सानुबाबु, मेरो छोरो र प्रेमराजा महत

माधव सयपत्री
‘छोराछोरी सधैँ सँगै बसून् ।’ हरेक बाबुआमाले यस्तै चाहना राखेका हुन्छन् । तर, हाम्रो परिवार–संरचना नै भूमण्डलीकरणले भुटिसकेको अवस्थामा अब बा–आमाले यस्तो चाहना राख्नु स्वाभाविक ठहर्दैन। फेरि, छोराछोरीले कस्ता सपना बुनेका हुन्छन्, उनीहरूको सपनाको पनि ख्याल गरिदिनुपर्छ । अभिभावकले हस्तक्षेप गरिदिनु भनेको उनीहरूको चित्त दुखाउनु हो । पखेटा हालेर उड्न तयार भएका बचेरालाई रोक्नु हुँदैन । उडून्, उड्न दिनुपर्छ । घुमून्, घुम्न दिनुपर्छ । जाऊन्, जान दिनुपर्छ।
अन्तर्आत्माले भनिरहेको थियो, ‘छोराले यतै जागिर वा व्यापार गरोस् । विदेश नजाओस् ।’ उसको इच्छाविपरीत होला भन्ठानेर दबाब भने दिइनँ । तर उसले त्यतातिर ध्यानै दिएन । उसका अधिकांश साथीहरूले अस्टे«लियाको बाटो तताइसकेछन् ।लामो प्रक्रियापछि ३१ जनवरी २०१८ का लागि उसको टिकट पक्का भयो । हामी उसलाई बिदा गर्न एयरपोर्ट गयौँ । छोरा ट्रलीमा लगेज हालेर गुडाउँदै भित्र पस्यो । मन थाम्न निकै गाह्रो भयो । मनै बाउँडिएर आयो।
सानुबाबुलाई सम्झिएँ, ‘उहाँ पनि यही एयरपोर्टबाट ३० वर्षअघि अस्ट्रेलिया उड्नुभएको थियो । सारा आफन्त र देशको नागरिकता नै त्यागेर ‘विदेशी’ हुनुभएको थियो ।’ अनि सम्झिएँ आफैँलाई, ‘म ३० वर्षअघि गाउँबाट पढ्न काठमाडौं आउनु र पढ्नैका लागि छोरा अहिले विदेश जानु उस्तै त हो नि ! त्यो बेला गाउँबाट काठमाडौं टाढा थियो । अहिले अस्ट्रेलिया पनि टाढा छैन ।’ सानुबाबु र आफैँलाई सम्झेपछि मन बाउँडिन छाड्यो ।
सानुबाबु निकै मनकारी हुनुहुन्थ्यो । मेरो नाम ९ कक्षामा चढ्नुअघि एक दिन सानुबाबुले भन्नुभएको थियो, ‘माधव, अप्सनल म्याथ र साइन्स विषय पढ है !’ मैले भनेको थिएँ, ‘हस् हजुर ।’अर्को दिन सानुबाबुले भन्नुभएको थियो, ‘ती विषय पढ्यौ भने म तिमीलाई जागिर लगाइदिन सक्छु ।’ हर्षविभोर भएर मैले भनेको थिएँ, ‘हस् हजुर।’
फेरि भन्नुभयो, ‘राम्रोसँग पढ्नू । एसएलसीमा फस्र्ट डिभिजन ल्याउनू ।’ मैले आज्ञाकारी शिष्यले झैँ भनेको थिएँ, ‘हस् हजुर ।’ यसरी नै सानुबाबुलाई मैले सयौँचोटि ‘हस् हजुर’ भनेको थिएँ । त्योबेला एसएलसीमा साइन्स कम्पलसरी थिएन । ऐच्छिक विषयमा सानुबाबुकै मर्जीबमोजिम अतिरिक्त गणित र विज्ञान लिने भएँ।
पछि उहाँले सोध्नुभएको थियो, ‘अनि, तिम्रो गाउँमा ग्रामीण दूरसञ्चार केन्द्र छ कि  छैन ?’ मैले उत्तर दिएको थिएँ, ‘फोन त मैले काठमाडौं आएपछि देखेको सानुबाबु ! मेरो गाउँमा टेलिफोन, सडक, स्कुल, बिजुली, अस्पताल केही पनि छैन हजुर । गाउँमा एकदम दुःख छ ।’दिनभरिकै बाटो हिँडेर आवा (आकाश वाणी) गर्न जिल्ला सदरमुकाम रामेछाप पुग्नुपथ्र्यो । सायद सानुबाबुलाई गाउँमा ‘दुःख’ छ भन्ने कुरा थिएन।
आफूभन्दा जेठो मान्छेलाई पनि ‘मैयाँ’ र ‘बाबु’ भन्नैपर्ने मेरो बाध्यता थियो । ‘दिदी’ र ‘दाइ’ भनियो भने नोकर ‘कालोसूची’ मा परिहाल्थ्यो । सोच्छु, ‘अहिले पनि सम्भ्रान्त परिवारमा बसेका घरायसी कामदारले यस्तै व्यवहार भोगिरहेकै होलान् ।’सानुबाबुले फेरि सोध्नुभयो, ‘तिम्रो घरबाट जिरी कति टाढा पर्छ ?’ दोलखा जिल्लामा पर्छ भन्ने कुरा थाह भए पनि कति टाढा पर्छ, मलाई थाह थिएन।
अन्दाजमै भनिदिएँ, ‘एकदिन हिँड्नुपर्छ हजुर ।’ सानुबाबुले भन्नुभयो, ‘तिमीलाई थाह रहेनछ, जिरीमा ग्रामीण दूरसञ्चार केन्द्रको अफिस छ । एसएलसी पास गरेपछि म तिमीलाई जिरीमै टेलिफोन अपरेटर बनाइदिन्छु ।’मलाई सानुबाबुले टेलिफोन अपरेटर बनाइदिनुभयो । हैन हैन, बनाइदिने आश्वासन दिनुभयो । म भने साँच्चै टेलिफोन अपरेटर भएको कल्पना गर्न थालेँ । मनको लड्डु घिउसित मीठो मानेर खान थालेँ । ‘वा ! जिरीमा म टेलिफोन अपरेटर भएँ भने ! मेरो सान कस्तो होला !’
२०४३ सालमा म शिवपुरी माध्यमिक विद्यालय महाराजगन्जमा कक्षा ९ पढ्दै थिएँ । उता घरको गरिबी र दुःखका कारण मलाई जसरी पनि पढ्नु थियो । छिर्नु थियो, एसएलसी नामको फलामे ढोकाबाट । यता सानुबाबुले जागिरको आश्वासन दिनुभएकाले पनि पढ्नु थियो । किनभने म टेलिफोन अपरेटर बन्ने पक्का थियो।
म सानुबाबुकै घरको आसपासमा बसेको थिएँ । उहाँ दूरसञ्चार संस्थानको निकै माथिल्लो तहको प्राविधिक कर्मचारी हुनुहुन्थ्यो । उहाँसित धनदौलत, सानसौकत, मान–सम्मान सबै थियो । म घरायसी नोकर न थिएँ । तैपनि त्यति ‘ठूलो’ मान्छेको आश्वासन पाएको थिएँ । मन त्यसैत्यसै उत्फुल्ल भएको थियो।
सानुबाबु मेरो पढाइमा निकै चासो राख्नुहुन्थ्यो । यदाकदा मलाई लेख्नका लागि कापी पनि दिनुहुन्थ्यो । कलम दिनुहुन्थ्यो । हिसाबमा अलमलिएको देखर भन्नुहुन्थ्यो, ‘तिमी हिसाबमा कमजोर छौ, क्यारे ! मसित सिक्छौ त ?’ म अलमल्ल परेर सानुबाबुलाई हेरिरहन्थेँ।
हिसाब त गणितको मास्टरले पो जान्दछ । हैन, सानुबाबुलाई पनि गणित आउँछ होला ! आउँदो रहेछ । आम्मामा ! गणितको मास्टरभन्दा पनि जान्ने हुनुहुँदो रहेछ, म उस्तै हुस्सु । गणित नपढेको हुँदो हो त सानुबाबु इन्जिनियर कसरी बन्नुहुन्थ्यो !
उहाँको फुर्सदका बेला म म्याथ सिक्न गएँ । सानुबाबुले मलाई गणितका केही टिप्स सिकाइदिनुभयो । त्यति व्यस्त ‘ठूलो’ मान्छेबाट मैले कसरी अघाउँजी सिक्न पाउनुथ्यो र ! आक्कलझुक्कल मात्रै सिक्न पाएँ । जति सिक्न पाएँ, दिगो गरी सिक्न पाएँ ।
सानुबाबुको टिप्सले काम ग¥यो । नौ कक्षामा गणितमा कमजोर मान्छे, टेस्टपछि साथीलाई म्याथ सिकाउन सक्ने भएँ । एसएलसीमा चिटै नचोरी अनिवार्य गणितमा ८० कटाएर नम्बर ल्याएँ । सानुबाबुले गणित सिक्ने टिप्स नसिकाइदिनुभएको भए गणितमा फेल पनि हुन सक्थेँ।
एसएलसीपछि म गाउँ आएर बसेँ । ६ महिनापछि सहर जाँदा सानुबाबुले देश छाडिसक्नुभएछ । उहाँ त सारा इष्टमित्र र देशैको माया मारेर परदेशी भइसक्नुभएछ । पहिल्यै गाइँगुइँ त सुनेको थिएँ । तर, मलाई लागेको थियो– नेपालको त्यति प्रतिष्ठित जागिर छाडेर जानुहुन्न होला । जानुभएछ । मन कटक्कै खायो।
लाग्यो– सानुबाबु विदेश जानुभएको होइन, टेलिफोन अपरेटररूपी आकाशमा कावा खाने मेरा पखेटा झरेका हुन् । देशले एक होनहार प्राविधिक कर्मचारी गुमाएको थियो, मैले कल्पनाको उडान भर्ने हैसियत गुमाएको थिएँ । हिँड्ने बेला सानुबाबुले मलाई सम्झनुभएको थियो रे ! मलाई पनि उतै लैजाने विचार थियो कि सानुबाबुको ! साँच्चै, सानुबाबुले मलाई अस्ट्रेलिया लैजानुभएको भए म के हुन्थेँ हुँला ! प्राइमरी मास्टर भएर त पक्कै बस्थिनथेँ हुँला।
काठमाडौं फर्कंदा मैले सानुबाबुलाई भेटिनँ । दुई वर्षपछि मात्रै नेपाल आउनुहुन्छ रे भन्ने सुनेँ । खल्लो लाग्यो । निस्तो लाग्यो । टेक्ने जमिन र समात्ने हाँगो गुमाएझैँ लाग्यो । मेरो टेलिफोन अपरेटर सपना गल्र्यामगुर्लुम ढल्यो । अचेल सानुबाबुको नाम सर्च गर्छु इन्टरनेटमा  । भेटेको छुइनँ सानुबाबुलाई । छुटेको ३० वर्ष भयो । सानुबाबु बूढो भइसक्नुभयो होला । अभैm पनि सानुबाबुलाई देख्न पाउँछु कि, आस लागिरहन्छ।
सानुबाबु अस्ट्रेलिया उडेपछि म रन्थनिएको थिएँ । म सानुबाबु जानुभएको देश (महादेश) नक्सामा खोज्न थालेँ । मलाई ‘भूगोल’ विषय बडो रसिलो लाग्थ्यो, लाग्छ । गहिरिएर नक्सा अध्ययन गरेपछि म त्यही पुगेको अनुभूत गर्थें । सानुबाबु गएको देशमा आफू पनि गएको कल्पना गर्न थालेँ । अस्ट्रेलियाको अत्यन्त विकसित रूपरेखा त्यति बेलै मेरो मनले कोरेको थियो।
मनभरि ठूलो सपना बोकेर सपनाकै रेल चढेर म सहर फर्केको थिएँ । तर, मेरो सपना कागज च्यातिएझैँ च्यातियो, धुजाधुजा भएर । सानुबाबुको परदेश गमनले म हठात् ढुंगामै पछारिएँ । म घाइतेलाई ‘कठैबरा’ भनी उठाउने कोही भएन।
सानुबाबुकी सानुमैयाँ नेपालकै चर्चित अमेरिकी एक संस्थामा काम गर्नुहुन्थ्यो । तलब डलरमा आउँथ्यो सायद । सहरमा जग्गा थियो । बंगला थियो । कार थियो । दुवैजनाको कुस्त तलब थियो । तर, सानुबाबुलाई के नपुगेर देशको नागरिकतै त्यागी छोराछोरी लिएर विदेश भासिनुभएको होला ? यो प्रश्नले मलाई थिचिरह्यो । र, थिची नै रह्यो।
गायक प्रेमराजा महतले देश छाडे । ‘नेपाल’ पाक्षिकमा उनले देश छाड्नु पर्नाका कारण यसरी प्रस्ट्याएका थिए, ‘छोराछोरीको भविष्यका लागि म अमेरिका गएको हुँ ।’ उनको कुरा पढेपछि सयतिर उकालिएको उनीप्रतिको श्रद्धा शून्यतिर झरेको थियो । मेरो मनले सोधेको थियो, ‘के यहाँ ‘प्रेमराजाहरू’का नानीबाबुको मात्रै भविष्य बिग्रिन्छ ? अरूका नानीहरूको चाहिँ भविष्य सुध्रनुपर्दैन ? यो देशमा बसेर पढ्ने सबै नानीबाबुको बिग्रिन्छ र ?
कति कमजोर तर्क थियो प्रेमराजाको । नयाँ गीत रिलिज गर्न नेपालै आउनुपर्ने, तर छोराछोरीको भविष्य बनाउन विदेश जानुपर्ने ! श्रोता नेपाली चाहिने, देश नेपाल नचाहिने ! सम्पत्ति र सुख कति भयो भने मानिसलाई पुग्छ हँ ?’ प्रेमराजाको जिकिर पढेर रन्थनिएको दिमाग सानुबाबुको स्वदेश परित्याग सम्झेर शान्त भएको थियो । अहिले आफ्नै छोरा विदेश उडेपछि ‘प्रेमराजाहरू’ किन देश छाड्छन्, जान्न थालेको छु । नागरिक

शनिबार, चैत्र १७, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री