प्रोस्टेट ग्रन्थीको बिकार

कृष्ण कुमार सैजु
कुरा केही समय पहिलेको हो । म सधैंजसो खाना खाएर कार्यालयतिर जाँदै थिएँ । बाटोमा एकजना चिनेको दाई त्यही बाटो आफ्नो कार्यालय जाँदै गरेको देखेँ । म आउँदै गरेको देखेर मैले भेटाउने गरी सुस्तसुस्त हिँडिरहनु भएको थियो र थोरै हिँडेपछि मैले उहाँलाइ भेटेँ । सामान्य कुरा गर्दै अघि बढदै थियौँ । अनि मैले उहाँको हिडाईको ताललाई अनुमान गरेँ । सामान्य भन्दा थोरै भन्ने देखेँ र मैले सोधिहाले ‘दाई के भयो तपाइलाई ?’ मेरो प्रश्नलाई टार्न खोज्दै हुनुहुन्थ्यो । मैले फेरी त्यही प्रश्नले सताइरहेँ । अन्तमा ‘कसररी भनुँ भाई तपाँईलाई, धेरै भयो मैले यो बिषयमा सोध्ने मौका खोजीराको तर मौका नै मिलेन’ भन्नुभयो । अनि फेरी मैले भनेँ– ‘होइन दाई भन्दै नभनि कसरी थाहा हुन्छ र ? अनि तपाईको समस्या कसरी समाधान हुन्छ ?’ मैले भनेँ । अनि उहाँले भन्नुभयो– ‘मेरो एकतिरको अण्डकोष ३–४ दिनदेखी दुखीरहेको छ, अनि थोरै सुन्निएको पनि छ ।’ अनि मैले सोधे– ‘कहिलेदेखी यस्तो भइराको छ ?’ मेरो प्रश्न बिचैमा ‘म करिब १९–२० बर्षको हुँदादेखि नै बेला बेलामा यस्तै भइराको छ ।’ अरू के–के हुन्छ नि ? पिसाब फेर्न पनि गाह्रै हुन्छ, भित्र–भित्र दुखेको जस्तो पनि लाग्छ ।
अनि मैले उहाँसंग कुरैकुरामा प्रोस्टेट हाइपरप्लेजियाको भन्ने निस्चित गराएर कति पनि ढिला नगरी सम्बन्धित बिज्ञसंग जान सल्लाह दिएँ । नभन्दै त्यसको भोलिपल्ट नै हस्पिटल जानुभयो । उचित जानकारी नभएको कारणले उपचारमा ढिला भएकोले उहाँको अन्तमा शल्यक्रिया नै गर्नपर्ने नतिजा आयो । तर पनि समय मै उपचार पाएकोले हस्पिटलको छोटो बसाईपछि स्वस्थ भई फर्किनु भयो । अचेल बेलाबखत देखभेट हुँदा खिस्स हाँस्दै बिगतलाई सम्झिएर जिब्रो तान्नुहुन्छ । आज पनि हाम्रो समाजमा कतिपय समस्याहरू चिकित्सक सामु भन्न लजाएर र के भन्लान भन्ने डरले जटिल भन्दा जटिल समस्याहरू लुकाइरहेका हुन्छन् । जसले गर्दा पछि बिकराल र घातक रूप लिन सक्छ । त्यसैले कुनैपनि स्वस्थ्य समस्या चिकित्सकसंग अप्ठेरो नमनी खुलेर भन्ने, जसले गर्दा समयमै उचित उपचार पाउन सकिन्छ र ठुलो जनधनको क्षति हुनबाट जोगिन्छ । यो माथिको घटना एउटा उदाहरण मात्र हो । तपाँइको घरमा दाजुभाइ, आफन्त जो–कोहीलाई पनि यस्तो समस्या भइरहेको हुन सक्छ । त्यसैले समयमै बिचार पुर्याएर उपचार गर्न र गराउन आग्रह गर्दछु । सामन्य रूपमा जो कोहीले पनि प्रोस्टेट हाइपरप्लेजियाको को बारेमा जानकारी पाउन सहज होस भनेर यसको बारेमा तल बिस्तार गरिएको छ । कृपया आफ्नो र आफन्तको लागि समय निकालेर पढ्नु होला ।   जन्मेको ७ महिनादेखि १३.५ वर्षसम्मका बच्चाहरूमा प्रोस्टेटको अल्ट्रा सोनोग्राफी अध्ययनबाट थाहा भएअनुसार यो ०.४ देखि ४.२ ग्रामसम्मको हुन्छ । २० वर्षमा यो ग्रन्थी लगभग २० ग्रामको हुन्छ । २०–२५ ग्रामसम्मको प्रोस्टेट ग्रन्थीलाई सामान्य मानिन्छ ।
करिब ४० वर्षसम्म यसको आकारमा खासै फरक नआउन सक्छ । तर यो ४० वर्षकै सेरोफेरोदेखि प्रोस्टेट बढ्न थाल्छ । वर्षमा करिब २.३ ग्रामको दरले यसको वृद्धि हुन्छ । विभिन्न अनुसन्धानले देखाए अनुसार प्रोस्टेटको आकार परिवर्तनशील हुँदै जान्छ । प्रोस्टेट ग्रन्थी सामान्य अवस्थामा ओखरको गेडाभन्दा अलिकति ठूलो तर सल्लाको फलजस्तो तल फराकिलो र माथि चुच्चो परेको हुन्छ । यो मूत्रथैलीको तलतिर हुन्छ । यसलाई मलद्वारबाट औँलाले सजिलैसँग छाम्न सकिन्छ । प्रोस्टेटका ४ भाग हुन्छन् ।  सीमावर्ती भागः यो सबैभन्दा ठूलो भाग हो । यसले झन्डै ७० प्रतिशत भाग ओटेको हुन्छ । मूत्रथैलीबाट टाढा हुन्छ । प्रोस्टेटमा हुने क्यान्सरको सुरु ७०–८० प्रतिशतसम्म यसै भागबाट हुन्छ । चिकित्सकले मलद्वारबाट छोएर थाहा पाउन सक्छन् ।  परिवर्तनशील भागः यो भागले युवा अवस्थामा मूत्रनलीको सुरुको ५ प्रतिशत ठाउँ ओगट्छ । यो प्रोस्टेट ग्रन्थीको एकमात्र भाग हो, जुन पुरुष बाँचुन्जेल वृद्धि भइरहन्छ । प्रोस्टेट क्यान्सरको सुरु १०–२० प्रतिशत यसै भागबाट हुन्छ । तर यो भाग प्रोस्टेट ग्रन्थि हाइपरप्लेजियाको मुख्य केन्द्र हो ।  केन्द्रीय र मध्यवर्ती भागः यो भागले वीर्य स्खलन नलीलाई घेरेर राखेको हुन्छ । यो भागले ग्रन्थीको २५ प्रतिशत ठाउँ ओगटेको हुन्छ । यो भागमा प्रोस्टेट क्यान्सरको सुरुवात करिब २.५ प्रतिशत हुन्छ । यो भागको प्रोस्टेट क्यान्सर अन्य भागको भन्दा बढी आक्रामक हुन्छ र वीर्यथैलीमा छिट्टै फैलिन सक्छ ।  अग्र भागः यो भाग रेशा तथा मांसपेशीबाट बनेको हुन्छ र ग्रन्थीको करिब ५ प्रतिशत ठाउँ लिन्छ । यो ज्यादै पातलो तर थुप्रै रक्तनलीले भरिएको हुन्छ । प्रोस्टेट ग्रन्थीले बनाउने रस वीर्यको ३० प्रतिशत हुन्छ । यो रस तितो हुन्छ । त्यसैले योनिमा हुने अम्लीयपनालाई कम गर्ने, शुक्रकीटमा भएका आनुवंशिक पदार्थको रक्षा गर्ने र शुक्रकीटको गतिशीलता वृद्धि गर्दै लामो समय जीवित राख्न सहयोग पु¥याउँछ । प्रोस्टेटले बनाएको वीर्यको भागमा पौष्टिक तत्व बढी हुन्छ ।
प्रोस्टेटको मांसपेशी सम्भोगको चरम आनन्दका बेला आफसेआफ खुम्चिएर वीर्यलाई मूत्रनलीको गोलाकार भागमा पठाउँछ । त्यो ठाउँबाट वीर्यपतनमा अरू नै मसिनो धर्सा भएका स्वेच्छाशील मांसपेशीहरू सक्रिय हुन्छन् । यसरी प्रोस्टेटले मानव प्रजननमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । प्रोस्टेटमा खासगरी ३ प्रकारका रोग लाग्न सक्छन्– १. संक्रमण तथा सुन्निने रोग– यी रोगहरू प्रोष्ट्राटाइटिसका विभिन्न रूपमा देखा पर्छन् ।  २. प्रोस्टेट ग्रन्थिको हाइपरप्लेजिया– मुख्यतया यो अवस्था ग्रन्थीको परिवर्तनशील भागसंग सम्बन्धित हुन्छ ।  ३. प्रोस्टेट क्यान्सर– यो रोग मुख्यतया प्रोस्टेटको सीमावर्ती भागमा देखापर्छ । तर परिवर्तनशील भागमा १०–२० प्रतिशत र मध्यवर्ती भागमा करिब २.५ प्रतिशत यो घातक अवस्थाको सुरुवात हुन्छ । मध्यवर्ती भागमा सुरु भएको प्रोस्टेट क्यान्सर सबैभन्दा बढी घातक तथा छिटो फैलने हुन्छ । यो आलेख प्रोस्टेट हाइपरप्लेजियामा केन्द्रित छ । पुरुषको उमेर वृद्धिसंगै प्रोस्टेटको कोशहरूको परिवर्तनशील भागमा संख्यात्मक वृद्धि हुँदै जान्छ ।
युवा अवस्थामा ग्रन्थीको ५ प्रतिशत मात्र ठाउँ लिने परिवर्तनशील भाग समय बित्दै जाँदा ठूलो हुँदै जान्छ र मूत्रनली नजिकै भएको कारण शौचमा बाधा पु¥याउन थाल्छ । प्रोस्टेट कोशहरूको वृद्धिमा पुरुष हर्मोनहरूको ज्यादै महत्वपूर्ण भूमिका हुन्छ । वैज्ञानिकहरू के पनि परिकल्पना गर्छन् भने पुरुष तथा स्त्री हर्मोनको विषमता, स्ट्रोमल तथा एपिथिलियल कोशहरू बीचको अन्तरक्रिया, कोशहरूको वृद्धि गराउने तत्व स्टेरोइड हर्मोनसंगको परस्पर क्रियाले प्रोस्टेटको वृद्धि हुन्छ ।प्रोस्टेट हाइपरप्लेजियाको लक्षण पिसाब भएपछि अन्त्यमा थोपा–थोपा गरेर चुहिने, पिसाबको धारा लुलो, मसिनो र कमजोर हुने, पिसाब फेर्न गएपछि कनेर वा पर्खेपछि मात्र पिसाब हुने, रुकीरुकी पिसाब हुने र पिसाब भएपछि निख्रेको अनुभव नहुने गर्छ । सामान्यभन्दा छिटो–छिटो पिसाब हुने, पिसाब चुहिने, राती पिसाब फेर्न उठीराख्नुपर्ने र पिसाब फेर्दा मूत्रनली पोल्ने वा दुख्ने गर्छ । तर के ध्यान दिनुपर्छ भने मूत्रप्रणालीको तल्लो भागमा संलग्न लक्षण प्रोस्टेट हाइपरप्लेजिया संँग मात्र आबद्ध छ भन्न मिल्दैन । यी लक्षण कुनै रोग विशेष वा खास अवस्थासँंग मात्र संलग्न हुन्छ भन्ने छैन । यी लक्षण प्रोस्टेट सुन्निएर वा क्यान्सर वा मूत्रनलीका अन्य अवस्थामा पनि हुन्छन् । प्रोस्टेट हाइपरप्लेजियाको कारण मूत्रथैलीबाट पिसाब मृगौलातिर प्रवाह भएर मृगौलाको कार्यक्षमता ह्रास गरिदिन सक्छ । मूत्रप्रणालीसँंग सम्बन्ध नभएका जस्तै– हर्निया, अलकाई, पिसाब थैलीको पत्थरी, दिसामा समस्या देखापर्न सक्छ । कहिलेकाहीँ मूत्रथैली र मृगौला सुन्निने, मूत्र रक्तस्राव हुने सम्भावना पनि रहन्छ ।
अल्ट्रा सोनोग्राफी गरेर प्रोस्टेटको तौल, ग्रन्थीको मूत्रथैलीभित्र घुसेको लम्बाइ र पिसाब फेरिसकेपछि थैलीमा बाँकी रहेको पिसाबको मात्रा अध्ययन गर्नुपर्छ । युरोफ्लोमेट्रीबाट मूत्रप्रवाह मापन गर्नुपर्छ । यसबाट मूत्र अवरोध भए र नभएको छुट्याउन धेरै सहयोग पुग्छ । सिस्टोस्कोपीको सहयोगले मूत्रनली तथा थैली जाँच्ने गरिन्छ । यो जाँच मूत्र रक्तस्राव भएकालाई अनिवार्य भए पनि अरू सबैलाई गर्नु आवश्यक छैन । रगत परीक्षण गर्दा प्रोस्टेट क्यान्सर पहिचान गर्न ‘पीएसए’ जाँच गरिन्छ ।उपचार विधि छिटो–छिटो पिसाब फेरिराख्नुपर्ने, राति धेरैपल्ट पिसाब फेर्नुपर्ने जस्ता लक्षणलाई तर्कसङ्गत तरल पदार्थ प्रयोगमा कटौती गरेर धेरै फाइदा पाउन सकिन्छ । दिसा कब्जियत अवस्थामा नराख्ने र पिसाब फेर्दा नहडबडाइकन निखार्ने बानी गर्नुपर्छ । पिसाब फेरिसकेपछि १÷२ थोपा पिसाबले भित्री लुगा भिज्ने भएमा लुगा लगाउनु अघि अन्डकोशको तलतिर थिचेर ननिख्रेको पिसाब निखार्ने गर्दा समस्या समाधान हुनसक्छ ।
औषध उपचारको मुख्य उद्देश्य बिरामीलाई कष्ट हुनबाट राहत दिलाउनु हो । प्रायःजसो दुई थरिका औषधिको प्रयोग गरेर बढेको ग्रन्थीको मापन घटाउने र अवरोध भएको पिसाब थैलीको घाँटी र मूत्रनलीको प्रोस्टेट संलग्न भाग खुकुलो पारेर मूत्रप्रवाहमा सुधार गरिन्छ । औषध उपचारबाट राहत महसूस नगर्ने, ग्रन्थी बढेर मूत्रथैली भित्र एक सेमीभन्दा बढी गएमा, मूत्र रक्तस्राव भएमा, बारम्बार मूत्र संक्रमण देखापरेमा, पिसाब थैलीमा थुप्रै पिसाब बाँकी रहेर मृगौला फुल्ने र मृगौलाको कार्यक्षमतामा ह्रास आउन थालेमा, मूत्रथैलीमा पत्थरी भएमा, पिसाब पुरै रोकिएमा, सम्पूर्ण शरीरलाई असर पार्ने लक्षण देखापरेका बिरामीहरूको शल्य उपचार अनिवार्य हुन्छ ।यसबाट बच्न जीवनशैली परिवर्तन गर्दै निम्न कुरामा ध्यान दिऔं बेलुका तरल पदार्थको मात्रा सक्दो कम गर्ने । कफी र मदिरा (खास गरेर बियर) को प्रयोगबाट टाढै बस्ने, पिसाब फेर्न प्रशस्त समय दिएर पिसाब पूरा निथार्न कोसिस गर्ने, पिसाब फेरिसकेपछि अन्तमा मलद्वार र लिंगको बीचको भागलाई हलुकासँग थिचेर त्यो ठाउँमा बाँकी रहेको पिसाप निथार्ने ।

शुक्रबार, चैत्र २३, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री