माफिया र सिण्डिकेटले गाँजेको समाजमा आशाका दियाहरु

खिमानन्द कँडेल
मैले केही वर्ष अगाडि दुई वटा किताबहरु लेखे । त्यसमध्यको एउटा थियो “लुटको खेती” । यस पुस्तकको कभर पेजमा मैले सिंहदरबारको फोटो राखेको थियो । मेरो स्पष्ट संकेत सिंह दरबार भित्र मौलाउँदौ व्यापक भ्रष्टाचार र यसले नेपाली समाजलाई पारेको व्यापक नकरात्मक प्रभाव प्रति लक्षित थियो वा सोझो भाषामा भन्दा सिंहदरबार मुलतः भ्रष्टहरुको घर हुँदै गएको छ भन्नु थियो ।
यस पछि सरकारी हरेक निकायलाई बुझ्दै जाँदा जुन अबस्थाका भ्रष्टाचारका ठूला ठूला भ्वाङहरु देख्न थालियो र भ्रष्टहरुका आवाज तेज र सुशासनका आवाज मत्थर हुँदै थिए । भ्रष्टहरु सान्दार रुपमा उपस्थित हुने, उनीहरुलाई नै समाजले समेत ठूला ठूला मालाहरु भिडाएर ठाउँ ठाउँमा सम्मान गरिरहेको देख्दा लाग्थ्यो बिचरा ती सुन्दर फुलहरु, उनीहरुलाई के थाहा, ती फुलहरु महाभ्रष्टहरुको गलामा देख्दा ती फुलहरु पनि दुखित हुन्थे होला । शृखंला चल्दै गयो, भ्रष्टहरु मोटाउँदै गए ।
पार्टीको सकृय कार्यकर्ता भएको नाताले पनि पार्टीका अधिकांश नेतृत्व पंक्तिलाई नजिकबाट हेर्ने अवसर पनि मिल्यो । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै जनताको नजरमा वाहवाह पाईरहेका नेताहरुको पनि द्धैध चरित्र बुझ्न सहजै सकिन्थ्यो , पार्टी पंक्ति भित्र मौलाउँदै गएको सिण्डिकेट स्पष्ट वुझ्दै जाँदा राजनीतिसँग निकटता भन्दा झनै टाढा टाढा हुँदा आनन्द आउन थाल्यो । सबैले आफ्नो स्वार्थको लागि हिड्ने, नेताको चाकडी गर्ने, हनुमानहरुको भीडको वरीपरी रमिता देखाउने र शक्तिको आडमा देशको अर्थतन्त्रको एउटा ठूलो हिस्साका माफिया र एजेण्टहरुको वरीपरी नेताहरु नै नाच्ने प्रवृत्ति देखिरहँदा म मात्रै हैन म जस्ता लाखौं यूवाहरुमा आक्रोस पैदा भैरहनु शायद अन्यथा थिएन ।
भ्रष्टाचार विरुद्ध केही बोल्नुपर्छ भनेर नै लुटको खेती नामक पुस्तक लेखें , त्यो मुलतः सिंहदरबारको आडमा मौलाएको विकृतिविरुद्धको बन्दुक थियो र मुल आसय यति थियो कि कमसेकम सिंहदरवारले जनताका आवाजहरु सुनोस् । सिंहदरवार भित्रको जमिनमा भ्रष्टहरुका पाईलाहरु नपरुन् , शायद यो मेरो सपना थियो ।
तर आज केही हदसम्म भएपनि परिस्थिति फेरिँदै गएको अनुभूति हुन थालेको छ । केही समय अगाडि मात्रै वुटवलमा मनोज पुनलाई प्रहरीले इनकाउण्टर गरिसकेपछि यो सन्दर्भले आम जनमानसमा एउटा लामो बहसलाई सृजना गरिदिएको छ । स्पष्ट भाषामा भन्दा राजनीतिको आवरणमा हुर्किरहेका ती डनहरु नमूना मात्र थिए भन्ने कुरा पछिल्लो पत्र पत्रिकामा आएका समाचारहरुबाट समेत स्पष्ट हुन्छ । कमसेकम ढिलै भएपनि पत्र पत्रिका सामाजिक संजाल आदिमा सुशासनसँग सम्बन्धित विषयहरुले चर्चा पाउनु आम नेपालीको लागि गौरवको कुरा हो ।
३३ किलो सुन काण्ड जुन अहिले चर्चाको शिखरमा छ, मानिसहरुका पोलहरु एकपछि अर्को खुल्दैछन् । जनताको लागि सेवा खटिएका कर्मचारीहरुले गलत बाटो समाउँदा कसरी भ्रष्ट र तस्करहरु मौलाउँछन् भन्ने गतिलो उदाहरण ३३ किलो सुन प्रकरण हुन सक्छ । अहिले कर्मचारीहरुको पोल मात्र खुल्दैछ , आशा छ यहाँनेर पनि कर्मचारीको मात्र हैन यसमा संलग्न सम्पूर्ण नेताहरुको समेत पोल खुल्नुपर्छ । राजनीतिक चरित्रका मुद्धाहरुलार्ई राजनीतिक तबरबाटै हेर्नुपर्छ भन्ने मान्यतामा म स्पष्ट छु तर भ्रष्टाचारका मुद्धाहरुलाई सम्बोधन गर्ने कि त फाँसीको माला, कि त जेलका सिडीहरुभित्रको जीवन, कि त श्रम शिविरभित्रको बन्दी जीवन र अनैतिक र भ्रष्टाचार गरेर जोडेको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्नु नै हो । चाल्र्स शोभराजले नेपालको एअरपोर्टबाट हात्ती पनि छिराउन सकिन्छ भन्ने कुरा सही थियो र यो एअरपोर्ट तस्करहरुको लागि अवैध सम्पत्तिलाई वैध बनाउन उपयोग भइरहेको दुई ठूला देश विचको एउटा संगम स्थान थियो । तैपनि पछिल्लो समयमा राज्यको तर्फबाट गरिएका प्रयास गौरव गर्न लायक छन् ।
सुन काण्ड सँगसँगै अहिले व्यापक चर्चामा रहेको शिर्षक हो यातायातको सिण्डिकेट विरुद्ध सरकारले लिँदै गएको कठोर कदमहरु । सरकारका यी कदमहरु पनि गौरव गर्न लायक छ । यातायातको सिण्डिकेटले नेपालको अर्थतन्त्र र परिचयलाई धेरै नकरात्मक कोणबाट प्रभाव पारिरहेका छन् । मुलत ः यो सिण्डिकेटले संरक्षण हुँदै गएको वर्गले समाजमा चर्चित गुण्डाहरु र डनहरु जन्माएको छ । यही सिण्डिकेटका आवरणमा कमाएको अकुत सम्पत्तिको माध्यमबाट सोझा साझा जनताहरुको भावनामा खेली गलत प्रबृत्तिको नेतृत्वलाई समाजमा विकास गराउँदै लैजानमा समेत यातायात सिण्डिकेटको हात छ । चुनावको समयमा कहाँबाबट आउँछ ठूलो ठूलो पैसाको खोलो, हो यस्तै सिण्डिकेटधारीहरुसँग पैसा हुन्छ र सवैभन्दा महत्वपूर्ण दान मतदानलाई समेत प्रलोभनको आधारमा प्रभाव पारी गलत नेतृत्वहरु समाजमा चयन हुँदै जानुको पछाडि समेत सिण्डिकेटको हात छ । यति मात्र हैन यसरी नेतृत्वमा पुग्ने र यिनै सिण्डिकेटधारी नेताहरुको पछि पार्टीका कतिपय शक्तिशाली नेताहरु समेत प्रभावमा पर्दा देशका अधिकांश कानून, नीति र नियममा सिण्डिकेटलाई संरक्षण गरी सीमित वर्गको हालीमुहाली चलाउन यस्ता सिण्डिकेटधारीहरुले काम गरिरहेका छन् ।
यस्ता सिण्डिकेटहरु यातायात क्षेत्रमा मात्रै छैनन् । नेपालमा एउटा उखानै छ ”लहरो तान्दा पहरो थर्किन्छ” भने झैं सरकारले वर्तमान अवस्थामा यातायात सिण्डिकेट विरुद्ध चालिरहेको उत्साहजनक कदम निरन्तर हुँदा नेपालमा रहेका हजारौं सिण्डिकेटका जराहरु हल्लिँदैछन् । सिण्डिकेट प्रवद्र्धनमा लागेर विवेकहीन बनेकाहरु, सिण्डिकेट प्रवद्र्धनमा लागेर मतिभ्रष्ट बनेकाहरु, सिण्डिकेटको आडमा लागेर भौतिक सम्पत्तिको आडम्बरमा जमेकाहरु र आँफै जन्मेको देशलाई घृणा गर्दै त्यही भ्रष्टाचार गरेर कमाएको सम्पत्तिको आडमा आफ्ना छोराछोरीहरुलाई देश तथा विदेशमा पढ्न पठाई उतै स्थायी बसोवास बस्न लगाउनेहरु देशका कलंक हुन् । शायद देशमा फाँसी दिने कानून भैदिएको भए यी सब नालायकहरु माटोमै मिल्ने थिए र कमसेकम त्यो माटोले सिंचित खेत र बारीहरुमा उत्पादकत्व बढ्दा देशको समृद्धिमा सानै भएपनि योगदान हुने थियो ।
हिजो मात्र पनि गृह मन्त्रालयले सयौं यातायात समितिका पदाधिकारीहरुलाई गिरफ्तार गरेको समाचार आएको छ । यति मात्र हैन यातायात समितिका वैंक खाताहरु समेत रोक्का गर्न गृह मन्त्रालयले चालेको कदम अत्यन्त सकरात्मक कदम हो । यसले गृह मन्त्रालयको मात्र हैन सिंहदरवारको उचाई समेत बढाएको छ । सिंहदरबारको उचाईसँग आम नेपालीको उचाई पनि गाँसिएको छ ।
मैले लेखेको पहिलो पुस्तक घायल मेरो देशमा मैले एउटा कविता लेखेको थिएँ र शायद समसायिक विषयसँग तालमेल खान्छ होला भन्ने ठानेर शेयर गर्दैछु ।
”खोई म त कतै देख्दिन, सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु“
देखियो थुप्रै खहरेका भेलहरु ।
सुनियो थुपै्र बेकुफका दर्शनहरु ।
बोलियो बार बार न्यायका स्वरहरु ।
पीडै पीडाको अनुभुतिमा मात्र गन्हाउने भीडहरु ।

ए देशका एमविविएस डाक्टरहरु हो ।
छोड अब चिर्न मानिसका स्वस्थ शरीरहरु ।
खोई म त कतै देख्दिन ।
सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु ।

ए सिकर्मी डकर्मी ईन्जिनियरहरु हो ।
छोड अब बनाउन बेमौसमी भौतिक पुर्वाधारहरु ।
खोई म त कतै देख्दिन ।
सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु ।

ए देशका वकिलहरु हो ।
छोड अब बचाउन भ्रष्टचारका श्रृंखलाहरु ।
खोई म त कतै देख्दिन ।
सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु ।

ए देशका शिक्षक प्रोफेसरहरु हो ।
छोड अब शिक्षा भित्रका व्यापारहरु ।
खोई म त कतै देख्दिन ।
सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु ।

ए देशका राष्ट्रसेवक कर्मचारीहरु हो ।
छोड अब असार मसान्तमा वजेट सिध्याउने खेलहरु ।
खोई म त कतै देख्दिन ।
सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु ।

ए देशका नीजि व्यवसायीहरु हो ।
छोड अब बुझाउन कमिसनका सुटकेशहरु ।
खोई म त कतै देख्दिन ।
सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु ।

ए देशका समाजसेवी वुद्धिजिवीहरु हो ।
छोड अब बोक्न राजनीतिक दलका झण्डाहरु ।
खोई म त कतै देख्दिन ।
सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु ।

ए देशका पत्रकार बन्धुहरु हो ।
छोड अब बन्न पार्टीका मतियारहरु ।
खोई म त कतै देख्दिन ।
सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु ।

ए देशका व्यापारी उद्योगपतिहरु हो ।
छोड अब कार्टेलिङ र सिण्डिकेटहरु ।
खोई म त कतै देख्दिन ।
सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु ।

ए देशका धनाढ्य जमिन्दारहरु हो ।
छोड अब सोस्न मजदुरका पसिनाहरु ।
खोई म त कतै देख्दिन ।
सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु ।

ए देशका श्रमजीवी मजदुरहरु हो ।
छोड अब हल्लाउन ट्रेड युनियनका झण्डाहरु ।
खोई म त कतै देख्दिन ।
सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु ।

ए देशका सिनेकर्मीहरु हो ।
छोड अव नग्याउन युवतीका शरीरहरु ।
खोई म त कतै देख्दिन ।
सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु ।

ए देशका सुरक्षाकर्मीहरु हो ।
छोड अब बचाउन तस्करका खैरो हेरोईनहरु ।
खोई म त कतै देख्दिन ।
सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु

ए देशका योजनाकारहरु हो ।
छोड अब बनाउन देखावटी योजनाहरु ।
खोई म त कतै देख्दिन ।
सडेगलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु

ए देश हाँक्ने सर्वोच्च कमाण्डरहरु हो ।
छोड अब लुट्न देशका हीरा मोतीहरु ।
खोई म त कतै देख्दिन ।
सडे गलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु ।
खोई म त कतै देख्दिन । सडे गलेका आत्माहरु डम्पिङ गर्ने जेलहरु ।

बास्तवमा अहिले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नै सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढ्न खोजेको संकेतहरु देखिन थालेको र सिण्डिकेटधारीहरु विरुद्ध वर्तमान गृहमन्त्री राम बहादुर थापा बादलले लिनुभएको स्पष्ट अडान गौरव गर्न लायक छ । देशलाई सुशासन र समृद्धिको गोरेटोमा लैजानको लागि राज्यले चाल्ने यस्ता कदमहरु जसले देश र जनताको शीर उँचो बनाउँछन् यसको लागि सिंगो देश सरकारको साथमा छ र आशा छ सरकारले यातायातको क्षेत्रमा चाल्न खोजेको जस्तै कदम सरकारी अन्य निकायहरुमा पनि देख्न पाईयोस् । मन्त्रीहरु मेडियाको पछि पछि र तस्करको पछि पछि भन्दा पनि जनताको सच्चा सेवक बन्न सकुन् । नेपालको जय होस् ।
khimanandakandel@yahoo.com

शनिबार, बैशाख २२, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री