मोदीको भ्रमण र राजनीतिक प्रभाव

डिल्लीप्रसाद गौतम
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी यहि बैशाख २८÷२९ मा २ दिने नेपाल भ्रमण गरेर फर्किएका छन् । मोदी नेपालको भ्रमणको मिति तय भएपश्चात भ्रमण अवधिभर र तत्पश्चात पनि अझै पनि चर्चामानै छन् । शायद मोदीबाहेक कुनैपनि राष्ट्र प्रमुख नेपालको भ्रमण गर्दा यति साह्रो चर्चामा हुँदैनन् होला । मोदी भ्रमण यस अर्थमा पनि बढि चर्चित भयो कि विगतमा उनले देखाएको छिमेकी मित्र राष्ट्रभन्दा कमजोर राष्ट्रमाथि गरिने व्यवहार अर्थात् दादागिरी का कारण । हुनतः भारत दक्षिण एसियामा शक्ति सम्पन्न र विकसित राष्ट्र हो । स्वभावैले भारत दक्षिण एशियामा आफ्नो प्रभुत्व र दासत्व कायम रहोस भन्ने चाहन्छ र स्वभाविकै पनि हो । तर पनि शक्ति सम्पन्न महान प्रजातान्त्रिक राष्ट्र भन्न रुचाउने भारतले छिमेकी राष्ट्रप्रति गर्ने व्यवहार भने पक्कै पनि प्रजातान्त्रिक भन्ने खालको छैन् । भारतको हेपाहा प्रबृत्तिका बिरुद्धमा चाहे त्यो पाकिस्तान होस वा जम्मु कश्मिर वा सिक्कमले भारतविरुद्ध अथक प्रतिकार गरिनै रहेका छन् । तर विचरा हाम्रो देश भारतका शासकहरुको हेपाहा र मिचाहा प्रबृत्ति बिरुद्ध कहिलै पनि प्रतिकारात्मक अभियान कहिल्यै उठाउन सकेन र सक्दैन पनि । खासगरी हाम्रा सरकार प्रमुख वा दलका प्रमुख नेताहरुको सत्तामा पुग्नको लागि भारतीय नेताहरुसँग लम्पसार पर्ने र सरकार बाहिर हुँदा के–के नै राष्ट्रवादि भै भारतको उछितोे काँड्ने प्रबृत्तिका कारणले पनि भारतले नेपाललाई खासगरी दलका नेतालाई आफ्नो मुठ्ठीमा राख्न सफल भएको छ ।
विगतका भन्दा यस पटकको भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो पटकको भ्रमणलाई विशेष चासोका रुपमा हेरिए पनि बढि चर्चीत बन्न पुग्यो । एकातिर नेपालको संविधान २०७२ प्रति असहमती जनाउँदै पहिला घोषणा नगर्न दबाब दिने र घोषणा पश्चात मधेशी जनतालाई उचालेर नेपालबिरुद्ध नाकाबन्दी लगाएर सम्पुर्ण नेपालीलाई अपमान गरेको ताजै थियो । त्यसैमा पनि संयोग नै मान्नु पर्दछ । जुन बेला मोदीले नेपालमाथि नाकाबन्दी गरे सो बेलामा प्रधानमन्त्री रहेका केपी ओली र भारतसँग नझुक्ने र डटेर सामना गर्ने अठोटसहित राष्ट्रवादी कहलिएका वर्तमान प्रधानमन्त्री केपी ओली पुर्ण बहुमतका साथ (झण्डै दुई तिहाई) पुनः प्रधानमन्त्री बनेका कारण पनि बढि चर्चामा रहयो । हुन त आफु प्रधानमन्त्री बन्ने पश्चात अघिल्लो महिना केपी ओली नै भारत प्रमण गरी भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यती बेलादेखि नै केपी ओलीको राष्ट्रबाद भारतिय शासकको छायाँमा परेको आँकलन गरिएको थियो । तर पनि जे होस दुई देशका प्रधामन्त्रीका बीचको भ्रमण आदानप्रदानले दुई देश बीचको चिस्सिएको सम्बन्धलाई पुर्नरताजगी गर्नमा सहयोग नै पु¥याएको छ । नेपाल र भारतबीच प्राचिन कालदेखीनै दौत्य सम्बन्ध भएका राष्ट्र हुन् । एकातिर दुई राष्ट्रका बीच खुल्ला सिमाना त अर्कोतर्फ नेपालको सम्पुर्ण बैदेशिक व्यापारिक कारोबार भु–परिबेष्ठित मुलुकका हिसाबले भारतसँग नै पर–निर्भर रहेको छ । त्यति मात्र नभै दुई मुलुकका नागरिक बीच रहनसहन, भेषभुषा, एवं धार्मिक, सांकृतिक लगायतका रोटी र बेटीको सम्बन्ध रहेका कारण पनि दुई देश बिचको दौत्य सम्बन्ध अपरिहार्य रहेको छ । रोजगारीका हिसाबले पनि भारतका नागरिक नेपाल र नेपालका नागरिक भारत हजारौंको संख्यामा सहज आतेजाते गर्ने गरेका छन् । भारत र नेपालका नागरिकको एक देशमा घर त अर्को देशमा व्यापार, एक देशमा घर र अर्को देशमा रोजगार, त्यसैगरी वारी मावली पारि ससुराली आदि इत्यादी हिसाबले पनि परम्परादेखि नै भावनात्मक एकता रहेका छिमेकी मित्र राष्ट्र हुन । दुई देश बीचका नागरिकमा मैत्रिपूर्ण व्यवहार रहँदा रहँदै पनि बेलाबखत सरकारको नेतृत्वका वा प्रमुखको हठका कारण दुई देशका सरकारबीच बेला बखत खिचातानी भने भैनै रहन्छ ।
भारतिय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिनुका कारण पनि यहि थियो । शक्ति सम्पन्न राष्ट्र प्रमुखबाट विकासोन्मुख राष्ट्रमा हुने भ्रमण स्वभावैले महत्वपुर्ण हो । अझै नेपालमाथि ५ महिना नाकाबन्दी लगाउने तिनै मोदिको भ्रमण त्यसैपनि प्रतिक्षरत थियो । समग्रमा मोदीले आफ्नो भ्रमण धार्मिक बताएपनि अर्को भ्रमण राजनीतिक नै थियो । विगतमा आँफुले लगाएको नाकाबन्दीले नेपाली नागरिकहरुको उनीप्रति हेर्ने दृष्टिकोण चिर्न केही हदसम्म उनी सफल नै भए । पार्टिगत रुपमा केपी ओली र उनको समग्र पार्टि लगायत भातृ संगठन र राष्ट्रबादीको नारामा र भावनामा बहकिएर भारत बिरोधी भावनाको नेतृत्व गरेको केपी ओली र मोदी बीचको भ्रमण आदानप्रदानले बिग्रिएको २ राष्ट्र प्रमुख बीचको सम्बन्ध पुनः स्थापित भएको छ । उक्त भ्रमणले एकातिर दुई देश विच पुनः मैत्रिपूर्ण सम्बन्ध स्थापित भएको छभने अर्कोतर्फ राम जानकी मन्दिर, मुक्तिनाथ मन्दिर लगायतका स्थानलाई ठुलो आर्थिक सहयोगको घोषणा समेत भएको छ । त्यसैगरी बिहारदेखी जनकपुर सम्मको सिधा यातायात सेवाको शुभारम्भ पनि भएको छ । त्यसै गरी अरुण तेस्रो परियोजना लगायत १६ बुँदामा हस्ताक्षर समेत भएको छ । त्यसैले पनि मोदीको भ्रमण धार्मिक नभै राजनीतिक नै भएको र नेपाली नागरिक प्रति मोदीले झुट बोलेका छन् । भाषणले कलात्मक रुपमा यसपटक पनि मोदीले आम नागरिकहरुलाई चकित पारेका छन् । पञ्चेश्वर परियोजनास्थल मार्ग, रेल मार्ग, जलविधुत, कृषि, पर्यटन, जनकपुर भारत सिधा बस सेवा, मुक्तिनाथ र जानकी मन्दिरलाई सहयोग प्याकेज लगायत, औधोगिक तथा वाणिज्य र जलमार्गको समेत कुरा गरेर नेपाली जनलाई मख्ख पार्दै आँफुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन गराएका छन् । यदि उनले भने जसरी नै कार्य हुने होभने मोदीको भ्रमणले साँच्चिकै नेपाल आर्थिक सामाजिक र राजनीतिक क्षेत्रमा राम्रै सहयोग प्राप्त हुने छ । तर पनि मोदीको वोलिमा दम्भ हुँदा–हुँदै पनि कतै भुकम्प पिडितको पुर्नबास प्याकेज जस्तै त हुने हैन आशंका कायम छ ।
मोदीको भ्रमणका केही सकारात्मक पक्ष हुँदा–हुँदै पनि केही कमी कमजोरी हुन गएको छ । पहिलो कुरा उनले काठमाण्डौ नभै जनकपुरलाई पहिलो भ्रमण रोज्नुले पनि शंका उव्जाएको छभने २ नं प्रदेशका मुख्य मन्त्रीको स्वागत भाषणले त कुटनीतिक मर्यादाको मात्रै उलंघन नगरी आम नेपाली मनमा ठेस लागेको छ । त्यसैगी अरुण तेस्रोमा हस्ताक्षरले समेत नेपाल ठगिने पक्कापक्की जस्तै छ । त्यसैगरी बिगतका असमान सन्धी सम्झौताको पुनरावलोकन, गण्डक कोशी र महाकाली नदीमाथीको बाँधका कारण बर्षेनी हुने डुबान र क्षतिका कारण बारेमा बेला–बेलामा भैरहेका सिमा बिबाद र अतिक्रमण जिउधनको क्षतिको बारेमा भारु सटही व्यवस्था सम्बन्धमा सिमापारबाट रोजगार पश्चात नेपाल फर्किंदा नेपालीहरुलाई सिमानामा हुने ज्यादती सम्बन्धमा, नेपाली उत्पादित बस्तु भारत निर्यात गर्ने करको दर र भन्सार सम्बन्धमा, २०७२ को भुकम्पका बेला घोषित आर्थिक सहयोगका सम्बन्धमा, नेपाली विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्न जाँदा पाउने छात्राबृत्तिको कोटा बृद्धि सम्बन्धमा सरकारको तर्फबाट सरकार प्रमुखले जे जति पहल गर्न पर्दथ्यो त्यो कुनै पहल भएन् । खाली केपी ओली मोदीको भ्रमण कसरी गराउने भन्नेमा मात्र ब्यस्त रहे र उनको चाहना पुरा त भयो आम नागरिकहरुले प्रत्यक्ष फाईदा प्राप्त गरेनन् । उल्टै २ नं प्रदेशमा मदेशबादी दलहरुको पक्षमा मोदीले भव्य नागरिक अभिनन्दन र काठमाण्डौमा सरकारका तर्फबाट काठमाण्डौ महानगरपालिकाले नागरिक अभिनन्दन गरेर आम नेपाली नागरिकको उपहास गरियो । त्यति मात्र हैन जनकपुरको जानकी मन्दिरमा मोदी र ओलीले लगाएको पोषाकले समेत निकै चर्चा पायो र त्यसले पनि नेपाली शिर निहुरायो नै । मोदीको भ्रमणमा कैयन यात्री र नागरिकले सास्ती व्यहोर्नु प¥यो । सुरक्षाको नाममा सरकारले अनावश्यक नागरिकलाई मार पर्ने निर्णय समेत ग¥यो । त्यसैको परिणम स्वरुप बिभिन्न स्थानमा मोदीको भ्रमण र ओली सरकारको भारत परस्त क्रियाकलापबिरुद्ध बिरोध प्रदर्शन र कालो झण्डा प्रस्तुत भए । त्यती मात्र हैन सोही बिषयलाई लिएर विप्लव नेतृत्वको नेकपाले भ्रमणको भोलीपल्ट बैशाख ३० मा नेपाल बन्दको समेत आव्हान ग¥यो । त्यसको स्पष्टि करण स्वयम प्रधानमन्त्री ओलीले ३० गतेको सांसद बैठकमा मोदीको भ्रमणको जानकारी गराउने क्रममा कुटनीतिज्ञ केही त्रुटी भएको बताएका छन् । २ नं प्रदेशका मुख्य मन्त्रीले नेपालको संविधान बिभेदकारी रहेको र आफ्नो आन्दोलन जारी रहेको आफ्ना प्रमसँग बताईरहँदा सरकारको तर्फबाट कुनै प्रतिक्रिया नआउनुले राष्ट्र र जनताप्रति बेईमान भएको छ ।
यसरी भारतिय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण अनेकन राजनीतिक छाप छोड्दै सम्पन्न भएको छ । भ्रमणका क्रममा केही राजनीतिक तथा कुटनीतिक त्रुटी भएपनि समग्रमा मोदीले आम नेपाली नागरिक अगाडि बोलेका कुरा बिना छलछाम कटिबद्ध रुपले लागु गरेमा यसले नेपाल र नेपालीप्रति कोशेढुंगा सावित हुने छ । त्यसैले मोदीले बोलेका कुरालाई सरकारको तर्फबाट समेत बेला–बेला उठान गर्दै कार्यान्वयनमा पहल हुन सकेमा दिर्घकालिन रुपममा यसको प्रभाव राम्रो हुनेमा दुईमत छैन् । तर मोदीको कुरामा नेपाली जनता सहजै विश्वास गर्ने पक्षमा भने छैनन् । कतै मोदीको नेपाल भ्रमण र नेपालीको लागि देखाईएको भाषण ललीपप हात्ति आयो हात्ति आयो पुस्स जस्तै त हुने हैन ? आम नेपाली जनमा प्रतिक्षाको बिषय बनेको छ ।

बुधबार, जेष्ठ २, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री