व्यवहारिक ज्ञान दिउ

बागलुङ, ३० वैशाख-बालबालिकालाई कस्तो बनाउने भन्ने बारेमा पहिलो पाठशाला घर होभने त्यसपछिको उसको भविश्य निर्धारण गर्ने भनेको विद्यालयले हो । घरबाट सिकेको संस्कार र विद्यालयबाट सिकेको पाठका कारण हरेक बालबालिकाले आफ्नो भविश्यको बाटो निर्धारण गरेका हुन्छन् । घरमा बाबुआमा र परिवारबाट सिकेको सिकाई र विद्यालयमा गुरु, गुरुआमाबाट सिकेको सिकाईले बालबालिकालाई भोलिको बाटो निर्धारण गर्नमा सहयोग गरेको हुन्छ । एकाधबाहेक स्वभावले अल्छिपना देखिने बालापनमा बालबालिकाको उज्वल भविस्यको लागि परिवार र विद्यालयले उसको व्यवहारमा परिवर्तन गराउने खालको शिक्षा दिनु अहिलेको आवश्यकता हो । समय परिवर्तन भएको छ । विज्ञान र प्रबिधिले संसारमा ठुलो फड्को मारेको छ । समयको परिवर्तनसँगै परिवर्तन हुँदै गएको हाम्रो समाजले आज बालबालिकालाई किताब केन्द्रित शिक्षामा जोड दिईरहेको छ । एक जना बालकको आजको दैनिकी भनेको विद्यालय जाने आउने विद्यालयमा शिक्षकले दिएको गृहकार्य गर्ने, सामान्य खेलकुदमा सहभागी हुने र उसको आफ्नो इच्छा अनुसारको व्यवहार गर्नमा हामीले प्रेरित गरिरहेका छौं ।
किताबी शिक्षालाई आधार बनाएर परिक्षामा आउने नतिजालाई विश्वास गर्ने आजको समुदायले आफ्ना बालबालिकालाई व्यवहारिक ज्ञानदेखि निकै टाढा धकेलीरहेको छ । कक्षा १० उत्तिर्ण गरेका आजका बालबालिका आफ्नो दैनिक जिवनमा प्रयोग हुने कपडा धुन जान्दैनन् । कक्षा प्रथम हुने अर्थात बिद्यालयको पुरै नतिजामा उत्कृष्ट अंक हासिल गरेको एक जना बालक आज आफ्नो घरमा पानी तताएर खानका लागि ग्याँस जुल्हो अथवा अगेनामा आगो बाल्नसम्म जान्दैन । आफुले प्रयोग गर्ने कपडा धुन जान्दैन । परिवार र आफन्तसँगको व्यवहार कस्तो हुने भन्ने बिषयमा उ अनबिज्ञ छ । कितावको किरो बनेर आर्जन गरेको ज्ञानले उसलाई यस्ता खालका सामाजिक र व्यवहारिक ज्ञानबाट टाढा बनाईरहेको छ । विकासोन्मुख हाम्रो देशमा रोजगारीका प्राप्त स्रोतहरु छैनन् । औपाचारिक अध्ययनको निस्चित तह पुरा गरेपछि आज पनि आम नेपाली युवा आफ्नो परिवारभन्दा पर पुगेर रोजगारीको खोजी गर्नुपर्ने अवस्था छ । यदि आफ्ना दैनिक जीवनको प्रयोगको लागि आवश्यक ज्ञान नभएको एक व्यक्ति परिवारभन्दा टाढा रहेर कसरी दैनिकी चलाएर बाच्न सक्छ ?
यतिबेला विद्यालयहरुमा शैक्षिक सत्रको सुरुवात भएको छ । राष्ट्रका कर्णधार बालबालिकालाई किताबी ज्ञान र विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको प्राबिधिक ज्ञान दिनु एउटा पाटो हो । अर्को पाटो नेपाली समाजअनुसारको आनीबानी र व्यवहार निर्माणका लागि आजका बालबालिकालाई घरदेखी बिद्यालयसम्म व्यवहारिक ज्ञान दिन जरुरी छ । घर, परिवार, समुदाय र राष्ट्रका लागि जबसम्म बालबालिकाले व्यवहारिक ज्ञान पाउँदैनन् तबसम्म हरेक क्रियाकलापमा अवरोधको वातावरण सिर्जना हुन सक्छ । त्यो मात्रै हैन बालबालिकाको भोलिको भविश्यको लागि पनि व्यवहारिक ज्ञान निकै महत्वपुर्ण बिषय हो । त्यसैले आजका बालबालिकाहरुलाई किताबी ज्ञानका अलावा व्यवहारिक ज्ञान दिनका लागि घर, परिवार, समुदाय र बिद्यालयले शैक्षिक कार्यक्रम नै बनाउने बेला भैसकेको छ । उच्च शिक्षा आर्जन गर्दासम्म पनि आँफैले पिउने चिया पकाउन नसक्ने र आँफैले लगाउने लुगा सफा गर्न नसक्ने जनशक्ति उत्पादनको कार्य बन्द गर्दै व्यवहारिक ज्ञानमा पनि ध्यान दिउँ ।

आइतवार, बैशाख ३०, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री