ढुंगाखानीले लाखौं कमाई

बागलुङ, ३ चैत-बजारमा घर बनाएपछि आर्कषक देखाउन प्रयोग हुने ढुंगा कुदेर विक्रि गरेर बागलुङको ताराखोला गाउँपालिकाका व्यवसायीले लाखौं कमाई गर्न सफल भएका छन् । ताराखोला–२ अर्गलका चन्द्रबहादुर घर्ती, गोविन्द घर्ती लगायत धेरै जनाले दर्जन बढी ढुंगाखानी संचालन गरेर आम्दानी गर्न सफल भएका हुन् । उनीहरुले दिगो आम्दानीको श्रोत खोज्दा आफ्नै खरबारीमा ढुंगाखानी संचालन गर्न सकिने पत्ता लगाएका हुन् । राजधानी लगायत पोखरा, बुटवल र हरेक बजार क्षेत्रमा घर सजाएर चिटिक्क बनाउने ढुंगा उनीहरुले विक्रि गरेका हुन् । घर्तीको अर्गल स्थित भातखानेडाँडा नजिकैको ढुंगाखानीबाट उत्खनन् र निकासी गर्दा मासिक दुई लाख रुपैयाँ कमाई गर्न सफल भएको बताए । घर्तीको ढुंगाखानीमा अहिले ११ जना युवाले रोजगारी पाएका छन् ।
उनीहरुलाई पनि काम अनुसार ज्याला दिइएको छ । जेनेरेटरबाट विद्युत उत्पादन गरेर ढुंगा काट्ने काम गरिन्छ । यसरी उत्खनन् गरेको ढुंगालाई एक ईन्च पातालो, ३ ईन्च चौडा र १२ ईन्च लम्बाईको टुुक्रालाई १५ रुपैयाँमा विक्रि गर्छन् । बजारमा पुग्दा एक टुक्राको ८० रुपैयाँसम्म पर्छ । गाउँपालिका भन्दा बाहिर निकासी गर्दा प्रति टुक्राको २५ पैसा गाउँपालिका र २५ पैसा जिल्ला समन्वय समितिले कर लिने गरेको छ । पोखरास्थित विन्दवासिनी टायल सप्लायर्सले उनको खानीबाट नियमित आपूर्ति गर्छ । त्यस्तै गलकोट, बागलुङ बजार र बुटवलमा पनि उनको खानीका ढुंगाको माग छ । ‘अहिले ११ जनाले काम गर्दा पनि आवस्यकता अनुसारको ढुंगा पु¥याउन सकेका छैनौं’ घर्तीले भने, ‘अधिकांसले आँफै ट्रयाक्टर लिएर आउँछन् ।’ खानीमा काम गर्ने अधिकांसले मासिक २४ हजार कमाउँछन् । निजी पाखोमा भएपनि कानून अनुसार दर्ता गर्ने तथा करको दायरामा लगेको घर्तीले दावी गरे । वातावरणीय प्रभाव मूल्यांकन, उद्योग विभागमा दर्ता लगायतका प्रमाणपत्र समेत पाएर यो काम थालेका हौं ।
शुरुका केही बर्ष परीक्षणको रुपमा काम गरेका घर्तीले व्यवसायिक उत्पादन थालेपछि दर्ता गरेरै चलाएको बताए । ताराखोलामा केही उद्योग अझै दर्ता भएका छैनन् । उनीहरुलाई दर्ता गराएर कानून अनुसार कर तिर्ने बनाउन लागेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘गाउँपालिकाको आन्तरिक आम्दानीको श्रोत छैन, त्यसैले सबै खानीलाई करको दायरामा ल्याउने योजना छ ।’ कानूनी प्रावधान पु¥याएर खानी संचालन गर्दा यहाँका दुइसय युवाले रोजगारी पाउन सक्ने उनले बताए । ताराखोला गाउँपालिकामा यस्ता ढुंगाखानी भएको र उत्खनन् गर्न सकिने संभावनाबारे १० बर्षअघि बागलुङकै सुवासचन्द्र राजभण्डारीले पत्ता लगाएका थिए । केही समय उनले पनि उत्खनन् गरेर विक्रि गरे । भण्डारीले स्थानीयलाई खानीको बारेमा जानकारी गराएर छाडेपछि अर्गल, ताराखोला र अमरभूमिमा उद्योगको रुपमा ढुंगाखानी संचालनमा आउन थालेको हो । गाउँपालिका भित्रका मानिसले घर बनाउने काममा प्रयोग गर्दा भने कर लाग्दैन ।
‘अन्य गाउँमा खाद्यान्न भरेर ट्रयाक्टर जान्छन् र रित्तो फर्कन्छन्’ स्थानीय महेन्द्र घर्तीले भने, ‘हाम्रोमा रित्ता ट्रयाक्टर ढुंगा लगायतका स्थानीय उत्पादन लिनका लागि आउँछन् ।’ गाउँपालिकाले समेत जस्ता पाताको आयातमा रोक लगाएको छ । सबै घर स्थानीय उत्पादनको रुपमा ढुंगाले छाउने नियम बनाएपछि छिटफुट रुपमा रहेका जस्तापाता पनि बिस्थापित हुने क्रम बढीरहेको छ । आर्कषक, पातालो र हलुका पाता निकालेर घर छाउँदा निकै राम्रो देखिने गरेको छ ।

सोमवार, बैशाख ३, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री