जमीनमुनिको यात्रा–११

कृष्णराज शर्मा-मेरो कलेज जीवनमा यौटा अत्यन्त मिल्ने साथी थिए । त्यो समयमा हामी अचम्मै मिल्थ्यौं ।  उनको मातृभाषामा साथी भनेर बोलाउँदा मलाई ‘पासा’ भन्थे । तिनै साथी अहिले अमेरिका छन् । लामै समय भयो उनी त्याहाँ पुगेको । संयोगले मेरो छोराको बसाईको वरिपरी नै उनको व्यवशाय र बसाई रहेछ । कोही साथी यस्तो हुन्छ,जस्तोसुकै ठाकठुक् परेपनि स्मरणमा सदा मिठासयुक्त हुन्छ । मायालु नै लाग्छ । उनी त्यस्तै थिए । ईगो आ(आफ्नो होला । समयले हिंजोको अवस्था आज हुन दिन्न,आजको अवस्था हिंजो हुन दिएन । जीवनलाई व्यवहारिक पाटोमा प्रवेश गराउँदा स्वतः फरक पार्छ । गैह्रजिम्मेवारीपन बाट जिम्मेवार बन्दा सबैलाई यस्तै हुन्छ । यस्तो कुरा हामी दुवैलाई थाहा छ । हिंजोको गैह्र जिम्मेवार समयका ति अविष्मरणीय क्षण आज पनि झलझली याद आउँछन् । उचक्–उचक् गर्ने उचकाहा पनि हौं हामी । तर कसैलाई मर्का पारेनौं । ठट्टा भने गर्यौं ।
ठट्टामा कसैलाई मर्का पर्नु भनेको उत्कृष्ठै ठट्टा हो । यि सबै आपसमा मिल्ने साथी(साथीकै बीचमा हुने गर्थे । ठट्टा गर्दा हामी पनि मर्कामा परेका छौं । बस्,अरूकेही गरेनौं । कसैलाई बिगारेनौं । उनले पनि संझन्छन होला, मैले पनि संझन्छु । हामी कलेजका त्यस्ता रमाईला साथी थियौं ।  क्यालिफोर्नीयामा दशैं मनाएर फर्केपछि बाल्टिमोरमा हाम्रो आफ्नै खालको दिनचर्या चलिरहेको थियो । खासै बाल्टिमोरमा घुम्नु पर्ने बाँकि थिएन । एकसरो सबै घुमीसकेका थियौं । त्यसैले कतै जानु थिएन । जानु थियो त यौटै ठाउँ बाँकी थियो, त्यही साथीको घर ।  काठमाण्डौमा अमेरिकाको भिसा लागे देखिनै उनलाई भेट्ने मेरो मन भएको थियो । त्याहाँ पुगेर सोध–खोज गर्दा थाहा लाग्यो, उनी त छोटो समयका लागि नेपाल पो पुगेको रहेछन ! केही समय पछि उनी नेपालबाट अमेरिका फर्के । आएपछि फोनमा कुरा भैरहे । भेट हुन भने अझै सकेन । हामी क्यालिफोर्नीया बाट फर्केपछि उनैले एक दिन एक्कासि बोलाए । उनी आँफैले हामीलाई लिन आएर उनको घरमा गयौं । मेरो साथमा श्रीमती पनि थिईन् । साथी साथीका बीचमा हुने गफ श्रीमतीसंग पनि हुन्नन् अथवा श्रीमतीका साथी–साथीका बीच हुने गफ श्रीमान्संग पनि हुन्नन् भन्ने त भनाई नै छ । बाटोमा हल्का–फुल्का गफ भए । गाडी भित्रको छोटो यात्रा घण्टौं बसेर गरिने खालका गफ हुने कुरापनि भएन । हाम्रो अपार्टमेण्टबाट उनको घर पुग्न करिब १५–२० मिनेटको दुरी रहेछ । यसबीचमा बाटोमै केही सपीङ भयो सपीङ सेण्टरमा । घर वरिपरिको स्थानीयताले मेरो मन लोभ्यायो । हुनत अमेरिका भरिनै घर लिएर बसेकाहरूको घर वरिपरीको बाताबरण देखेर नलोभिने को छ र ? अनि म नलोभिनु किन ? निकै नै चित्ताकर्षक उनको घरमा पुग्यौं ।  त्यो साथीकोमा सानो जमघट् नै रहेछ । सबै नेपाली मित्रहरू त्याहाँ भेट भयो । अपरान्हको समय थियो । गेट् टुगेदर गर्दै रमाईलो हुनेवाला रहेछ ।
एक प्रकारको उत्सव हुँदै थियो । यो गेट टुगेदरको मुख्य आकर्षण भने यौटा ठूलो ‘चरो’ रहेछ । वाफ रे वाफ ! कत्रो हो ? कति ठूलो चरा हो त्यो ? झट्ट हेर्दा दशैंमा च्याङ्ग्रा ढले जस्तै त्याहाँ सिंगो ठूलो ’चरो’ ढलेको थियो । डाईनिङ टेबुलको माथी ठूलो किस्तिमा छाती फुलाएर ढलेको थियो । रोष्टेड् बनेर खान चाहनेलाई खुवाउन तैयारी अवस्थाको यो चरो थियो । यो ढलेको चरोको नाम रहेछ( टर्की ! जीवनमा पहिलो पटक त्यो चराको मासु मुखमा पर्ने भयो । त्याहाँ पुगेको केही समय पछि खानेपिउने क्रम चल्यो । ईच्छ्याएको कुरा झिक्दै खाँदै गर्ने बफेट् सिस्टम थियो । पहिला त चरो देखेर त्यसै शक्–शक् लागेको थियो । मनले नाईँ नाईँ भो–भो भन्दै थियो । सबैले त्यही चरोमा नाईफ् चलाएको देखेर मैले पनि नाईँ भन्न सकिन,नाईफ् चलाएँ । चट्ट चिरें । फट्ट झिकें । अलिकति, थोरै झिकें । पछि खाँदा–खाँदै गर्दा पो पछुतो भयो । चरप्पै पो झिक्नु पर्ने क्या झूर्…! भन्ने भयो । त्यो टर्की मेरा लागि त ‘टु ईन वान्’ पो भयो । चरो खाएर माछाको स्वाद् ! वाह्, कति मिठो ! वायुचरले जलचरको स्वाद् दियो । अट्ठाईस बर्ष पहिला दक्षिण कोरियामा खाने गरेको माछाको स्वाद यही टर्की चराले दिएको थियो । मिठो लागेपनि कोरियामा जस्तो उम्लि–उम्लि खाने उमेर यो थिएन । सबै खानपानमा अनुशासित हुँदै सेल्फ सेन्सरसिप लागु गर्नु पथ्र्याे । खाना चालु नै रह्यो । खाँदै गर्दा मनमनै कुरा पनि खेल्थे । आज यसो हुनुको खास उपलक्ष के हो ? बुझेको थिईन । नियमित जमघट होला भन्ठानें । तर त्यसो होईन रहेछ । आज खास र बिशेष दिन रहेछ । अमेरिकामा आजको यो दिनलाई ‘थ्याङ्क्स् गिभीङ डे’ अर्थात धन्यवाद् दिने दिबसको रूपमा मनाईने रहेछ । हरेक अँग्रेजी बर्षको नोभेम्वर महिनाको चौथो बिहीबार यो दिबस पर्ने रहेछ । यही अबसर पारेर म पनि मित्रको संझना भित्र परेको रहेछु । विविध कुरा खेल्दै गर्दा  एकापसमा नेपाली मित्रहरूसंग चिनजान गर्यौं । नेपाली फूलबारीका विभिन्न फूल त्याहाँ फूलेका थियौं । परिकार पनि सबै लगभग नेपालीपन मै थियो । त्याहाँ उपलब्ध पेय पदार्थ र त्यही ठूलो चरो मात्रै नौलो थियो । मलाई त्यो चरोको बारेमा जिज्ञासा जाग्यो । सोधें पछि थाह भयो– आजको दिनमा यो चरोको मासु खानै पर्ने त्याहाँको सँस्कृति बनेको रहेछ । हाम्रो देशमा हुनेखानेहरूले दशैंमा च्याङ्ग्रा र च्यालुक नभएको दशैं, दशैं नै नलागे जस्तै त्याहाँको ‘थ्याङ्क्स गिभिङ डे’मा टर्की नहुनु खल्लो हुने रहेछ । चरो खाईनु जरूरी रहेछ । मैले सुनेको कुरा विस्मृतिमा गएको रहेनछ भने त्याहाँ यो दिनमा करिब पन्ध्र करोडको सँख्यामा टर्की ढालिने रहेछ । सुनेर म दङ्ग परें । नेपालमा झैं त्याहाँका पशुपंक्षीका अधिकारकर्मीले के गर्दा होलान् ?  परम्परादेखि मनाईंदै आएको यो दिवसलाई पनि राष्ट्रपति फ्राङ्कलिन डि.रूजवेल्टले सन् १९३९ मा आएर एक हप्ता अगाडी सारेका रहेछन् । यो दिवस परिवर्तन गरेकोमा बिरोध पनि भएको रहेछ ।
तर उनले हरेक बर्षको अन्ततिर झोक्रिने गरेको खुद्रा व्यापारलाई तंग्राउन यसो गरिएको भन्ने उनको भनाई रहेछ । यो दिन आउनु केहिदिन पहिले देखिनै अमेरिकामा व्यापक किनमेल हुनेरहेछ । तत्काल उनको निर्णय लादिँदा कतिपयले बिरोध गरे त कतिले फ्राँकलिनलाई उल्लु बनाउँदै ‘फ्राङ्क गिभिङ डे’ पनि भनेका रहेछन् । त्यसपछि आजसम्म त्यही रूजवेल्टले तय गरेको नोभेम्वरको चौथो बिहिबारलाई नै ‘थ्याङ्क्स गिभिङ डे’को रूपमा मनाईंदै आएको रहेछ । यो दिबस विश्वका अन्य कैयौं मुलुकमा पनि फरक–फरक मितिमा मनाईने रहेछ ।  एक चरणको खानपिन पछि पुनः अर्को सामिप्यता ल्याउने मनोरञ्जन गर्नतर्फ लाग्यौं । नेपालमा छुन पनि छोडेको तास त्याहाँ देखा पर्यो । तास बर्वाद पनि हो, खेल्न जाने मित्रका बीच हुने संवाद पनि हो । यो केवल समय बिताउन र साथीसाथीका बीच घुलमिलका लागि खेलिएको मनोरञ्जन मात्र थियो । हामी हारजीत भन्दा पनि आत्मियता र रमाईलोका लागि खेलेका थियौं । तर भैदियो कस्तो भने खेलाडी अनाडी भयो,अनाडी खेलाडी भयो । मेरो हकमा,म अनाडी भएर पनि अन्तमा खेलाडी भएर खेल समापन भयो । उठ्यौं । लगभग जोडीहरूकै जमघट भएकाले सबै आ–आफ्नो घर जानु पर्ने भएकोले डिनर लिएपछि विदावादीका लागि तयार भयौं ।  विदा हुनु पूर्व धन्यवाद कसले कसलाई दिने भन्ने बारेमा चासो रह्यो । विगत लामो समयदेखि बस्दै आएका साथीहरूले थाहा भएसम्म बताए । जसले यो धर्तीमा जन्म दिलायो ऊ धन्यवादको पहिलो हकदार हुने रहेछ । जन्मदिने आमाबाबु धन्यवादका लागि अग्रस्थान ओगट्ने रहेछन । त्यसपछि जगतमाता जसले जन्मेपछि अन्नपानी उपलब्ध गराउँछिन् उनी पर्ने रहिछन् ।
र जसले जीवनलाई सत्मार्ग तर्फ दिशानिर्देश गर्यो ति ति धन्यवाद दिन योग्य हुनेरहेछन् । हाम्रो नेपाली सँस्कृतिमा आमा बाबा र गुरू धर्ती पृथ्वी चन्द्रमा जल वायुलाई पूजे संझे जस्तै त्याहाँ धन्यवाद ज्ञापन गरिने रहेछ । दिवसको महत्वको बारेमा चासो मेट्यौं र तत्तत् ति सबैलाई हार्दिक धन्यवाद टक्र्याउँदै साथीसँग विदा हुँदै उनकै गाडीमा पुनः आफ्नै अपार्टमेण्टमा फर्क्यौं ।  कोठामा फर्केपछि ‘थ्याङ्क्स गिभिङ डे’ र अन्य विविध कुराकानी भए । उनै मेजमानी साथीले बाल्टिमोरको टाउसनमा भव्य रेष्टरेण्ट संचालन गरेका छन् । नेपाली खानाको लागि प्रसिद्ध बनेको छ उनको ’काठमाण्डौ किचन’ नामको रेष्टुराँ । हामी कफि पिउन पुग्दा नेपालीहरू त्यही रेष्टुराँमा भेटिएका थिए । अरू नेपालीहरूले पनि त्याहाँ रोजगार पाएका छन् । देश छोडेर टाढा पुगेपछि नेपाली देख्दैमा रमाईलो हुन्छ । को के कहाँको भनेर सोध्नै पर्दैन । त्यसैत्यसै खुशी लाग्छ । उनै साथीको त्यो ‘काठमाण्डौ किचनमा’ त्यस्तो रमाईलो र आफ्नोपनको सुखानुभूती मिलेको थियो । तर त्याहाँ आमा छोराका अगाडी साथी सुन्दरश्याम राजभण्डारी र मैले कलेज जीवनमा गरेका उमेरजन्य उचकाहा कुरा सुनाइन । मनमनै त्यो उचक् कामको भने स्मरण गरें । मैले माथी उल्लेख गरेको ठट्टा यहाँ संझदा स्वास्थ्यकर नै हुन्छ ।
साथै मित्र सुन्दरलाई अझ गहिराईमा स्मरण गर्न सकिन्छ ।  उचक् के थियो भने– हामी दुई बाहेक अर्को मिल्ने साथी पनि थियो । हामी विवाहित थियौं ऊ थिएन । किन ढिलाई हो ? खै, कहिले हो पार्टी खाने ? सोधेर हैरान पाथ्र्याे । उसले छिमेकी एउटी कलेज गर्ललाई मन पराउने रहेछ । तर ति कलेज गर्लको नजरमा उनी नपर्ने रहेछन् । तर, एकोहोरो उसैको लागि ढिपी गर्थ्यो । मनको लड्डु दूध मह र घ्यू समेत मिसाएर निकै खाने गथ्र्याै । गुड्डी मात्रै ठूलो तर माखो नमार्ने ! “पख न पख,यो सिजनमा म पार्टी खुवाउँछु । स्योर, हण्ड्रेड पर्सेण्ट’’ भन्थ्यो । सबै मजाकमै रहन्थे । खानु भन्दापनि विवाह योग्य उमेरमा साथीसाथीका बीच जिस्किनु मजा हुन्छ । त्यही मजाक हो यो ।  एकदिन कलेजको चौरमा बसेर हामी दुईले यौटा नाटक कथ्यौं । नजिकैको जिल्ला हुलाकमा पुग्यौं । एक रूपैयाँमा यौटा हवाई–पत्र पाईन्थ्यो । किन्यौं र उही कलेज गर्लको तर्फबाट उसलाई लभ लेटर लेख्यौं । सुन्दरले प्रेमको भाषा भन्ने मैले लेख्ने गर्यौं । पत्रमा प्रेम भाव जसरी दर्शाउनु पथ्र्याै जानेसम्म मर्मस्पर्षी लेखियो । चिट्ठी तयार भयो । पत्र–मञ्जुषामा त्यो हवाई पत्र खसाल्यौं । हामी कलेज फर्क्यौं ।
र त्यो दिनको पढाई सकेर घर आयौं । सूचनाको सञ्चार अहिले जस्तो थिएन । बेलुका भेट्यौं । हवाई–पत्रको भावना पढेर त्यो साथी तीनहात उफ्रेछ । खुसुखुसु अन्तरंग अरूलाई पनि त्यो हवाई–पत्र देखाउँदो रहेछ । हवाई–पत्र छातीमै टाँस्दो रहेछ । यो सुनेर हामी मरीमरी हाँस्थ्यौं । धेरैदिन सम्म हामी त्यसरी हाँस्यौं । संझेर अहिले पनि हाँस्छौं । देखेको पाईन्न लेखेको पाईन्छ भन्ने अग्रज बुढापाकाको भनाई अनुसार केही समय पछि उसको विवाह बागलुङ देखि सुदुर पश्चिममा भएछ । उसले मुटुमा राखेकी त्यो केटीसँग विवाह भएन । ऊ अरू कसैकि भएर गई । मैले तेश्रो त्यो मित्रलाई हाम्रो त्यो उचकाहा काम आजसम्म भनेको छैन, सुन्दरले सुनाएको भए राम जाने ! क्रमशः…..

आइतवार, बैशाख २, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री