सेवा विस्तारपछि नेटवर्क खोज्न डाँडातिर जानुपर्ने समस्या हट्यो

थम्मन थापा सन्देश
बागलुङ, १ फागुन – 
नेपाल टेलिकमले बागलुङको ताराखोला गाउँपालिका वडा नं ४ मा जिएसएम मोवाईल सेवा विस्तार गरेको छ । टेलिकमले गाउपालिकाको मसिना डाॅडामा टावर स्थापना गरि सेवा सुचारु गरेको हो ।
२ हजार ३ सय ७५ मिटर उचाईमा अवस्थित मसिना डाॅडामा रहेको उक्त टावर सञ्चालनमा आएसॅगै ताराखोला गाउँपालिका वडा नं ४ को नागबेलीखोला, दोगाडी  सागुबोट, वडा नं ५ को छेल्दोर, सीप, वडा नं ३ को घुस्मेलीका झण्डै ३०० घरधुरी प्रत्यक्ष लाभान्वित भएको नेपाल टेलिकम धौलागिरी प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।
ग्रामिण बस्तीका बासिन्दालाई सहज सञ्चारको पहुॅचमा जोडन भौगोलिक विकटता, खोंच, उच्च पहाडी भुभागका चुनौतिका बाबजुत टेलिकमले सेवा विस्तार गरेको शर्माको भनाई छ । तत्कालका लागि टुजी सेवा सञ्चालनमा ल्याईएको र केही समय पछि उच्च गतिको डाटा सहितको थ्रिजी सेवा पनि सञ्चालनमा ल्याउने नेपाल टेलिकम बागलुङले जनाएको छ ।
मोवाईल टावर सञ्चालनमा आएपछि लामो समय देखि सञ्चारको अभावमा नेटवर्कको खोजी गर्दै मोवाईल हातमा लिएर अग्लो डाॅडा तिर भौतारिनु पर्ने बाध्यता हटेको स्थानिय बासिन्दामा खुसियाली छाएको पुर्णभद्र निउरेले बताए ।
यता डाटाको माग अत्यधिक बढेपछि टेलिकमले काठेखोला गाउपालिकाको रेश स्थित सिगाना कोटमा रहेको मोवाईल टावरमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । थ्रिजी सञ्चालनमा आएपछि त्यस आसपासका उपभोक्तालाई उच्च गतिको ईन्टरनेट चलाउन थप सहजता भएको छ ।
सेवा विस्तारको क्रममा नेपाल टेलिकमले पश्चिम बागलुङको बडिगाड गाउपालिकाको उपल्लो दर्लिङ सेवा विस्तार गरेको छ । दर्लिङ र आसपासमा सञ्चार सेवा प्रदान गर्ने उद्येश्यले उपल्लो दर्लिङ बाघखोरमा टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याएको हो ।
मोवाईल सेवा सञ्चालन भएपछि त्यस क्षेत्रका बासिन्दालाई कुराकानी गर्न र डाटा मार्फत ईन्टरनेट चलाउन थप सहज भएको नेपाल टेलिकम बागलुङले जनाएको छ ।

मङ्लबार, फाल्गुन १, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री