भारतीय प्रधानमन्त्रीको भ्रमणप्रति माओवादीको ‘रिजर्भेसन’

काठमाडौं, २९ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलन्यासप्रति माओवादी केन्द्र असन्तुष्ट देखिएको छ । प्रमुख सत्तासाझेदार माओवादी केन्द्र मोदीको भ्रमणमा ओलीको व्यवहार र सरकारको ‘अतिरिक्त स्वागत’प्रति असन्तुष्टि देखिएको हो । प्रधामनन्त्री भारतबाट फर्केको एक महिना नहुँदै भएको मोदीको भ्रमणप्रति माओवादी असन्तुष्ट छ ।
‘एक महिनाको बीचमा दुई देशका प्रधामनन्त्रीले एकअर्को मुलुक भ्रमण गर्ने प्रचलन छैन,’ माओवादीका एक शीर्ष नेताले शनिवार भने, ‘यो त विवाहपछिको दुलान फर्काउने हतारोजस्तो देखियो ।’ मोदीको धार्मिक भ्रमणलाई सरकारले अनावश्यक महत्त्व दिएको माओवादीको बुझाइ छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि सरकार र नेकपा एमाले भारततर्फ बढी लचक भएको पनि माओवादीको मूल्यांकन छ । ‘फाष्ट ट्र्याक बन्ने भएपछि रक्सौलदेखि काठमाडौंमा रेल जोडने हतारो किन प¥यो ?’ माओवादीका ती नेताले भने, ‘यो कतै नेपालमा चिनियाँ रेल रोक्ने चाल त होइन भन्ने आशंका छ ।’
मोदीको भ्रमणमा मात्र नभई सरकार सञ्चालन र बजेट निर्माणमा समेत प्रधानमन्त्री ओली एकलौटी ढंगले अघि बढेको माओवादीको विश्लेषण छ । ‘बजेट निर्माण भइरहेको छ, तर माओवादीका मन्त्रीहरूसँग कुनै परामर्श गरिएको छैन,’ माओवादी स्रोतले भन्यो । पछिल्लो केहीदिन यता लगातार बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट निर्माणबारे आफूहरूसँग कुनै परामर्श नगरेको बताएका थिए । संसदीय दलको बैठकमा सांसदले आवाज उठाएपछि प्रचण्डले ओलीसँग परामर्श गरेका थिए ।
‘अध्यक्षले प्रधानमन्त्रीसंग परामर्श गरेपछि आज (शनिवार) फेरि संसदीय दलको बैठक बस्दैछ, सरकारका काम कारबाहीबारे गम्भीर समीक्षा हुँदैछ,’ माओवादीका ती नेताले भने । वामपन्थी गठबन्धन बनाएर चुनाव लडेका र सरकार बनाएका दुई दलले पार्टी एकता गर्ने सैद्धान्तिक सहमति गरे पनि अहिलेसम्म सहमति हुन सकेको थिएन ।

शनिबार, बैशाख २९, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री