन सरकारी ढुकुटी रित्याउन अग्रसर हुन्छ हो तिनै मन्त्रीहरुले गर्दा नेपालको हालत आज यो अवस्थामा पुगेको हो । ०६२÷०६३ को जनआन्दोलन के–का लागि गरियो ? किन गरियो ? कतिले शाहदत प्राप्त गरे कति घाइते भए उनीहरु के कारणले त्यो आन्दोलनमा होमिएर गोलीको शिकार बने मर्ने मरिसके घाइतेहरु उपचारको खोजीमा भौतारिरहेका छन् ।
आजसम्म पनि कति अचेत अवस्थामा छन् । कतिले हातखुट्टा गुमाएका छन् । कतिको शरिरबाट अझैपनि गोली निकालिएको छैन । यसको प्रवाह त सरकारलाई छैन सान्त्वना दिनुको साटो उल्टै हातमा कचौरा दिन तयार रहन्छ हाम्रो सरकार । के राजतन्त्रको अन्त्यको लागि मात्र त्यो विशाल जनलहर सडकमा ओर्लिएको थियो । त्यही राजतन्त्र हटाउनको लागि आफ्नो ज्यान गुमाएका थिए । ति सहिदहरुले, त्यत्तिको लागि घाइते हुने रहर थियो उनीहरुलाई । हो यही नै भयो यहाँ राजतन्त्रको अन्त्य अनि नामको लोकतन्त्र र गणतन्त्रको स्थापना भयो । अरु सब जहाँको त्यहीँ के परिवर्तन भयो र उही राजतन्त्र त हट्यो त्यो भन्दा बढी बेरोजगार बेरोजगारी नै भए, धनी धनी नै भए गरिव गरिव नै भए र नेपाल जहाँको त्यहीँ छ हत्या हिंसा बढ्दो रुपमा अगाडी बढीरहेको छ । के यही हो परिवर्तन भनेको ।
अनि सहिदहरुले चाहेको पनि यही हो । सहिद दिवस मनाइन्छ यहाँ बर्षको एक दिन त्यो पनि मनमानी नमानी यदि सहिदहरुको सपना पुरा गर्न सकिदैन भने एक गुच्छा फुल सहिदको शालिकमा राख्दैमा सहिदहरुले देखेको सपना पुरा हुन्छ र ? सहिदका परिवारले भोगेको पीडा र उनीहरुको विजोग अवस्था टुलुटुलु हेरेर बस्ने सरकार न प¥यो । कहाँ हुन्छ र फुर्सद उनीहरुलाई । शिक्षित युवाहरुको वेरोजगारी पीडा त छँदै छ यहाँ तर सानो रोजगारीको लागि पाटीको सदस्यता भिर्न बाध्य भएका छन् । पढाइभन्दा बढी घुसखोरीलाई प्राथमिकता दिइन्छ दिन सक्नेले त रोजगारीको अवसर पायो तर दिन नसक्ने पढे लेखेका कैयौं युवाहरु खाडीको मरुभुमीमा गैंची र बेल्चा समाएर आफु र आफ्नो पढाइलाई सरापी रहेका भेटिन्छन् । आँट, हिम्मत र साहस भएका नेपाली युवाहरु, शिप, मेहेनत, बल र बुद्धीले खारिएका नेपाली युवाहरु प्रसस्त मात्रमा रोजगारीको सम्भावना हुँदा–हुँदै पनि विदेशी भूमीमा हराउन बाध्य हुनु परेको अवस्था छ युवाहरुको यहाँ । बाल दिवसको नारा घन्काउँदै स्कुलका विद्यार्थीहरुलाई बजार परिक्रमा गराइन्छ तर त्यही छेउमा पलाष्टिक खोज्दै हिड्ने बालबालिकालाई खातेको संज्ञा दिन पुगिन्छ भने बाल दिवस मनाउनुको तात्पर्य के ? कुन अर्थले बाल दिवस मनाउँछौ हामी बाल दिवस भनेको स्कुलमा पढ्ने बालबालिकाको लागि मात्र सिमित छ र । हेर्नु प¥यो सरकारले ति प्लाष्टिक खोज्ने बालबालिकाको शिक्षा हनन भएको कुरा र शिक्षा दिक्षाबाट वञ्चित भएका ति बालबालिका उपर खोजी निति गर्नु प¥यो किन ? के कारणले र कसरी उनीहरु शिक्षाबाट बञ्चित हुन पुगे भन्ने कुरामा कदम चाल्नु प¥यो अनि मात्र बाल दिवसले सार्थकता पाउने छ ।
हामी त बहादुर नेपाली हौं तर खै बहादुरीता आफ्नै दाजुभाइ माथि हतियार चलाउनुलाई बहादुरी भनिन्छ र यसलाई त कायरता भनिन्छ । बहादुर ति हुन जसले नेपाल बनाए, दुश्मनबाट नेपाल जोगाए वीर बलभद्र कुँवर, भिमसेन थापा, कालु पाण्डे आदि जस्ता उ बेलाका बहादुर लडाकुहरु भएर आजसम्म बहादुरको बिल्ला भिर्ने अवसर उनीहरुबाटै पाएका हामी हौं । तर दुरुपयोग बनेको छ उनीहरुको बहादुरीको यहाँ, सिमा मिचिएको ठाउँमा गएर आफ्नो बहादुरी कसले देखाउन सक्छ यहाँ । हो सरकारले आदेश दिन सक्नुप¥यो प्रत्येक नेपालीको नशा नशामा बलभद्र कुँवर जस्ता बहादुरको रगत बगिरहेको छ । भिमसेन थापाको जस्तो आँट र हिम्मत छ नेपालीहरुमा, कालु पाण्डेको जस्तो दरिलो छाती छ नेपालीहरुको, आइलाग्नेसँग जाइलाग्न सक्ने क्षमता छ । नेपालीमा तर विडम्बना सरकार नै दुश्मनको पछि लागेर हिंडेपछि हामीजस्ता कैयौं बहादुर नेपालीहरु भारतको चिया पसलमा गिलास माझेर बस्न बाध्य हुनु परेको छ । त्यो पनि बहादुरको संज्ञा लिएर अनि उनीहरुको मनोबलमा बहादुर भनेको त भाँडा माझ्ने भारी बोक्नेलाई पो बुझिने रहेछ भन्ने प्रभाव पर्न गएको छ । बेरोजगारीका कारण अन्यत्र देशमा फिँजिएर बसेका बहादुर नेपालीहरु अरु देशको सिमाना अगाडी गोली गठ्ठाका साथ उभिएर उनीहरुको सिमा रक्षाको लागि ज्यानको माया मारेर बसेको देख्न सकिन्छ हामी तर हाम्रो सिमा मिचिएको कसले देख्ने खै ।
नेताहरुको भाषण जहाँ जुन ठाउँमा जान्छन् । त्यही ठाउँको बारेमा बढाइ–चढाइ फलानो र ढिस्को बनाइदिन्छु भनि भाषण गर्दा उनीहरुको भाषण सुनेर ताली बजाउने भेंडे जनता पनि हामी नै हौं । कुनै नेताहरुले बोले अनुसारको काम गरेको के तपाइ हामीले देखेका छौं । यहाँ देशलाई समान रुपमा अगाडी बढाउने कुरा आउँछ धनी को गरिव को तँ को म को तेरो जात के मेरो जात के तँ कुन स्तरको म कुन स्तरको । बोक्सीको आरोप लगाई बृद्धा आमाबाबालाई दिशा खुवाइ गाउँ निकाला गरिदिने देश हो यो । बोक्सीको आरोपमा जिउँदै आगो लगाएर ताली बजाउने यो समाज हो । हो भनेर हातमा ढयाङ्ग्रो समाएर हिड्ने समाज छ । हामीकहाँ अबुझ त छँदै छन् तर बुझ्ने पनि उनीहरुकै पछी लागेर हिंडेको देखिन्छ । २१ औं शताब्दी, बैज्ञानिक युगले फड्को मारेको यो समय । तर खै, नेपाललाई छोएको त्यो युगले, हामी त अझ पनि ढुंगेयुगमा पाइला टेकेका मानव हौं । अरु सबै राष्ट्रहरु प्रगतिको बाटोतिर अग्रसर हुँदा हामी बल्ल ढुंगे युगमा आए जस्ता ।
नेपालका १४ अञ्चलमा टुकी बालेर बस्नु पर्ने अन्धकार नेपाल । त्यो पनि विश्वको जलश्रोतमा दोस्रो धनी देश । यहाँका प्रत्येक रुखका पातमा बत्ति बाल्न सकिने विद्युत निकाल्न सकिन्छ यहाँको जलस्रोतबाट । तर यहाँ पानी पिउन समेत नपाउने अवस्था सिर्जना भैसकेको छ । हामीलाई चाहिने तत्वहरु प्रयाप्त मात्रमा हुँदा–हुँदै पनि त्यसलाई संशोधन गर्ने क्षमता नहुनु कति सम्मको लाज मर्दो कुरा हो । अनि के–को धनि देश नेपाल भनेर ब्याख्या गर्ने । देश बनाउने ठाउँमा देश बिगार्ने कुचेष्टा गरिदै छ । यहाँ देशलाई संघीयतामा लगियो अनि छुट्टाइए प्रदेश । प्रदेश त्यही प्रदेश भित्र पनि द्वन्द्व चर्किरहेको अवस्था छ हुँदा–हुँदा प्रदेशबाट आ–आफ्नो जातियतामा समाज छुटाउन थालेका छन् । आफ्नो जातियताको पहिचानको लागि हामीले खोजिनिति गर्नुपर्छ । आफ्नो संस्कृति जोगाउने हामीहरुको दायित्व पनि हो तर जातियताको आधारमा देश दुक्रियो भने के यसले देशमा शान्ति सुरक्षा कायम गर्छ । यसले शान्ति होइन अशान्तिको बादल मडारिन्छ । सानो झगडाले ठूलो रुप लिने पहिलो माध्यम यही बन्छ । अनि यसको जिम्मेवारी लिने को ? यहाँ पहिला नेपाल बदल्ने कुरा आउँछ । के यो सम्भव छ । पहिला नेपाल होइन आफ्नो घरमा हुने रुढीबादीका कुराहरु बदल्नु पर्छ अनि यो समाज बदलिन्छ, गाउँ बदलिन्छ, जिल्ला बदलिन्छ क्रमैसँग बल्ल नेपाल फक्रन्छ । बिऊ रोप्दैमा एकैचोटी फूल फक्रदैन भन्ने कुरा सिंहदरबार र बालुवाटारमा जरा गाडेर बस्नेहरुले बुझ्न जरुरी छ कि ।

शनिबार, पुस २९, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री