ढोरपाटनमा टुजी र थ्रिजी विस्तार

थम्मन थापा
बागलुङ, १० वैशाख– नेपाल टेलिकमले बागलुङको पर्यटकिय स्थल ढोरपाटनमा माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको छ । टेलिकमले बागलुङ सदमुकाम देखि १ सय २४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाँडामा टावर राखि सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । समुन्द्र सतह देखि ३ हजार २ सय मिटरको उचाईमा अवस्थित पर्यटकिय स्थल ढोरपाटन उपत्यकामा सेवा सञ्चालनको लागि जिल्लाको ढोरपाटन नगरपालिका ८ को विकट ठाउँ बोबाङमा रिपिटर स्टेशन राखि माईक्रोवेभ लिङ्कमार्फत सेवा सञ्चालनमा आएको हो ।
डाँडामा विद्युत सेवा पुराउन कठिन भएकोले सोलार सेट मार्फत टावर सञ्चालन गरिएको छ । टुजी र थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि ढोरपाटन उपत्यका सँगै बोबाङका झण्डै ५सय घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन ।
टावर सञ्चालन भएपछि अहिले कपिलवस्तु सालझण्डी–ढोरपाटन हाईवे अन्तरगत बोबाङ देखि ढोरपाटन उपत्यका सँगै ढोरपाटन शिकार आरक्ष सम्मका भुभागमा टेलिकमको मोवाईल सेवा पुगेको छ । नयाँ प्रविधिमा स्तरोन्नति गर्दै अन्य स्थानमा समेत विटिएस थप गर्दै लगिएको शर्माले बताए । यसअघि उक्त स्थानमा पुरानो भिस्याट प्रविधिको टुजी सेवा मात्र सञ्चालनमा रहेको थियो । भिस्याट प्रविधिमा भ्वाईसमा सिमित क्षमता र डाटा चलाउन नमिल्ने भएकोले ढोरपाटनबासी र त्यहाँ पुग्ने पर्यटकहरुले सञ्चार सेवा सहजै उपभोग गर्न पाएका थिएनन ।
भौगोलिक विकटता र चुनौतिका बाबजुत ग्रामिण क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा जोड्न र त्यहाकक पुग्ने पर्यटकहरुलाई सहजता प्रदान गर्न टेलिकमले उपल्लो ढोरपाटन उपत्यकामा जिएसएम मोवाईल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको टेलिकम प्रमुख शर्माले बताए । मोवाईल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरिय सेवा भ्वाईस तथा डाटा मार्फत ईन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ ।
उक्त टावर निर्माणको गर्न पहलकदमी र त्यसको लागि भौतिक व्यवस्थापनमा ढोरपाटन नगरपालिकाले सहयोगमा गरेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बताए ।

सोमवार, बैशाख १०, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री