विवादले विकासे कार्यक्रम प्रभावित

बागलुङ, २९ माघ– व्यवस्थित शहर बनाउने भनिएको बुर्तिवाङमा नगर विकास समिति र स्थानीय सरकारको बिबादले काम प्रभावित भएको छ । राजनीतिक नियुक्ती मार्फत आएको नगरबिकास समितिले नगरपालिका आफ्नो मातहतमा चलाउने कोसिस गरेको छ भने नगरपालिका स्थानीय सरकार भएको दावी गर्छ । दोहोरो मनमुटावका कारण नगरको बिकासमा असर परेको छ । भत्के बिग्रेका काम दुवै पक्षले अर्र्कालाई दोष दिन्छन् भने भएका काममा दुवैले जस लिन थालेका छन् ।
व्यवस्थित र स्मार्ट सिटी बनाउने भनिएको ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा बिना नक्सांकन धमाधम घर बनिरहेका छन् । नगरपालिकाले कर्मचारी अभावमा भवन निर्माण संहिता पालना र नक्सापासको प्रावधान शुरु गर्न नसकेको दावी गरेको छ । ‘अहिले हामीसंग प्राविधिक कर्मचारी छैनन्, त्यसैले भवन संहिता पालना गराउन सकेका छैनौं’ नगरपालिकाका प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले भने, ‘नगरपरिषदले निर्णय भने गरेको छ ।’ नगरपालिका घोषणा भएको झण्डै दुइ बर्ष पुग्न लाग्दा प्राविधिक कर्मचारी नपठाइएको उनले बताए । अहिले अधिकृत सहित लेखापाल, नायवसुब्बा र चालु कामका लागि एक जना सव इन्जिनियर मात्र छन् । समान अस्तित्वका दुइ संस्थाको चेपुवामा कर्मचारी परेको उनले गुनासो गरे ।
स्थानीय सरकार आउनु अघिदेखि नै काम गरिरहेको नगरबिकास समिति भंग नभएसम्म काममा समस्या पर्ने नगर प्रमुख देव नेपालीले बताए । समिति मातहतको आयोजना कार्यालयले जिम्मा लिएको ठाउँमा नगरपालिकाले काम गर्न नसक्दा दुवै संस्था हेराहेर मात्र गरिरहेका छन् । ‘आयोजनाले जिम्मा लिएको कति बर्ष भैसक्यो, अहिलेसम्म काम भएको छैन’ नेपालीले भने, ‘त्यहाँ हामीले काम गर्न पनि पाएका छैनौं ।’ बसपार्क व्यवस्थपान, बजारका सडक तथा गल्लीको स्तरउन्नती लगायतका धेरै काम बिबादले रोकिएको दुवै पक्षको दाबी छ । नगरपालिकाले आफ्नो जिम्मामा आएमा तत्कालै काम थालेर सम्पन्न गर्न सक्ने नगर प्रमुख देव नेपाली दावी गर्छन् । आयोजना प्रमुख प्रविण अधिकारीले नगर व्यवस्थित बनाउनका लगि मापदण्ड मिचिएका स्थानमा सूचना जारी गरेर हटाउने प्रयास भएको बताए । नगरपालिकालाई हस्तक्षेप गर्ने अधिकार समितिलाई नभएको उनले बताए ।
नगर बिकासमार्फत २०८२ सम्म स्मार्ट शहर बनाउने, १ लाख जनसंख्यालाई व्यवस्थित बसाई बसाल्ने समेतका लागि झण्डै २० अर्व बजेट बिनियोजित छ । साँघुरा सडकमा बनेका संरचना र अतिक्रमण हटाउन नपाबाट साथ नमिलेको नगरबिकास समितिका अध्यक्ष मेषलाल शर्मा आरोप लगाउँछन् । नगर प्रमुख नेपालीले सदरमुकाममा बसेका कर्मचारीले नटेरेको आरोप लगाए । ‘बजार खतरामा पर्ने गरी दुइ बर्ष अघि गएको पहिरो व्यवस्थित गर्न पाइएको छैन’ नेपालीले भने, ‘काम पनि नगर्ने, ठाउँ पनि नछाड्ने प्रवृत्ति हावी भएको छ ।’ समितिको अवरोधले नगरपालिकाले काम गर्ने वातावरण नपाएको बताए । भवन निर्माण संहिता पालना नहुनुमा नगरप्रमुख दोषी भएको अर्काथरीको आरोप छ । सरकारले जारी गरेको भवन निर्माण संहिता बिपरित नगर प्रमुखलेनै ७ तले घर बनाएको समिति पक्षधरले आरोप लगाए । यस्ता बिबाद अन्य स्थानमा पनि आएको थाहा पाएपछि सरकारले नगर बिकास समितिलाई भंग गरेर नगर प्रमुखकै मातहतमा चलाउने निर्णय गरेको बताइएको छ । उक्त निर्णयको निर्देशिका आइपुगेपछि भने समिति पनि नगरपालिकाको मातहतमा रहने अर्यालले बताए । दुवै पक्षको सहमतिमा काम गर्न सकियो भने व्यवस्थित सहर बनाउने अभियानले सार्थकता पाउने समेत उनले बताए ।

सोमवार, माघ २९, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री