सन्तोषको बिहे हुँदैछ !

सुरञ्जन घिमिरे 
समयसँगै उसको बिहे गर्ने बेला भयो । घरबाट पनि बिहेका लागि दबाब आउन थालेपछि उसले बिहेको सोच बनायो र मानसिक रूपमा तयार भयो । तर, विडम्बना ! आजसम्म उसले कसैलाई प्रेमिका बनाउन सकेको थिएन । प्रेमिका बनाउन नचाहेको होइन तर विचरालाई कुनै केटीले पत्याएका थिएनन् । यसको पनि कारण थियो— ऊ फुक्काफाल भएर हिँड्थ्यो । स्वतन्त्रताका नाममा अलिक बढी नै स्वच्छन्द हुन खोज्थ्यो ।
क्याम्पसमा ऊ राजनीति गथ्र्यो । गथ्र्यो भन्दा पनि कसोकसो ऊ एउटा विद्यार्थी संगठनको सदस्य थियो । त्यसैले उसलाई ‘झारेझुरे’ केटी मन पर्दैनथ्यो । छेउछाउ पर्न खोजेकालाई पनि भाषण गरेझैं अनेक थोक भन्थ्यो ।
यसबीच एकदिन क्याम्पसले गोदावरी पिकनिक लग्यो । पिकपनकमा उधुमै नाच्यो ऊ । उसमा यतिविघ्न ऊर्जा देखेर म चित खाएँ ।
सोधें, “आज जिउमा छुट्टै जोश–जाँगर छ नि ?”
“अब नाचेरै पट्याउने हो,” उसले छोटो उत्तर दियो ।
पट्याउन त पट्याउने तर केटी हो या रुमाल, या पर्स हो कि सर्टको कलर— मलाई थाहा भएन ।
“किन ? फेरि अर्को लाइनमा आई र ?” मैले सोधें ।
“धेरै नबोल्,” ऊ झर्कियो ।
म पनि उही भीडमा मिसिएर नाच्न थालें । पिकनिकबाट फर्किंदा ५ बजेको थियो । मंसिरको छोटो दिन, झम्के साँझ परिसकेको थियो ।
फर्किंदा ऊ र म बसको एउटै सिटमा बस्यौं । म झ्यालपट्टि, ऊ छेउतिर । बसको भीडभाडमाथि बजेका ‘गाना चलादे, गाना चलादे’ टाइपका गीतको रौनक करिब उत्कर्षमै पुगेको थियो ।
बसको सिटमा पाँच जनासम्म अटाउने बाध्यता थियो । यही बाध्यतामा कोही–कोही केटाहरू अर्कै किसिमको धन्दा चलाइरहेका देखिन्थे । एकछिनमा ऊसँगै बस्न एउटी केटी आई ।
मैले छड्के आँखाले उसलाई संकेत गरें, “ठीक छ, मिला ।”
उसले आँखा माथि तन्काउँदै मलाई हप्कायो, “धेरै नकरा !”
केटीले पिकनिकमा शायद थोरै बियर चाखेकी हुँदी हो । वाइन स्वाइनको व्यवस्था नभएकाले मेरो यो अनुमान करिब–करिब सही थियो । कोही अन्ताक्षरी खेल्ने, कोही आफ्नै सुरमा गीत गाउने— बसको माहोल तात्दै गयो । उनीहरुबीचको सीमा पनि नजिकिँदै गयो । मसिनो स्वरले उनीहरू मानौं कुनै मन्त्रोचारण गरिरहेका थिए । मैले अनुभव गरिरहेको थिएँ– उनीहरू प्रेमिल बनिरहेका छन् ।
उसले केटीको नाम सोध्यो– सपना हो कि विपना— यस्तै कुनै नाम भनी । केटीले पनि उसको नाम सोधी– सन्तोष कि असन्तोष— यस्तै कुनै नाम बतायो । भीडको हल्लाले सुनिएन । तर, केटाको नामचाहिँ सन्तोष नै हो ।
करिब डेढ घण्टामा क्याम्पस आइपुगियो । सिटबाट उठ्दा उसको छाती र केटीको डाढ पसिनाले भिज्नु भिजेको थियो । यस्तो चिसो मौसममा यो विधि पसिना कहाँबाट आयो ?
बसबाट सबै उत्रिँदा वरपर पसिनाको प्रेमिल बाफ छरियो । सबैजना आ–आफ्ना बाटा लागे । तर, ती दुईसहित अन्य एक–दुई जना क्याम्पस गेटमा उभिरहे ।
केही दिनपछि…
फुक्काफाल केटो अलिक बाँधिएजस्तो देखियो । स्वच्छन्द मान्छे अलिक नियमितजस्तो देखियो । बोलायो कि अलि गम्भीर भएजस्तो गर्छ । चुस्त युवा अलि सुस्तजस्तो देखियो ।
सोधें, “के भो यार तँलाई ?”
बोलेन ।
“त्यो अस्तिकी थिई नि ? कुरा काँ पुगो भन् न !” डराउँदै सोधें ।
“चल्दै छ, राम्री छे नि है ?” अप्ठ्यारो प्रश्न सोध्यो ।
“अँ, राम्री छे नि । तिमेर्को जोडी मिल्छ । अब वैशाखचाहिँ नकटा है,” मैले सुझाव दिएँ ।
“हेरूँ !” यत्ति भनेर ऊ बाटो लाग्यो ।
एवम् रीतले क्याम्पस जाने–आउने क्रम चल्यो । पछि हाम्रो सर्कलमा हल्ला चल्यो– सपनाको त अर्कै ब्वाइफ्रेन्ड छ अरे !
“ब्वाइफ्रेन्ड ?” कोही झस्कियो ।
यसपछि सन्तोषको मुहारमा असन्तोषका भाव झल्किए । अनुहारको कान्ति कतै हरायो । अस्तिसम्मको उसको स्वभावमा अपत्यारिलो परिवर्तन आयो ।
“ओहो ! खत्तम भै’गो नि यार !” ऊसामु मैले सहानुभूति प्रकट गरें ।
“त्यही त यार, अमेरिकामा पो छ अरे त ! वैशाखमा आएर बिहे गर्छ रे !” ऊ हाँसिहाँसी विरक्तियो ।
त्यसपछि केही हप्ता विरक्तिएको सन्तोषको फुर्ती फेरि जाग्यो । उसको अनुहारबाट गायब भएको आभा फेरि चम्कियो ।
“किन फेरि अर्की आई र ?” मैले सोधें ।
“हिजो साझा बसमा हिँड्दा चिनजान भयो नि एउटीसँग,” उसले सुनायो ।
“हो र ?” म चकित परें ।
“नाम जुना हो, प्लाटिनम कलेज पढ्दै छे ! एनएमबी बैंकमा जब गर्छे…” उसले संक्षिप्त व्याख्या गर्‍यो ।
यसपछि सन्तोष र जुनाको माया–प्रेमको चक्कर झांगिदै गयो । हाम्रो सर्कलमा फेरि दुई चर्चा शुरु भए—
चर्चा नं. एक— जुनासँग सन्तोषको बिहे यही वैशाखमा हुँदैछ ।
चर्चा नं. दुई— वैशाख आउन अझै ३ महिना बाँकी छ ।

शनिबार, बैशाख २२, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री