कविता- न्याय मरेको दिन

आविष्कार चापागाईं
हो आज
मरेछ कोही
त्यसैले ठूलो
एकोहोरो शङ्ख फुकिरहेको छ
त्यो धुलो पहाडको खाँेचबाट
एक हुल मलामीहरू
एक साँढेहरूको कुरा सुनेर
घिउ र मट्टीतेल लिएर
पस्दैछन् रे
एक हुल ति पिचासहरू
त्यो सेतो फूलेको मुटु दरो भएको
खुट्टाहरू बलिया भएको
मानिसलाई लिन !

कठै
त्यो खोचको पहाडमा
हातमा तराजु अनि आँखामा कालो पट्टी लाएकाहरू
यमराज भएर जाँदैछन् रे

यम–वाण लिएर
ज्यान तान्न ।
कति हतार हो यिनलाई ?
तराजु बोक्नेहरू
एक चोटी ती बाँधिएका आँखा खोल त
यहाँ नरपिसाचहरू दिन दहाडै
भाला रोपेर हिँड्दा पनि
यमराज पठाउन सक्दैनौँ

सिङ्गो ब्रह्माण्डलाई
रित्याएका भूतहरू
खुले आम निर्धालाई तर्साएर
पसिना र रगत खाएर हिँड्दा पनि
यमराज आउँदैनन् !

पैसा र उद्दण्डले
भरिएका नरमुण्डहरू
दिनदाहडै माननीय भई
फूलका गुच्छा
अनि अबिर माला पहिरिएर
हिँड्दा
यमराज नर्कैको शङ्ख
किन फुक्न सक्दैनौँ

ती यम वाणहरू
केवल
असहायको लागि हो ?
योगीहरूका लागि हो ?
न्याय हक र हितमा लड्ने
योद्धाहरूका लागि हो ?

यमराज साँच्चै तिमी
प्राण हरेर नर्क र स्वर्ग लाने
निर्णय गर्ने न्यायाधीश हौ भने ।
आज त्यो खोँचमा
न्यया मरेको छ
यमवाणको हजारौँ वर्षको इतिहास आज
हराएको छ
त्यसैले त आज
यो ब्रह्माण्डमा
न्याय मरेको  छ ।
चितवन

शनिबार, पुस २९, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री