कम्युनिस्ट गायक जीवन शर्माको रामकहानी

अक्षर काका
केही समयअघि चुनाव भयो । वामपन्थी गठजोडले झन्डै दुईतिहाइ मत प्राप्त गर्‍यो । अहिले मुलुकमा वामअधीनस्थ सरकार छ । सत्ता–सदन, गाउँ–नगरका सबै तहमा उनीहरूकै हालीमुहाली छ ।
आश्वासनका रिकापीमा समृद्धिको सुस्वादु केक तयार छ । मनलाग्दी आस्वादित हुन सकिन्छ । मोनोदेखि मेट्रो रेलसम्मका योजना मल्टिप्लेक्सका पर्दामा सल्बलाइरहेछन् । गफै सही— समुद्रमा नेपाली झन्डावाहक पानीजहाज हुइँकिन तम्तयार छन् । आँउदो ५ वर्षभित्र समुन्नतिले सगरमाथा चुम्छ !
३० वर्षदेखि जनताका दुःख–पीडा गाउँदै हिँडेका जीवन शर्माको मन यतिबेला खुशीले आह्लादित हुनुपर्ने हो । कारण— उनैका गीत सुनेर ‘कम्युनिस्ट’ बनेका कतिपयले सत्ताको डाडुपन्यु समाएका छन् । तर, झनै निराश छन् उनी ।
“यौ मौनता सुनामीअघिको सन्नाटा हो । समाज गतिशील छ, विद्रोह ढिलोचाँडो निम्त्याउँछ नै,” ओठबाट खस्रो सुस्केरा छुट्छ ।
परिवेष्ठित भू–खण्ड । समुद्र दूरको कुरा । ज्वारभाटा झनै टाढाको कुरा हो हाम्रा लागि ।
तर, कोटि जनताका आँखामा पीडाका आँसु छचल्किइरहेका छन् । हातमुख जोड्नकै लागि खाडीमा बगेका छन् पसिना । तिनका परिवारजनको आँसुको भेल । उत्पीडन र दलनको जाँतामा निर्मम पिसिन अभिशप्त । भरदिन भारी बोक्दा पनि चुह्लो तताउन असमर्थहरूको आँसुको खोल्सो समुद्रभन्दा चर्को हुने र विद्रोहको सुनामी निम्त्याउने ठोकुवा गर्छन् उनी ।
जीवन शर्माले परिवर्तनको सुसेली हाल्न शुरू गर्दा जुँगाका रेखी बसेका थिएनन् । अहिले तालुमाथिका रौं गन्न सकिन्छ । काँसजसरी कपाल फुलिसक्यो । अनुहारका बाक्ला धर्साले ठुल्ठूला सङ्घर्षको गल्छेँडा छिचोलेको आभास हुन्छ । दृष्टि पातलिएर होला धूमिल देखिन्छ आकृति पनि ।
तर, पनि परिवर्तनको यात्रामा अविचलित छन् उनी । किन ?
“समाजको गति र लयलाई पकड्न नसक्ने हो भने जीवनको दुर्गति अनिवार्यजस्तै छ,” गहिरो निःस्वास छाड्छन् ।
० ० ०
बाग्लुङ पुख्र्यौली घर । पाइ भन्ने सानो गामल । सुखी–समृद्ध परिवार । पिता चन्द्रदत्त उपाध्याय, प्रधानपञ्च । घरमा राजनीतिक गफ हुने नै भयो ।
पुस्तैनी जमिन्दार । बाबु गाउँको तालुकदार पनि भएकाले गरिब, निमुखाहरू बिन्ती बिसाउन आइरहन्थे । तिनको करूण याचना, जीवन भोगाइका दारूण सङ्घर्षसँग बालखैमा चिनापर्ची भयो ।
निर्धनका अकिञ्चन आँसु, विदारक चीत्कार जीवन बुझाइका पाठशालामात्रै बनेनन् चेतनाको चिराग बनेर अन्तर्मनमा प्रज्ज्वलित भइरह्यो । तिनैले त हुन् उनलाई परिवर्तनको मार्गमा हमेसा डोहोर्‍याइरहने । र त, भीर–पहरामा जीवन खोजिरहेका तिनैका आँसु–पसिनाका ढिक्का टिपेर गीत–संगीतका मोती बनाए उनले ।
बाबु गाउँको जिम्मालमात्रै थिएनन्, नामुद पण्डित पनि । आधा–बिहान त न्यासध्यानमै बिताउँथे । श्रीमद्भागवत, गीताका श्लोकादि वाचन गर्ने, धार्मिक–प्रवृत्त, पण्डितज्ञका छोरा । कम्युनिस्ट विचारधारातिर लहसिएको कहाँ मन पराउनू ? तर, पत्तै नपाई कम्युनिस्टतिर आशक्ति बढ्यो ।
घरमै ‘कखरा’ सिके । प्रवेशिका परीक्षाचाहिँ सकुर्वाको जनता माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका हुन् उनले । पढाइमा प्रतिभाशाली, विलक्षण थिए । सुनेका कुरा टपक्कै टिप्ने र वर्षौं नबिर्सने तीक्ष्ण थियो दिमागी–चेत ।
घरमा सांगीतिक माहोल थियो । बाबु हार्मोनियम बजाउँदै भजन–किर्तन गाइरहने । आमाको स्वर उस्तै जादुयी थियो । घाँस–दाउरा गर्न वनउपवन जान्थिन् । गीत गाएको आवाज घरमा समेत सुनिन्थ्यो । ‘कोकिल–कण्ठी’ भन्थे सबैले । विरासतमै पाए गीत–संगीत ।
गीत–संगीतसँग सान्निध्यता पाएपछि गीतको क्षुदा आफैंभित्र पनि जगाए उनले । बाँसझ्याङमा गएर राम्रो बाँस छान, चुप्पीले ताछ, घरमा आएर आँसीको पारो तताऊ, मिलाएर बाँस खोप र बाँसुरी बनाऊ । यसरी उनी सांगीतिक तिर्खा मेट्थे । प्रकारान्तरले यही कृत्यले उनलाई ‘जन–गायकको’ उपमा थमायो ।
भिनाजु हरिप्रसाद सुब्बा, पश्चिममै तिनको प्रसिद्धि थियो । बरोबर घरमा आइरहन्थे । उनको कुराकानीमा परिवर्तनको बाछिटा यदाकदा देखापथ्र्यो । तर, बाबु त्यसको विरोधी खेमाका । मूलतः राजावादी थिए उनी । राजसंस्थालाई उन्नतिको साधक बन्ने ऊबेलाकै राजनीतिक चेतना थियो पिताजीको । तर, त्यसको विपर्याय निस्किए उनी ।
देश पञ्चायती कालकोठरीमा । जनअधिकार सबै राजाको बाहुलीमा । जनजीविकाका सबै अवयममा उनको हुकुम र तजबिज चल्थ्यो । हाइस्कुलमा पढ्दाताका गुरुहरू किताबमात्रै होइन, परिवर्तनको पाठसमेत पढाउँथे । उनीहरूको आवाजमा देश र जनताको मुक्तिको सपना सन्निहित हुन्थ्यो ।
पञ्चायत फाल्न र ढाल्न मसाल बाल्न अभिप्रेरित गरिरहन्थे । देश जनताको सर्वांगीण विकासको बाधक बनेको पञ्चायतको समूल अन्त्यका लागि विद्यार्थी आन्दोलन साधक बन्नुपर्ने तर्क गरिरहन्थे ।
दिमाग तरङ्गित हुन थाल्यो । र, मथिङ्गलमा जनवादी क्रान्तिको फिलिंगो पो नाच्न थाल्यो । कक्षा ७ पढ्दा नै अनेरास्ववियूको विधान र प्रतिवेदन पढ्ने मौका पाए ।
“ओछ्यानमुनि लुकाएर तीन दिनमै पढिभ्याएको थिएँ,” उनी सम्झन्छन् ।
त्यसबाहेक ‘द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद’ किताब पनि त्यतिबेलै पढेका हुन् उनले । त्यसले जनवादी क्रान्ति र वर्ग–संघर्षका आयामहरूलाई परिभाषित गर्न मद्यत दियो । समाजका दुःख, पीडा सँगालेर शब्दमा उतार्न बल पुर्‍यायो ।
मोदनाथ प्रश्रितकृत नाटक ‘आमाको काखमा’सँगै ‘५० रुपैयाँको तमसुक’ र ‘देवासुर संग्राम’ कविता पढेपछि माक्र्सवादी सौन्दर्यचेत अझै व्यापक भयो ।
“दुःखी र गरिबका लागि आइपरेको खण्डमा जीवन उत्सर्ग गर्न पछि हट्नु हुँदैन भन्ने विचार गहिरिँदै गयो,” अहिले सम्झँदा पुलकित हुन्छन् उनी ।
कक्षाको प्रथम छात्र । उनले भनेपछि अरू विद्यार्थीले नाइँनास्ती गर्दैनथे । त्यतिबेला ‘वेदना परिवार’ गीत बाग्लुङमा खुब सुनिन्थे । मेलापात, भारोपर्ममा तिनैका गीत गुञ्जन्थे ।
कति छन् यहाँ छटपटाइरहेका निशालाई देखेर
चाँडै नै आओस् बिहानी सुन्दर अँध्यारो चिरेर !
तिनताक उनले पनि गीत रचना गरेका थिए । सारंगी बोकेर गुनगुनाउँदै हिँड्थे । यी गीतहरूले सामाजिक जागरणको काम गर्‍यो । पञ्चायती व्यवस्थाले ठिँगुरा ठोकिएकाहरूमा उमंगको नूतन लहर सिर्जना गर्‍यो ।
पाइ गाउँ, मगरबहुल क्षेत्र । एकाध घरमात्रै छन् ब्राह्मणका । मगर समुदायका अधिकांश तन्नेरीहरू कि भारतीय सेनामा कि त बेलायती फौजमा, नभए सिंगापुर प्रहरीमा भर्ती हुन जान्थे । घरमा महिलामात्रै । भएका पुरुष पनि बूढाखाडा । उनका गीत सुनेर धरधरी रुन्थे मगरस्त्रीहरू ।
जनै लाओस्, टुप्पी पालोस्, दौरा–सुरुवाल लगाएर पण्डित्याइँ गर्दै हिँडोस् भन्ने बाबुको चाह । तर, उनी सारंगी बोकेर पञ्चायतविरुद्ध आन्दोलनको आँधी ल्याउन हिँडे । घरमा रुचाइने कुरै भएन ।
“यसरी गीत गाउँदै हिँड्ने होइन । सरकारले पक्रिन्छ । जेलमा लगेर कोच्छ । झ्यालखानामै सड्लास् नि !” बाबुले ढोका गजबार नतेस्र्याएका होइनन् । तर, मनभित्र परिवर्तनको हुन्डरी आइसकेपछि स–साना अवरोधले कहाँ अडिन मान्छन् र खुट्टा । विगुल फुक्न छाडेनन् । शासन–व्यवस्थाविरुद्ध नै बागी बाटो हिँडिसकेकाले बाबुको इच्छाविपरीत पैताला उठाउन अप्ठ्यारो भएन ।
० ० ०
०३४ सालमा ६८ प्रतिशत ल्याएर प्रवेशिका उत्तीर्ण भए उनी । बाबुको पहिलो इच्छा थियो– पण्डित बनोस् । त्यसलाई तिलाञ्जली दिइसकेकाले उनको दोस्रो इच्छा थियो– इन्जिनियर बनोस् ।
काठमाडौं आएर पुल्चोक क्याम्पसमा भर्ना भए तर आन्दोलनको आँधीबेहरी चल्यो ।
सन् १९७९ मा पाकिस्तानमा राष्ट्रपति जुल्फिकार अली भुट्टोलाई प्राणदण्ड दिइयो । भुट्टोको फाँसीविरुद्ध नेपालस्थित पाकिस्तानी दूतावास घेर्न पुगेका विद्यार्थीमाथि प्रहरीले व्यापक धरपकड गर्‍यो । परिणामस्वरूप ०३५–३६ सालको आन्दोलनको उभार आयो ।
दमनको विरोधमा विद्यार्थीले अस्कल क्याम्पसमा विरोधसभा आयोजना गरेको थियो । प्रहरीले त्यहाँ पनि वितण्डा मच्चायो । अस्कलको छतछतबाट विद्यार्थीलाई सडकमा फाल्न थाल्यो । कतिका हात भाँचिए । कति अंगभंग भए ।
उनी दौड्दै अस्कल क्याम्पसका भुइँतलामा पुगे । संयोगवश कुखुरा पाल्ने खोर रहेछ । त्यहीँ पसेर सुरक्षाकर्मीबाट छेलिए । ज्यान बच्यो ।
त्यो घटनाले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो । पढाइ बीचमै अलपत्र छाडेर पूर्णकालीन राजनीतिमा होमिए । गाउँ–गाउँमा गीत गाउँदै परिवर्तनको लहर पैदा गर्न हिँडे । लीलामणि पोखरेलले नेतृत्व गरेको अनेरास्ववियू छैटौंमा आबद्ध थिए उनी ।
० ० ०
०३४–३५ सालतिर काठमाडौंबाट घर जाँदै थिए । साथमा गितार पनि थियो ।
पर्वत हुँदै घर जानुपर्ने बीचमा कार्कीनेटा पुग्ने ठाडो उकालो । ज्यान बिसाउँदै उकालो चढ्दै थिए । चौतारीमा एकजना वृद्ध भेटिए । खोटाङतिरका हुनुपर्छ, राई रहेछन् । पसलको भारी बोकेर नाक ठोक्किने उकालो चढेका !
खप्लक्क गालाभित्र पसेको । आँखा मुनीका डाँडी अस्वाभाविक उठेका । थाप्लोमाथि नाम्लोले बसालेको गहिरो खाडल । विद्रूप थियो उनको हविगत । जीवनलाई देख्नेबित्तिकै डाँको छाडेर पो रुन थाले ।
टोपीले मुख छोप्दै आँसु झार्दै, करिब सवा घण्टा उनले दुःखको पोयो फुकाए होला । उनको गरिबको पहाड कार्कीनेटाको उकालोभन्दा चर्को रहेछ । आँसुले के छिचोलिन्थ्यो !
पसिनाको कालीगण्डकी बगाउँदा पनि चुह्लो तताउन नसकेको विरह सुन्दा उनको दिमाग खज्मजियो । वृद्धसँग बिदा मागेर उकालो त चढे तर दिमाग प्रकम्पित भइरह्यो । अचम्म ! कार्कीनेटा पुग्दा त गीत पो तयार भइसकेछ !
‘सिमली छायामा बसी, भरिया लामो सास फेरेको
उमेर भइसक्यो असी, झन् ठूला दुःखले घेरेको !’
यही गीत गाउँबस्ती सुनाउँदै हिँड्न थालेपछि उनको चर्चा चुलियो ।
गीतमा ग्राम्य लय । आँसुको संगीत । पसिनाको सौन्दर्य । माटोको स्पन्दन । दुःख–पीडाका मुर्च्छना । सत्ताउन्मादले निम्त्याएका घटना । शासन–कुशासनका आक्रोश उनका गीतिमानक बने । अझ भनौं— उनका गीत सुनेर कयौं मानिस प्रगतिशील विचारधाराको अनुयायी बने ।
त्यसपछि ०३८–३९ सालतिर हुनुपर्छ— उनले अर्को गीत रचना गरे ।
‘सुकेर जाँदैन रोकेर रोकिँदैन
भारी खेप्ने खेतालाको यही हो जिन्दगानी
झरनाको चिसो पानी…!’
गीतले भुइँचालो पो ल्यायो । गरिबको पसिना चुसेर राज्यसत्ताको तर मार्न पल्किएका र तिनका अनुचरका निधारमा चिटचिट पसिना आयो । गीत गाउन प्रतिबन्धित भए उनी । बन्दुकले कहाँ टालिन्छन् विचार ! लुकिछिपी गाइरहे !
० ० ०
बागी बाटो हिँडेको । बाबुसँग खर्च मागेर कतिन्जेल गीत गाउनू ! ०३६ सालको परिवर्तनपछि चरम आर्थिक संकट भयो उनलाई । आईईको पढाइ पनि अलपत्रै पर्‍यो । “के गर्ने त ?” बिलखबन्दमा पर्दै थिए । उपाय सुझियो– स्कुलमा पढाउने ।
मुस्ताङमा नाताले भिनाजु पर्ने माध्यमिक निरीक्षक भएको सुनेका थिए । त्यतै लागे उनी । टुकुचे ।
“किन इन्जिनियरिङको पढाइ छाडेर आ’को ?” शुरूमा त झाँको भिनाजुले पनि झारे  । पछि त्यहीँ जागिर लगाइदिए उनले ।
त्यस्तै डेढ वर्ष पढाएपछि मुस्ताङ–मोह पनि चिसियो । फर्किएर घरै आए । घर आउँदा बहिनीको विवाहको कुरा चल्दै रहेछ । अलिकति पैसा पनि कमाएका थिए । सर्लक्क बाबुको हातमा हालिदिए । २२७ रुपैयाँ नियमित तलब । गणित, विज्ञान पढाउने भएकाले दोब्बर पाउँथे उनले ।
“इन्जिनियर पढाउन पठा’को छोरो, कहिले गीत गाउँदै हिँडेको छ, कहिले मास्टर बन्छु भनेर मुस्ताङ गएको छ, बुबाको अनुहार झनै पो अँध्यारो भयो,” मच्चिएरै हाँस्छन् जीवन ।
केही समय घरमा बस्न थालेका । गाउँ–गाउँबाट खबर आउन थाल्यो । जहाँ गणित, विज्ञान शिक्षक खाँचो पर्थ्यो । उनैलाई खोजी गर्थे । अतः केही समय उनले गाउँकै विद्यालयमा अध्यापन गरे । त्यहाँ पनि दीर्घ समय काम गरेनन् । दुई वर्षपछि उनी पुनः सोलुखुम्बुको खुम्जुङ पुगे । अध्यापन नै गर्न ।
सगरमाथा उभिएको गाविस । चित्ताविहारी ठाउँ । दोब्बर तलब हुन्थ्यो । त्यसमाथि सर एडमन्ड हिलारीले स्थापना गरेको ‘हिमालयन ट्रस्ट’ले पनि थपिदिन्थ्यो । जिम्मी कार्टरसँग त्यहीँ भेट भएको हो उनको । सन् १९७७ मा अमेरिकी राष्ट्रपति पनि बने कार्टर ।
मंसिरदेखि फागुनसम्म हिमवृष्टिका कारण बन्द हुन्थ्यो विद्यालय । गीत–संगीत रचना गरेर बिताउँथे त्यो समय ।
“सुमनोहर ठाउँ थ्यो, त्यहीँ बसेका बेला सबैभन्दा बढी गीत लेखेँ,” सम्झिन्छन् उनी ।
इन्जिनियर बन्ने सपना ०३५–३६ को आन्दोलनले तुहाइदिएपछि धार बदलेका थिए उनले । तर, खुम्जुङमा केही समय व्यतीत गरेपछि अध्ययन अपूरो भएको प्रतीत भयो । र, काठमाडौं नै फर्किए । त्यसपछि त्रिचन्द्र कलेबाट दर्शनशास्त्र, राजनीतिशास्त्र र अंग्रेजीमा स्नातक उत्तीर्ण गरे । लगत्तै त्रिभुवन विश्वविद्यालयबाट ०४४–४५ सालमा मानवशास्त्र र अंग्रेजीमा स्नातकोत्तर तह पूरा गरे । ततपश्चात् गाउँ फर्किएर स्कुलको प्रधानाध्यापक बने ।
शनिबारको दिन बिहानपख घाँसको भारी बोकेर गोठमा आइपुगेका मात्रै थिए, घरका मान्छेले अताल्लिँदै सुनाउँछन्, “घरभरि प्रहरी छन् ।”
“बिराउनु न बिगार्नु, केको प्रहरी ?” अनौठो मान्दै भारी बिसाएर आँगनमा पुग्छन् । दुई जना प्रहरी पुर्जी तेर्स्याउँदै भन्छन्, “डीएसपी सापले बोलाउनुभा’छ । सर बाग्लुङ हिँड्नुपर्‍यो ।”
अर्का शिक्षकलाई पनि काटिएको रहेछ पुर्जी । दुई जनालाई नै समातिहाले ।
तर, धेरै हिरासतमा लिएनन् । दुई दिन लगाएर प्रमुख जिल्ला अधिकारी, अञ्चलाधीशसम्मले केरकार गरे, “आइन्दा गीत गाउन नहिँड्नू, पञ्चायतविरूद्ध पनि नलाग्नू ! शिक्षक भएर बच्यौ !” चेतावनी दिँदै तारिखमा छाडिदिए ।
१५–१५ दिनमा तारिख धाइरहनुपर्ने । हैरान भएपछि एकदिन सीडीओलाई भने, “यसरी भएन, कि थुन्नूस्, कि तारिख नदिनूस ।”
सीडीओले ‘हुन्छ’ त भनेका थिए तर हप्ता–दश दिन नपुग्दै फेरि पक्राउ पुर्जी काटेछन् ।
वाक्क भएर प्रधानाध्यापकको जागिर त्यहीँ बिसाएर जनताकै गीत गाउन हिँडे ।
सजिलो बाटो छाडेर अप्ठ्यारो बाटो हिँडेपछि सुख के पाइन्थ्यो ! प्रशासनको आँखाको तारो भए उनी । पक्रिएर ल्याउनेलाई ५० हजार इनाम दिने घोषणासमेत गर्‍यो स्थानीय प्रशासनले । समात्न सहयोग पुर्‍याउनेलाई पनि ५ हजार पुरस्कार दिने सूचना टाँस गरेको थियो ।
तर, के धनी, के गरिब— सबैका प्रिय थिए जीवन । गाँस काटेर खुवाउँथे । राति बास बस्न पुगे आफ्नो ओछ्यानमा सुताउँथे । जनताकै सहयोगमा जनतालाई जगाउँदै हिँडिरहे उनी ।
० ० ०
भूमिगत जीवन, अत्यन्त कष्टपूर्ण थियो । कहिले झमझम पानी पर्थ्यो, कहिले टन्टलापुर घाम लाग्थ्यो । प्रशासनको आँखा चौतर्फी फिँजारिएकाले ओत लागेर एक मिनेट उभिन मिल्दैन । दिउँसो एउटा गाउँमा गीत गायो, बास बस्न अन्तै पुगिसक्नुपर्थ्यो । नत्र पक्राउ गरेर जेलमा सडाइहाल्छन् ।
एकदिन गीत गाएर उकालो लागेको गाजको लेकमा आपद आइलाग्यो । ठूलो जंगल, छिचोल्न तीन घण्टा लाग्ने । झमक्क साँझ पर्‍यो । बडो आपद् आइलाग्यो । बाटो नदेखेर बीचमै हराए उनी ।
यता लाग्यो— पर भीरमा पुगेर टुंगिन्छ । उता लाग्यो, जंगलमा पुगेर सकिन्छ । फुसफुस हिउँ परिरहेको छ तर बाटो भेटिँदैन । हैरान भएपछि बीच जंगलमा गुराँसको फेदमुनि रात कटाए ।
“भीमकाय दुःख गरेर पो जगाएको हुँ त वर्ग–संघर्षको मसाल !” भावुक देखिन्छन् उनी ।
शुरू–शुरूमा एक्लै थिए उनी । ‘रक्तिम सांस्कृतिक अभियान’ गठन गरेपछि भने केही त्राण मिल्यो ।
०४३ सालमा गठन भएको हो ‘रक्तिम सांस्कृतिक अभियान’ । झोकेन्द्र थापा, सुजाता गुरूङ, राधा बुढाथोकी, कृष्ण अर्याल, सीता लामालगायत मिलेर रक्तिम गठन गरेका हुन् ।
“धरहराको फेदमा बसेर समूह गठन गर्ने त भनियो तर नाम जुरेन । त्यसपछि भोलि एक–एकवटा नाम सम्झिएर आउन भनें । भोलिपल्ट मैले नै ल्याएको नाम पो सबैले मन पराए,” सम्झिए उनले, “रक्तिमले सिर्जना गरेका गीतका पछाडि साँचो कथा छ । र, त यतिविघ्न मन पराइएको छ ।”
रक्तिमले निकालेका सबैजसो गीतको रचना उनी स्वयंले गरेका छन् । त्यसबाहेक मणि थापाले रचना गरेका गीत गाएका छन् उनले । थापा रचित ‘फोकल्यान्डको टापुबाट…’ भन्ने गीत असाध्यै रुचाइयो । अर्जेन्टिनाअधीनस्थ फोकल्यान्ड टापु गोर्खा सैनिकको सहयोगमा बेलायतले सन् १९८२ मा कब्जा जमाएको थियो । त्यही लडाइँमा सामेल गोर्खालीको सम्झनामा रचिएको गीत हो– ‘फोकल्यान्डको टापुबाट…’ ।
० ० ०
जीवन शर्मा प्रगतिशील गीतका धरोहर हुन् । संगीतकै माध्यमबाट देश–दुनियाँ ब्युँझाउँदै हिँड्ने शर्माका गीत सुनेर कैयन् मानिस कम्युनिस्ट भए । समाजमा प्रगतिशील चेत बीजारोपण गर्ने शर्मा चार दशकदेखि कम्युनिस्ट आन्दोलनमा अथक सक्रिय छन् ।
उनैका गीत सुनेर प्रगतिशील आन्दोलनमा होमिएकाहरू शासनसत्ताको उच्च ओहोदामा पुगिसके । उनी भने पूर्ववत् सादगी जीवन व्यतीत गरिरहेका छन् । भोकै–अनिँदै गीत गाउँदै हिँड्छन् । लाभका पदको लोभ पनि छैन उनलाई ।
३० को दशकदेखि प्रगतिशील सांस्कृतिक रूपान्तरणको आन्दोलनमा चरुझैं होमिएका शर्माका सपना कति पूरा भए होलान् ?
प्रश्न पूरा सुनिनसक्दै उनको अनुहारको आभा झ्याप्प निभ्छ । भित्तातिर नियाल्न पुग्छन् । अचानक ‘बाजेको सेकुवा’ लेखेको ठाउँतिर पुगेर टक्क आँखा अडिन्छन् ।
“बाजेको सेकुवाको साइन बोर्ड झुन्ड्याउँदै के सबै ठाउँ बाजेकै सेकुवा भइहाल्छ ? त्यस्तै हुन् नेपालका कम्युनिस्ट– साइनबोर्डधारी ! यिनीहरूसँग कम्युनिस्ट झन्डाको चित्र छ तर प्रगतिशील चरित्र छैन ! यिनीहरूबाट हाम्रा अधुरा सपना किमार्थ पूरा हुँदैन,” उनी भन्छन्, “परिवर्तनको मोहमा भौतिक सुख– सुविधा त्यागेर हिँडेको मान्छे । मेरो जीवनकालमा भन्न सक्दिनँ तर ढिलोचाँडो क्रान्तिको आँधी आएरै छाड्छ ! यसकारण कि परिवर्तन शाश्वत् सत्य हो ! ०३५–३६ को आन्दोलन, ०४६ सालमा पञ्चायत पतन, ०६२–६३ मा राजसंस्थाको अन्त्य, गणतन्त्र घोषणा हाम्रो चाहनामा मात्रै भएका हुन् त ? अतः समयसँगै हुन्छ परिवर्तनको हुरी !” यति भनेर उनी आफू हिँड्दै आएको बाटो हिँडे । जागरणको बाटो । बाह्रखरी

शनिबार, बैशाख २२, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री