मोदी भ्रमणको उदेश्य धार्मिक कि राजनीतिक ?

राजेशचन्द्र राजभण्डारी
नेपालीमा पुरानो उखान छ ‘मुक्तिनाथको यात्रा सिद्राको ब्यापार’ भने झै अहिले छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण धार्मिक उदेश्य चाहिँ राजनीति नै हो भन्ने कुरामा कुनै शंका छैन । आफ्नो प्रधानमन्त्री कार्यकालको तेस्रो नेपाल भ्रमणमा आएका छिमेकी मुलुक भारतका प्रधानमन्त्री मोदीको भ्रमणलाई राजनीति नभएर बिशुद्व धार्मिक भनेर जतिसुकै प्रचारप्रसार गरिए पनि नेपाली जनताले त्यो कुरा बिश्वास गर्ने वाला भने छैन । नेपाली जनताले संबिधानसभाबाट नयाँ संविधान पाएपछि आफ्नो अनुकूल संविधान घोषणा नगरिएको भन्दै भारतले ५ महिनासम्म नेपाली जनतामाथि आर्थिक नाकाबन्दी लगाएर जुन सकस दिए, त्यो नेपाली जनताले भुल्न नसकिरहेको समयमा जसरी मोदीले नेपालको भ्रमण गरे यसलाई राजनीति भ्रमण, सद्भाव भ्रमण भन्न नसकेर धार्मिक भ्रमणको नारा दिए । जसलाई एक मिनेट पनि बिश्वास गर्ने आधार भने छैन ।
हिजो नेपालमाथि नाकाबन्दी गरेर जुन अपराध भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए अहिले देशमा नयाँ जननिर्वाचित बामपन्थी गठबन्धनको प्रचण्ड बहुमतको सरकार बनिसकेको सन्दर्भमा भारतले नेपालसंग सम्बन्ध सुधार गर्नुको अर्को बिकल्प थिएन । त्यसलाई मजबुत बनाउने नाममा मोदीले योजनाबद्व रूपमा नेपालको भ्रमण तय गरेको हुन् भन्ने कुरा स्पष्ट छ । नेपालमा केपी ओली प्रधानमन्त्री बन्ना साथ भारतीय बिदेशमन्त्री सुषमा स्वराज सिधै नेपाल आएर राजनीतिक कुराकानी गरिन् अनि ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले भारत भ्रमणको निम्तो पठाएको जानकारी दिनुको घटनाक्रमलाई बिचार विश्लेषण गर्दा अहिले भएको मोदीको भ्रमणलाई धार्मिक भ्रमणको संज्ञा दिनु साँच्चै भन्ने होभने धर्ममाथि नै अपमान हो भन्दा फरक पर्दैन । किनभने चोरको पनि इमान्दारिता हुन्छ तर यहाँनेर मोदीको भने इमान्दारिता नभएको कारणले अहिले धर्म भाके पनि, भगवान भाके पनि कसैले पनि यसलाई बिश्वास भने गर्दैनन् । धर्मको नाममा गेरू बश्त्र पहिरेर दुनियाँ झुक्याएर कोही झुक्किनेवाला छैन ।
अहिले जसरी मोदीले नेपाली जनतालाई फेरि एकपटक गुमराहमा राख्न नेपाल बिना भारतको काम अधुरो, राम अधुरो, भारतको धाम अधुरो नेपाल बिना भारतको सबथोक अधुरो भनेर जुन भाषण गरे त्यहीँ भाषणमा मोदीले नेपाललाई गरेको नाकाबन्दी मधेसी मोर्चाको साथ बिना अधुरो भनेर भनी दिएको भए साँच्चै मोदीले भनेको कुरामा केही सत्यता छ भन्ने पत्याउने आधार हुने थियो । तर यसपटक पनि मोदीले नेपाली जनताको मन जित्ने निकै प्रयास गरेपनि उनको भाषण सुनेपनि यसपटक भने कसैले पनि बिश्वास भने गरेनन् । यसबाट के कुरा सिद्ध भएको छभने अहिले मोदीले नेपाल र नेपाली बीचमा जतिसुकै नाटक मञ्चन गरेपनि त्यसको कुनै अर्थ देखिएन । यसबाट मोदीलाई नै घाटा पुगेको छ । भारतप्रति नेपाली जनताको माया र बिश्वास ह्वात्तै घटेको छ ।
नेपालमा बामपन्थी गठबन्धनको सरकार गठन भएपछि कसरी हुन्छ यो गठबन्धनलाई सरकार बनाउन नदिने खेल पनि भारतीय शासकहरूले खेले । सरकार बनेपछि भारतसंग भन्दा छिमेकी चीनतिर नेपालको सम्बन्ध बलियो हुन सक्छ भन्ने अनुमान लगाएर जसरी हुन्छ त्यसलाई रोक्ने र छेक्ने कामको लागि पनि अहिले भारतको सक्रियता बढेको देखिन्छ । केपी ओली भारतभन्दा पहिला चीन जान सक्छन् भन्ने लागेर उनलाई रोक्न भारतमा बोलाए अनि आफु चीन गए, फेरि ओली चीन जान सक्छन् भनेर फेरि आफु नै नेपालमा आए । अहिलेको काम र गतिविधिले बामपन्थी सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले भरसक बिश्वास नगरोस् भन्ने बाताबरण मोदीले सृजना गरिदिएका छन् ।
मोदीको जगजगी भारतबाट काठमाडौ नआइकन सिधै जनकपुर आउनु आफुसंगै सुरक्षा फौज समेत भारतबाटै ल्याउनु अनि धार्मिक भ्रमण भनिन्छ । अनि जनकपुर अयोध्या सम्मको रामायण सर्किटको उद्घाटन गर्नु, बिबादास्पद अरूण तेस्रो सुभारम्भ गरिनु, जनकपुरलाई १ सय करोड सहयोग घोषणा गर्नु, कहाँको धार्मिक भ्रमणमा पर्छ । हिजोका दिनमा भारतले धेरै सहयोग गर्ने प्रतिबद्धता भएको आयोजना अहिले पनि नाममै सिमित छ । अहिले फेरि नेपाली जनतालाई झुक्याएर केही समय आँखामा छारो हाल्ने काम पनि अझै नहोला भन्ने के ठेगान । अहिले पनि भारतका प्रधानमन्त्री मोदीले कुनैपनि लाज शरम नमानी नेपाली जनताको सामु उभिएर नक्कली आश्वासन दिन सफल त भएका छन् तर भबिष्यमा यो कुरा सफल कसरी हुने भन्नेबारे बिश्वास गर्ने आधार छैन  । अहिले मोदीको भाषण चुनावी नेताको चुनावी भाषण जस्तो मात्रै हुने हो कि भन्ने आशंका नेपालीलाई छ । जुन संविधानको बिषयमा असहमति भएर जसरी ५ महिनासम्म नाकाबन्दी गरे असल छिमेकी हैन दुष्ट छिमेकीको व्यवहार गरे । नाकामा आफ्नो हनुमान र आफ्नो दासहरूलाई अगाडि सारेका थिए । धन्य छन् मोदी र उनको इसारामा चल्ने मधेसी मोर्चाहरू । अहिले मोदीको जनकपुरदेखि मुक्तिनाथको यात्रालाई धार्मिक संज्ञा दिए । जानकी मन्दिर र मुक्तिनाथ मन्दिरमा पुगेर विधिपुर्बक पुजाअर्चना गरेको पनि देखाए । यो त सबै राजनीति हो, कुटनीतिक हो र हिजो जसरी नेपालसंग सम्बन्ध बिग्रेको थियोे अहिले त्यसलाई सुधार गर्न खोजेको अबश्य पनि देखिन्छ ।
मोदी भारतका प्रष्ट बोल्ने नेतामध्ये एक हुन् । उनले यसपटक पनि नेपालमा धेरै कुरा बोले । धेरै सहयोगको आश्वासन पनि बाँडे तर नेपालको संविधानप्रति जुन असहमति थियो त्यो पुरा भयो कि भएन भन्नेबारे केही कुरा नबोल्नुबाट के कुरा बुझ्न सकिन्छ भने कि त मोदी अहिले पनि छलछाम नै गरिरहेका छन् । नेपाल र नेपाली जनताप्रति हैन भने उनी स्पष्ट बोल्छन् तर सत्य बोल्न भने डर मान्छन् भन्ने कुरा सत्य साबित भएको छ । अहिले मोदी आउँदा नेपालको संचार जगत निरीह बन्नुपर्ने अबस्थामा पुगेको देखियो । समाचार सबै भारतीय च्यानलहरूले प्रसारण गरे नेपाली संचारमाध्यमलाई नेपालमै रोक लगाइयो । यो बिडम्बना नै मान्नुपर्छ । साँच्चै नेपाल अहिले पनि सार्बभौम छैन कि भन्ने देखियो । हाम्रो देशका शासकहरू भारतबिना राजनीतिक शक्ति र सत्ता अनि सरकार अधुरो छोराछोरीको छात्रवृत्ति अधुरो भन्ने दास मानसिकता कै उपज अझैसम्म कायमै देखिन्छ यसलाई अब चिर्न जरुरी छ । नेपालका प्रधानमन्त्री ओलीले जुन राष्ट्रबादी छबि बनाउन सफल भएका थिए । अहिले मोदीको भ्रमणले त्यो साख ह्वात्तै घटाइएको छ । जनकपुरमा ओलीले लगाएको ड्रेस नेपाली जनताले मन पराएका छैनन् । पाहुनालाई स्वागत गर्नुपर्छ तर स्वागत गर्ने नाममा लम्पसार पर्ने परिपाटीको पनि क्रमभंग भने गर्न जरुरी देखिन्छ । प्रधानमन्त्री ओलीले अङ्ग्रेजीमा भारतीय प्रधानमन्त्री मोदीले हिन्दीमा बोलेको कुरा पनि सान्दर्भिक थिएन । साँच्चै भन्ने होभने ओलीले नेपालीमै बोल्ने हिम्मत गर्नुपथ्र्याे । मोदी मुक्तिनाथ पुगेर प्रदेश नम्बर ४ का मुख्यमन्त्रीसंग झुकेर जुन कला प्रर्दशन गरे त्यसबाट के कुरा बुझ्न सकिन्छ भने भारतको राजनीति ठुलो छ नेपालीले सजिलोसँग बुझ्न गाह्रो छ ।

सोमवार, बैशाख ३१, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री