‘भ्यालेन्टाइन डे’ संस्कृति कि विकृति ?

राजेशचन्द्र राजभण्डारी
सबैभन्दा बढी दिवश मनाइने देशमध्ये नेपाल अग्रपंक्तिमा पर्ने गर्छ । नेपालीहरुले आफ्नो मौलिक संस्कृतिलाई भुल्दै गइरहेका छन्भने पाश्चात्य संस्कृतिलाई ‘दिन दुई गुणा रात चौगुणा’ अंगाल्दै गइरहेको छ । देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नेपालीलाई दिवशको कुनै कमी छैन । लोकतन्त्र दिवश, गणतन्त्र दिवश, शहिद दिवशहुँदै अहिले फागुन २ अर्थात् १४ फेबु्रअरी प्रणय दिवशलाई धुमधामको साथ मनाउने चलन पनि देशमा शुरु भएको छ । प्रेमको आफ्नै परिभाषा छ । प्रेमको महत्व आफ्नो ठाउँमा छ । प्रेमलाई अहिले हल्का रुपमा लिने, क्षणिक स्वार्थ पुर्ति गर्ने छोड्ने अनि अर्को प्रेम गर्ने संस्कृतिको विकास पनि संगसंगै बढ्दै गएको समयमा पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसंग सम्बन्धित रहेको यस दिवशबारे जानेर बुझेरभन्दा पनि एउटा लहैलहैमा यसलाई मनाउन हाम्रा युवा, युवतीहरु लागिपरेका छन् ।
तत्कालिन रोमन सम्राट क्याउडियस द्वितीयले युवालाई प्रेम र विवाह गर्न बन्देज लगाएका थिए । भ्यालेन्टाइनले सम्राटको लगाएको प्रतिबन्धलाई अवश्य गरे । उनले प्रेम र विवाहका लागि युवायुवतीलाई प्रेरित गरे । उनले सार्वजनिक स्थलमा सामुहिक विवाह गराए । प्रतिबन्ध उल्लंघन गरेको आरोपमा उनलाई २७० फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो । प्रेमको लागि प्राण उत्सर्ग गर्न उनै भ्यालेन्टाइनको सम्झना प्रत्येक वर्षको १४ फेबु्रअरीलाई प्रेम दिवशको रुपमा मनाउन शुरुसंगै नेपालका प्रेमप्रेमी अर्थात् युवाहरु यसलाई विशेष पर्वको रुपमा मनाउन तल्लीन छन् । आफुले मन पराएका युवाले युवतीलाई यसै पर्वको दिन पारेर रातो गुलाबको फूल र उपहार दिने, प्रेम प्रस्ताव राख्ने चलन बढेर गएको छ । अहिले युवायुवतीबीच भ्यालेन्टाइनको नाममा प्रेम प्रस्ताव राख्ने र आफ्नो यौन बासना पुरा गर्ने अनि अर्काे वर्षको भ्यालेन्टाइनमा अर्कै युवासंग प्रेम प्रस्ताव राख्ने प्रचलन पनि विकृतिको रुपमा बढेर गएको छ ।
भ्यालेन्टाइन डे मनाउने प्रचलन पश्चिमा संस्कृति भएपनि नेपालमा यसको प्रभाव छोटो समयमा बढ्दै गयो । यसलाई काठमाडौं, पोखरा, धरान, बागलुङ लगायतका ठाउँमा फरक–फरक शैलीले मनाइने गरिन्छ । यो दिवशमा प्रेमप्रेमी एकआपसमा प्रेम प्रस्तुत गर्न गुलाफको फुल अनिवार्य भएपनि बागलुङ जिल्लामा गुलाफको फुल नपाउने भएपछि स्टिक गुलाफ (कृतिम फुल)को गुच्छा र ग्रिटिङ कार्ड दिने चलन बढेको व्यापारीहरु बताउँछन् । ‘अहिले नेपालमा आफ्नो मौलिक संस्कृति र परम्परालाई छोड्दै जाने विदेशी अर्थात् पाश्चात्य प्रभावलाई अंगाल्दै जाने प्रवृत्तिको विकासहुँदै जानु राम्रो होइन’ महिला अधिकारकर्मी बताउँछन् । अहिले दिवश मनाउने नाममा जे पनि मनाउने प्रचलन बढ्दै गएको छ । नक्कल गर्ने प्रचलन बढ्दै गएको हुँदा यसले विकृति र विसंगति भित्राउन लागेको छ । प्रेम दिवश के–को लागि मनाउने, यसको प्रचलन कसरी शुरु भयो भन्ने कुरा नबुझी आजकलका युवाहरु यसको पछाडी लागिरहेको महिला अधिकारकर्मीको भनाई छ ।
नेपालको आफ्नै मौलिक परम्परा र संस्कृतिलाई छोड्दै जाने, विदेशीको संस्कृति पनि बुझ्दै नबुझी अंगाल्दै जाने, आफ्नो गुरु र बाआमालाई नमान्ने, अरु विभिन्न दिवश मनाउँदै जाने प्रचलनको विकास भएको महिला अधिकारकर्मी बताउँछन् । विकास क्रमसंगै हामीले मनाउन खोजेको प्रेम दिवश किन के–को लागि भन्ने बुझेर मनाउनु भन्दा पनि अनावश्यक रुपमा मनाउने फजुल खर्च गरेर समय बर्बाद गर्नु उचित हुने बताउँछन् । प्रेम दिवश मनाउनु नराम्रो होइन तर यसलाई एउटा पर्वको रुपमा मनाउन यसको मर्म बुझ्न जरुरी छ । प्रेमको परिभाषालाई विकृति र विसंगतिको रुपमा विकास गर्दै लैजानु हुँदैन प्रेम भनेको खाली युवा र युवतीको बीचको सम्बन्ध मात्रै प्रेम होइन प्रेमको परिभाषा व्यापक छ ।
अहिले यसलाई एउटा उत्सवको रुपमा मनाउने, रमाइलो गर्ने प्रचलन बढेर गएको छ । त्यसले गर्दा भ्यालेन्टाइन डे संस्कृति भन्दा पनि बिकृतीको रुपमा विकास हुँदै गएको छ । भ्यालेन्टाइन डेलाई सहि ढंगले बुझ्न जरुरी रहेको छ । अहिले नेपालीहरुले आफ्नो इतिहास बोकेका मौलिक संस्कृतिलाई बिर्सदै गईरहेका छन्भने विदेशी संस्कृतिको अन्धो नक्कल गरेर नेपाली समाजमा संस्कृति भन्दा पनि बिकृति भित्राउने काम गरिरहेका छन् । यसले हाम्रो संस्कृति धुमिल बन्दै गएका छन् । हामीले कुनैपनि संस्कृति मनाउँदा त्यसका सकारात्मक र नकारात्मक दुवै पक्ष राम्रोसंग बुझेर मनाउँदा फाईदा पुग्छ । भ्यालेन्टाइन डेलाई नकारात्मक भन्दा पनि सकारात्मक रुपमा बुझ्न सके र मनाउन सके त्यसको महत्व हुने देखिन्छ ।

सोमवार, माघ २९, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री