हराएका पिलपिल जुनकिरी खोज्दै

चेतना गुरागाईं
बागलुङ, २७ बैशाख – कीर्तिपुरकी बाह्र वर्षीया सानु महर्जन चार कक्षा पढ्छिन्। उनले विज्ञान किताबमा विभिन्न किराकिरीका फोटा देखेकी छन्। नाम पढेकी छन्।तिनैमध्ये एक हो, जुनकिरी।
उनले जुनकिरी देखेकी भने छैनन्।
रातमा पिलपिल बत्ती बाल्दै उड्ने प्रकृतिको यो अनुपम सृष्टि देख्दै नदेखी हुर्कंदैछ, सानुजस्तै नयाँ सहरी पुस्ता।
पुराना पुस्तासँग पनि जुनकिरीको पिलपिल पछ्याउँदै बाल्यकाल बिताएको सम्झना मात्र बाँकी छ।
जुनकिरीको सन्दर्भ उठ्नासाथ वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ आफ्नो बाल्यकालमा हराउँछन्।
टुकुचा खोला किनार र आफ्नै घर–आँगनमा जुनकिरीको पिलपिलसँग उनले बाल्यकालका थुप्रै साँझ साटेका छन्।
‘केटाकेटीको उपद्रो बुद्धि! हामी जुनकिरी समातेर बत्ती झिक्थ्यौं, र बल्छ कि बल्दैन भनेर हेर्ने गर्थ्यौं,’ ८२ वर्षीय श्रेष्ठ सम्झन्छन्, ‘एकाध घन्टा मज्जाले बल्थ्यो।’
‘आठ–दस वर्ष भयो, देखिन छाडेको। हामीले सहर यति साँघुरो बनाएछौं, सानो जुनकिरी पनि यहाँ अटाउन सकेनन्,’ उनले भने।
आखिर कहाँ हराए जुनकिरी, जो साँझ पर्नासाथ हाम्रा बगैंचा र अँध्यारा आँगनमा झुन्डझुन्ड उड्दै आउँथे ?
हामी यही प्रश्न लिएर संरक्षणविद् तथा पुतली विशेषज्ञ भैया खनालकहाँ गयौं।
उनी जुनकिरी ‘निभेका’ कारण यसरी बुझाउँछन्।
पहिलो कारण हो, बत्ती प्रदूषण। सहर जति झिलिमिली हुँदै गयो, जुनकिरी त्यति हराउँदै गए।
‘हामी बत्तीको उज्यालोमा रमाउन थाल्यौं, प्रकृतिको अनुपम प्रकाश त्यही बत्तीले निभ्दै गयो,’ उनले भने।
कसरी ?
कारण बुझ्न सबभन्दा पहिला जुनकिरीको जैविक प्रक्रिया थाहा पाउनुपर्छ।
खनालका अनुसार संसारमा दुई हजार प्रजातिका जुनकिरी छन्। तीमध्ये नेपालमा कति छन् भन्ने आधिकारिक अध्ययन भएको छैन। सबै प्रजाति दुई खालका हुन्छन् — बत्ती बाल्ने र नबाल्ने। दिउँसो सल्बलाउने जुनकिरीले बत्ती बाल्दैन, राति डुल्नेले मात्र बाल्छ।
बत्ती बल्नुको पनि अर्थ छ। पोथी जुनकिरीको चमक भालेको भन्दा बढी हुन्छ। पोथीले पेटको तल्लो भागमा रहेको बत्ती पिलपिल बालेर भाले आकर्षण गर्छे। भालेले पनि त्यसै गर्छ। बत्तीकै माध्यमबाट पोथी र भालेबीच सूचना आदानप्रदान हुन्छ।
जुनकिरीको आहारा खोज्ने माध्यम पनि यही पिलपिल हो। बत्ती देखेर अरू किरा झुम्मिन आइपुग्छन्। त्यही मौकामा जुनकिरी त्यसलाई आहारा बनाउँछ।
मान्छेजस्तै किराको आफ्नै संसार हुन्छ। त्यो सानो संसारमा उनीहरू आफ्नो अधिकार जमाउन खोज्छन्। जुनकिरीका हकमा यहाँदेखि यहाँसम्मको ठाउँ मेरो हो भनी चिनाउने माध्यम यही बत्ती हो।
तर, जब सहरमा झिलिमिली बढ्यो, त्यसको प्रकाशमा जुनकिरी निभ्दै गए।
खोँच, बोटबिरुवा र पानी भएका अँध्यारा ठाउँमा भने फाट्टफुट्ट अहिले पनि जुनकिरी देखिन्छन्।
‘बगैंचा, घर, सडक चारैतिर चौबीसै घन्टा बत्तीले धावा बोलेपछि जुनकिरीको पिलपिल प्रकाश देखिन छाड्यो। एउटा जुनकिरीले बालेको बत्ती अर्कोलाई देख्न मुस्किल भयो। यसले उनीहरूको सम्पर्क र मिलनमा बाधा पुग्यो। वयस्क जुनकिरीको भेट र सम्पर्कमै अवरोध आएपछि नयाँ जन्मने कुरै भएन,’ खनालले भने, ‘यसले विस्तारै संख्या घट्दै गयो।’
खनालका अनुसार जुनकिरीका ‘लार्भा’ पानीका स्रोतमा हुर्कन्छन्। नदी वा पोखरी छेउछाउ बढी देखिनुको कारण यही हो। नदी जति प्रदूषित हुन्छ, लार्भा हुर्कन चाहिने वातावरणीय तालमेल उति बिग्रँदै जान्छ। ‘सहरी क्षेत्रमा खोलानाला र पोखरी मासिँदै गएपछि लार्भाले बासस्थान पाउनै छाडिसक्यो,’ उनले भने, ‘जंगल, खेतबारी, कुलो, कुवा, पोखरी भएका गाउँघरमा भने अझै जुनकिरी देखिन्छ।’
आफू सानो हुँदा जुनकिरीसँग खेलेको सम्झना सुनाउँदै भैया खनालले भने, ‘हामी साँझ परेपछि जुनकिरी समाउन दुगुर्थ्यौं। कसले धेरै समात्ने प्रतिस्पर्धा हुन्थ्यो। सकेसम्म धेरै जुनकिरी भेला पारेर टुकीझैं बाल्दै हिँड्थ्यौं।’
काठमाडौं मात्र होइन, सहरीकरणले छोपेका सबैजसो ठाउँमा पछिल्लो समय जुनकिरी हराउँदै गएको उनी बताउँछन्। यो समस्या अरू देशमा पनि उत्तिकै छ।
‘जहाँ घरैघर बन्छ, खेतबारी मासिँदै जान्छ, जंगल काटिँदै जान्छ, पानीका प्राकृतिक स्रोत पुरिँदै जान्छ, ती ठाउँमा जुनकिरी हराउँछन्,’ उनले भने, ‘यता हामी आफ्नो आवास सुरक्षित गर्दै जान्छौं, उता जुनकिरीको बास उजाडिँदै जान्छ। अनि कहाँ भेटियून् पिलपिल जुनकिरी ?’
जुनकिरी हराउनुको अर्को कारण वायु प्रदूषण हो।
कृत्रिम बत्तीको चमकदमकले त्यसै त संख्या कम भइरहेका बेला जताततै धूलोधुवाँ फैलिएपछि बासस्थान खल्बलिने उनको भनाइ छ। जुनकिरी हराउनुले पर्यावरणमा असर गर्छ।खनालका अनुसार जुनकिरी एक्लै हराउँदैनन्, तिनलाई आहारका रूपमा खाने प्राणी पनि घट्दै जान्छन्। विशेषगरी लाटकोसेरो र चमेराले जुनकिरी खान्छ। यी दुवै प्राणी सहरी क्षेत्रमा उतिसारो देखिन्न।
यसले बालीनालीमा प्रत्यक्ष असर गर्छ। तरकारीमा लाग्ने हानिकारक किरा खाइदिन्छ। बालीनालीमा रोग फैलिनबाट जोगाउँछ।
बत्ती, पानी र वायु प्रदूषणले जुनकिरीजस्तै अरू किरा पनि हराउँदै गएका छन्। फट्यांग्रा, गोब्रेकिरा, बारुला, अरिङ्गाल, पुतली, झ्यालिन्चा लगायत किरा सहरी क्षेत्रमा विरलै देखिन थालेका छन्। यीमध्ये गोब्रेकिरा र पुतलीको केही समयअघि तस्करी बढेको घटना बाहिरिएको थियो।
यी सबै किराको पर्यावरण सन्तुलनमा भूमिका हुन्छ। बरु प्रदूषण र तापक्रम बढ्दै जाँदा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने किराकिरीको संख्या बढेको उनको अनुभव छ।
भन्छन्, ‘काठमाडौंमा पहिले लामखुट्टे खासै देखिँदैनथ्यो। अहिले लामखुट्टे नआउने ठाउँ छैन।’
उनले लाङटाङ भ्रमणको अनुभव सुनाए। त्यहाँ झिँगा धेरै आउन थालेको थाहा पाएर उनी छक्क छन्।
‘मान्छेले अव्यवस्थित अतिक्रमण गर्दै जाँदा पर्यावरणीय सन्तुलन बिग्रँदैछ,’ उनले भने, यसमा कसैको ध्यान छैन।’
उनका अनुसार जीव विज्ञानका विद्यार्थी, प्राध्यापक वा पेसाले सम्बन्धित व्यक्तिले मात्र चासो दिइरहेका छन्।
जुनकिरीजस्ता किराले प्राथमिकता नपाउनुमा संरक्षणसँग सम्बन्धित विदेशी संघ–संस्थाको चासो मुख्य कारण हो भन्ने उनको भनाइ छ।
‘हामीकहाँ ठूल्ठूला जनावर मात्र फोकसमा छन्। बाघ, गैंडा, हात्ती मात्र जोगाउने कुरा गरिन्छ। यस्ता किराकिरी कसैलाई वास्ता छैन। न सरकारलाई, न संरक्षण गर्ने संस्थाहरूलाई,’ उनले भने।
चोरीशिकारी र तस्करीका कारण ठूला जनावरमा मात्र सम्बन्धित पक्षको ध्यान खिचिएको उनको भनाइ छ।
‘सबैलाई बाघ, गैंडाको ठूलो फोटो पोस्टर राखेर संरक्षणमा काम गर्दैछौं भन्ने देखाउनुछ। विचरा यी साना किरा त पोस्टरमा पनि राम्ररी देखिँदैनन्। त्यही देखाएर दाता खोज्नुपर्ने संघ–संस्थाको प्राथमिकतामा यी कसरी अटाऊन्?’ उनले प्रश्न गरे।
यस्ता ‘अमेरुदण्डीय’ (ढाड नभएका) जनावर संरक्षणमा कसैले चासो नराखेपछि भैयासहित जीव विज्ञानकै केही विद्यार्थी र प्राध्यापकले गाउँघरमा गएर सचेतना कार्यक्रम गर्न थालेका छन्।
उनीहरूले सिन्धुपाल्चोक, लाङटाङ, काभ्रे लगायत विभिन्न ठाउँमा स्थानीय किराकिरीबारे जानकारीमूलक कार्यक्रम गर्दै आएका छन्, जसमा किराकिरी चिनाउनेदेखि वातावरणमा तिनको भूमिकाबारे जानकारी दिइन्छ।
‘गाउँघरका मान्छे यस्ता कुरा चासो दिएर सुन्छन्। पाँचखालमा यस्तै कार्यक्रम गर्दा हामीले ५०–६० जना मान्छे आउलान् भन्ठानेका थियौं,’ उनले उत्साहित हुँदै सुनाए, ‘भरे त, डेढ सयभन्दा बढी आए।’
उनका अनुसार केही मुलुकले जुनकिरीलाई पुरानै अवस्थामा फर्काउने पहल थालेका छन्।
चीनले हुबेई राज्यको वुहान सहरका पार्कमा जुनकिरीका हजारौं लार्भा छाडेको ‘फायरफ्लाई डट ओरआरजी’ नामक वेबसाइटले लेखेको छ। समाचारअनुसार त्यहाँ जुनकिरी हुर्कने वातावरण तयार पारिएको छ। रातमा हजारौं जुनकिरी पिलपिलाउन थालेका छन्। यही पिलपिल हेर्न सिजनमा सयौं मान्छे आइपुग्छन्।
अमेरिकामा पनि जुनकिरी संरक्षणको प्रयास हुँदैछ। बगैंचा र जंगली क्षेत्रमा राति बत्ती बाल्न रोक लगाउनु पहिलो कदम हो। फूलबिरूवा र बालीनालीमा रसायन प्रयोग कम गर्दै लैजान पनि थालिएको छ।
अमेरिकाको ‘ग्रेट स्मोकी माउन्टेन्स नेसनल पार्क’ मा हरेक वर्ष मे महिना अन्त्यदेखि जून सुरुआतमा सयौं मान्छे जुनकिरी हेर्न पुग्छन्। यो समय देखिने सबै जुनकिरीले एकैपटक बत्ती बाल्ने र निभाउने गर्छन्। यो दृश्य हेर्न आउनेको यति घुँइचो हुन्छ, पार्कले चिठ्ठा खोलेर टिकट वितरण गर्छ।
‘हामीकहाँ त किराकिरी हराउँदै जानु समस्या हो भन्ने पनि महशुस गरिएको छैन,’ खनालले भने, ‘यस्तै हेलचेक्र्याइँ हो भने, दस–बाह्र वर्षमा झिँगा र लामखुट्टेबाहेक अरू किरा देख्दैनौं।’
वनस्पतिविद् श्रेष्ठ यसै भन्छन्। ‘संरक्षण नगर्ने हो भने जुनकिरी हाम्रो सम्झना मात्र रहनेछन्। सहरका केटाकेटीले यसको पिलपिल होइन, सहरको झिलमिल मात्र देख्नेछन्।’ सेतोपाटी

बिहिबार, बैशाख २७, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री