संशोधनवादविरुद्ध बहसको आवश्यकता

सागर कुँवर
संशोधनवादीहरूले आफूलाई मजदुर मुक्ति आन्दोलनको सर्वोत्कृष्ट हिमायती बताएका हुन्छन् तर वास्तवमा उनीहरूले मजदुरको पक्षमा होइन, प्रकारान्तले पुँजीवादको नै सेवा गरिरहेका हुन्छन् । शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण प्रतिस्पर्धाको नाममा संशोधनवादीहरूले आफूलाई माक्र्सवादी र लेनिनवादीको हबला दिएर एउटा बुर्जुवा सत्ताभित्र बुर्जुवा कानुनको अधीनस्त रहेर समाजवादको कोरा कल्पनाको सपना पनि बाँडिरहन्छन् । माक्र्सवादको सिर्जनशील प्रयोगको नाममा माक्र्सवादको मूल मर्ममाथि प्रहार गर्दै संसदीय अभ्यासमा मोह मात्र देखाउँदैनन्, त्यसैलाई नै संघर्षको अन्तिम साध्य बताउँछन् । हिंसात्मक क्रान्तिलाई उनीहरूले आतंकवाद देखिरहेका हुन्छन् । विश्व समाजवादी क्याम्पको विघटन र पुँजीवादको एकल धु्रवीय अधिपत्य कायम हुनमा संशोधनवादीले सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका थिए र छन् ।
कम्युनिष्ट आन्दोलनमा यसरी संशोधनवादीले संसदवादलाई खुला रूपमा नै संघर्षको साध्य बताइरहँदा सर्वहारा वर्गको अग्रदस्ता सच्चा कम्युनिष्ट पार्टीले त्यसविरुद्ध संघर्ष चलाउँदै वर्ग संघर्ष तथा हिंसात्मक क्रान्तिलाई मजदुर मुक्तिको अन्तिम हतियार बताउने गरेका छन् । विश्व कम्युनिष्ट आन्दोलनमा समाजवादका समस्या नाम पुस्तक लेखेर वर्नस्टिनले माक्र्सवाद र क्रान्तिकारी आन्दोलनविरुद्ध तरबार उठाएका थिए । वर्गीय समाजका समाजिक सम्बन्ध वर्गीय हुन्छन् भन्ने माक्र्सवादी विचारविरुद्ध वर्नस्टिनले वर्ग समन्वयमा जोड दिएर वर्ग संघर्षको मूल उद्देश्यमाथि हमला गरेका थिए । दक्षिणपन्थी सशोधनवादको मूल ट्रेन्डका रूपमा तयार भएको वर्नस्टिनको संशोधनवादी धारले सैद्धान्तिक रूप धारणा गरेर विश्व कम्युनिष्ट आन्दोलनमा पुँजीवादको सेवकका रूपमा विकास भएर आयो र साम्राज्यवादले कथित कम्युनिष्ट नामधारी जमातलाई अहिले पनि त्यो दिशातर्फ उन्मुख गराइरहेको छ । क्रान्तिकारी आन्दोलनलाई गलत बाटो बताउने कथित कम्युनिष्ट नामधारीहरूले संसदीय चुनावलाई मूल बाटो बनाउँदै त्यही वर्नस्टिननको चक्रपथमा घुमिरहेका छन् ।
आजको समस्या एकातिर संशोधनवादविरुद्ध वैचारिक संघर्ष गर्नु त निश्चित छ नै अर्कोतर्फ  अहिले त्योभन्दा खतरा रूपमा क्रान्तिकारी देखिएर सारमा दक्षिणपन्थी संशोधनवादको नै बाटोमा अगाडि बढेका समूह तथा संगठनका विरुद्ध पनि वैचारिक सैद्धान्तिक संघर्षको ज्वारभाटा उठाउनुपर्ने अवस्था आएको छ । एकातिर चुनावलाई कार्यनीति उपयोग मात्र बताउने तर व्यवहारमा चुनाव जित्नका लागि सबथोक बलिदान गर्ने प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा गम्भीर खतरा र चुनौतीको सवाल बनेर आएको छ । बुर्जुवाहरू भन्दा पनि तल झरेर आफूलाई क्रान्तिकारी पार्टी बताउने कुनै पनि शक्तिले प्रतिक्रियावादी व्यवस्था भित्रको चुनावमा चुनाव जित्नका लागि सबैथोक बिर्सन्छ भने त्यो झन् खतरा बनेर आउनु स्वभाविक छ । विशेष गरेर क्रान्तिकारी शक्तिहरूले चुनावलाई परिस्थिति अनुकूल सत्ता प्राप्तिका लागि नभएर कार्यनीतिक सवालमा आफ्ना राजनीतिक विचारधारा जनताको माझमा लैजानको लागि आन्दोलनका स्वरूपमा चुनावको उपयोग गर्ने गर्छन् । तर त्यस प्रकारको लिगेसीबाट नेपाली कम्युनिष्ट आन्दोलन ट्रयाकविहीन बन्ने खतरामा पुगेको भर्खर सम्पन्न निर्वाचनका कैयौं मजाकीय तत्वहरूले नै स्पष्ट गरेका छन् । क्रान्तिका लागि परिस्थिति अनुकूल नभएको अवस्थामा चुनावको उपयोग गर्ने शक्तिले सत्तामा नै पुग्नका लागि अन्तिम अस्त्रझैं गरेर चुनावमा हेलिनु निश्चित रूपमा क्रान्तिकारी आन्दोलनको भन्दा पनि तत्कालको फाइदाका लागि हो भन्ने स्पष्ट हुन्छ । वर्तमानले यसरी सच्चा कम्युनिष्ट आन्दोलनमा मजाक गरिरहेको छ ।
कम्युनिष्ट आन्दोलनमा व्यक्ति होइन, नीति, विचार र सिद्धान्त सबैभन्दा प्रधान हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा इतिहासका कैयौं कालखण्डमा व्यक्ति प्रधान बन्ने तर सिद्धान्त, विचार गौण बन्ने गरेका छन् । कम्युनिष्ट आन्दोलनको त्यो ठूलो विडम्बना हो । आफू अनुकूल सिद्धान्तको व्याख्या क्रान्तिकारी आन्दोलनका लागि गम्भीर समस्या हो । तर आजको अवस्थासम्म आइपुग्दा व्यक्तिलाई प्रधान ठान्ने प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलनमा बलियोसँग कायम छ । आन्दोलनको दौरानमा नेतृत्वको केन्द्रीकरण त गरिनुपर्दछ तर त्यो प्रक्रिया र पद्धतिसङ्गत हुनुपर्दछ । व्यक्तिको महत्वपूर्ण भूमिका हुने गर्दछ तर सबैथोक हुने गर्दैन । व्यक्तिलाई प्रधान ठान्ने प्रवृत्तिले क्रान्तिकारी राजनीतिक लाइनको होइन्, अराजकतावादी राजनीतिक लाइनको पक्षपोषण गर्छ र अन्ततः संशोधनवादलाई नै सहयोग गर्छ ।
कैयौं अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको हवला दिएर व्यक्ति प्रधान ठान्ने प्रवृत्तिले नेतृत्वका गलत रबैलाई ढाकछोप गर्न मद्दत गर्दछ । आलोचात्मक चेत विविध, नेतृत्वको चाकडी गरेर कम्युनिष्ट पार्टीको सर्वोच्च निकायमा पुग्ने प्रवृत्ति पनि कम्युनिष्ट आन्दोलनको अन्तराष्ट्रिय इतिहास रहेको छ । त्यसरी सर्वोच्च स्थानमा पुगेका यसम्यानहरूले नेतृत्वको चरम दलाली गरेर कम्युनिष्ट आन्दोलनमा लागेका इमान्दार, आलोचनात्मक चेतसहितका नेता कार्यकर्ताको कत्लेआम गर्ने र संशोधनवादको दिशारोहण गर्ने गर्दछन् । कैयौं कानुनी तर्कहरूको माझबाट नाटकीय खेलहरूको मञ्चन गर्दै यस प्रकारको प्रवृत्तिले नवसंशोधनवादको पुच्छर समात्छ र अन्ततः संशोधनवादको भुसभित्र सामेल बन्दछ । नेपालको कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था त्यो दिशातर्फ दिशान्तर हुने खतरालाई अस्वीकार गर्न सकिन्न ।
कुनै एक समय धेरै क्रान्तिकारी भएका नेताहरू अर्को कुनै समयमा क्रान्तिकारी लिगबाट बाहिर निस्केका हुन्छन् । कुनै समय चौतर्फी क्रान्तिका लागि भनेर लागेका नेतार कार्यकर्ता अर्को समय वस्तुगत तथा आत्मगत अनुकूलताको नाममा मन्द गतिमा दक्षिणपन्थी दिशामा दिशारोहण भएका हुन्छन् । अन्तर्रािष्ट्रय कम्युनिष्ट आन्दोलनको इतिहास र स्वयं नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा पनि त्यस प्रकारका कैयौं उदाहरणहरू छन् । तर तिनीहरूले आफूलाई कहिल्यै पनि दक्षिणपन्थी दिशा समातेको बताएका छैनन् र बताउने पनि छैनन् । डा. केशरजङ्ग रायमाझीले राजावादी लाइन समात्दा पनि उनले आफूलाई कम्युनिष्ट नै भन्थे । झलनाथ, ओली, माकुनेदेखि प्रचण्ड बादलहरूले पनि आफूहरूले दक्षिणपन्थी दिशा समातेको बताएका छैनन् उनीहरूले आफूलाई कम्युनिष्ट शक्ति नै दाबी गर्दै आएका छन् ।
वार्नस्टिन, काउत्स्स्की देखि ख्रुस्चेब र देङसियो पिङले पनि आफूलाई असली कम्युनिष्ट भएको र क्रान्तिकारी राजनीतिक लाइनको पक्षपाती भएको बताएका थिए । रुस, चीन लगायतका समाजवादी मुलुकहरूले पुँजीवादमा पुनःस्थापित हुने कुनै औपचारिक निर्णय गरेका थिएनन् । विश्व कम्युनिष्ट आन्दोलनको समग्र इतिहासमा कुनै पनि कम्युनिष्ट शक्तिले औपचारिक रूपमा नै दक्षिणपन्थी दिशा समातेको बताएका छैनन् । जे जति कम्युनिष्ट नामधारी शक्ति छन, तिनीहरूले आफूलाई असल कम्युनिष्ट शक्ति नै दाबी गरिरहेका छन् । उनीहरूले औपचारिक रूपमा कम्युनिष्ट आन्दोलनको मूल लिगेसी छाडेको घोषणा गरेका छैनन् । तर, व्यवहारमा उनीहरूले कम्युनिष्ट आन्दोलनका मूलभूत सिद्धान्तलाई परित्याग गरेका छन् । संसारकै सर्वशक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टीदेखि भारतीय कम्युनिष्ट पार्टीका कैयौं गुटले त्यस प्रकारको औपचारिक घोषणा गरेका छैनन् । नेपालका दक्षिणपन्थी संशोधनवादमा भासिएका एमाले–माओवादीले त आफूलाई क्रान्तिकारी दल बताइरहेकै छन् । कुनैपनि शक्तिले आफूले कम्युनिष्ट हुँ भन्दैमा त्यो कम्युनिष्ट हुँदैन र प्रजातान्त्रिक हुँ भन्दैमा त्यो प्रजातान्त्रिक पनि हँुदैन । कम्युनिष्ट हुँ भन्नेले कम्युनिष्ट नैतिकता, आदर्श, नीति सिद्धान्तलाई अनुसरण गरेका छन् कि छैनन् । त्यसले निर्धारण गर्छ भने प्रजातान्त्रिक शक्ति हुँ भन्नेहरूको सवालमा पनि त्यही लागू हुन्छ ।
माक्र्सवादका आधारभूत सिद्धान्तहरूलाई व्यवहारमा लागू गर्दै सर्वाहारा श्रमजीवी जनताको पक्षमा निरन्तर नलड्ने तर आफूलाई कम्युनिष्ट भएको दाबी गरिरहने, माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई आत्मसाथ नगर्ने तर आफूलाई कम्युनिष्ट दाबी गरिरहने जमात नै अहिले बढी शक्तिशाली छ । त्यसका अलवा, माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको आलोकमा अगाडि रहेको पार्टीहरूले पनि व्यावहारिक रूपमा त्यसको सच्चाइका लागि योजना बनाएको र काम गरेको पाइँदैन । त्यस अवस्थामा त्यो प्रकारको प्रवृत्तिले सही ढङ्गले कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी दिशानिर्देश गर्न सक्दैन । भविष्यमा यो अवस्था स्थायी रूपमा रहँदैन । तर अहिलेको विडम्बना आफूलाई क्रान्तिकारी शक्ति दाबी गर्ने तर दक्षिणपन्थी संशोधनवादको पुच्छर बन्ने आधुनिक संशोधनवादले नयाँ रूपमा कम्युनिष्ट आन्दोलनमा अर्को पकड जमाउँदै अगाडि आएको छ । त्यो नै खतराको स्थिति हो ।
माथि जुन प्रकारको गम्भीर स्थिति देखिएको छ, त्यसमाथि ध्यान दिँदा क्रान्तिकारी शक्तिहरूले सर्वप्रथम संशोधनवाद र नवसंशोधनवादका विरुद्ध वैचारिक तथा सैद्धान्तिक लडाइँलाई माथि उठाउनु पर्छ । एकातिर दक्षिणपन्थी संशोधनवादको खिलाफमा त अर्कोतर्फ क्रान्तिकारी आवरणमा संसदवाद उन्मुख नवसंशोधनवादका विरुद्ध दरिलो संघर्ष चलाएर नै हामीले क्रान्तिकारी विचारधारको रक्षा र विकास गर्न सक्छौं । त्यो प्रकारको वैचारिक संघर्षका लागि आज वैचारिक फोरम चलाउँदै नयाँ जनवादी क्रान्तिको आधारभूत तयारी स्वरूप सुस्पट, अनुशासित, मिलिटेन्ट, क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण र विकासलाई अगाडि बढाउन सक्छौं । नेपालको वर्तमान कम्युनिष्ट आन्दोलनमा जर्बजस्त बलियो बनेर अगाडि आएको संशोधनवाद र क्रान्तिकारी आवरणमा त्यसको पुच्छर बन्दै गैरहेको नवसंशोधनवादको खिलापमा क्रान्तिकारी शक्तिहरूले एक ढिक्का भएर बहस चलाउनु  आजको समयको प्रधान सवाल हो । सर्वाहारा वर्ग त्यसको अग्रदस्ता क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको वर्तमान र भविष्य त्यही बहसले दिशानिर्देश गर्नेछ ।

बिहिबार, चैत्र २९, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री