मार्क्सको कामप्रति चासो

कार्ल बिल्ट
गृहनगर जर्मनीको ट्राएरमा उनको मूर्ति अनावरण गरिएसँगै कार्ल मार्क्सको दुई शताब्दीयौं जन्मजयन्तिका अवसरमा उनको कामप्रति चासो बढेको छ । चीनको बेइजिङमा माक्र्सवादको उत्सव मनाउने क्रममा गत साता चीनका राष्ट्रपति सी जिनपिङले घोषणा गरे – ‘‘भव्य सूर्योदयजस्तै मार्क्सवादले मानव इतिहासको अन्वेषणको नियम र मानव मुक्तिको पथ प्रदर्शन उजागर गरेको छ । ‘मार्क्सका सम्बन्धमा सीले अगाडि दाबी गरे- ‘‘मार्क्सले वैज्ञानिक सिद्धान्तका आधारमा शोषण र दमनरहित प्रत्येक व्यक्तिले समानता र स्वतन्त्रताको उपभोग गर्ने एउटा आदर्श समाजतर्फको बाटो देखाए ।’
सीका यी शब्दहरू ‘मार्क्सवादी‘ चीनमा मुखरित भएकाले श्रोताहरूसँग सहमत हुनुबाहेक विकल्प थिएन । यद्यपि, त्यही दिन ट्राएरमा बोल्दै युरोपेली संघका अध्यक्ष जँ क्लाउड जन्करले माक्र्सप्रति उदार पुनर्मूल्याङ्कन प्रस्तुत गरे । उनले भने ‘‘आज मार्क्सलाई उनले नगरेका कामका लागि पनि जिम्मेवार ठानिन्छ । किनभने उनले लेखेका कतिपय विचारहरू ठीकविपरीत पुनर्लेखन गरिएको छ ।’’ जन्करले खासमा के भन्न खोजेका हुन् भन्ने स्पष्ट छैन । मार्क्सवादी भनिने शासनअन्तर्गत करोडौं मानिसले अकल्पनीय सास्ती भोगेका छन् । स्वघोषित मार्क्सवादीका हातबाट बीसौं शताब्दीमा मानव जनसंख्याको चालीस प्रतिशतले भोकमरी, सश्रम कारावास, सेन्सरसिप,लगायत अरू विभिन्न प्रकारका दमन भोगेको छ ।
आफ्नो भाषणमा जन्करले चलनचल्तीको तर्ककै सहारा लिएका छन् – बीसौं शताब्दीमा गरिएको कम्युनिस्ट ज्यादती मार्क्सको विचारको एक प्रकारको विचलनको कारण भएको थियो र त्यसका लागि मार्क्सलाई जिम्मेवार बनाउन बिरलै मिल्छ ।
यस तर्कमा के कुनै दम छ ? मार्क्सले आफ्नो जीवनको अधिकांश समय उन्नाइसौं शताब्दीको मध्यतिरको पश्चिमी मुलुकहरूको औद्योगिकीकरणको राजनीतिक अर्थशास्त्रको विश्लेषणमा बिताए । तर, उनको सिद्धान्तको दीर्घकालीन प्रभाव भने भविष्यमाथि पर्छ र समाजमा तिनको असर हुनेछ । मार्क्सको प्रभावको चर्चाका क्रममा यस पक्षलाई पनि उपेक्षा गर्न सकिँदैन ।
मार्क्सले उनको समकालीन उदीयमान पुँजीवादी समाजमा देखिएको सबै प्रकारका विकृतिको व्यक्तिगत सम्पत्तिलाई ठाने । यसैगरी व्यक्तिगत सम्पत्ति समाप्त गरे समाजको वर्ग विभाजनको सबै समस्या निराकरण र सुखद भविष्य सुनिश्चित हुने उनको विश्वास देखिन्छ । कम्युनिज्ममा राज्यकै आवश्यकता नहुने भएकाले लोप हुने दाबी उनका सहयोगी फ्रेडरिक एङ्गल्सले गरेका थिए । यी अवधारणाहरू सामान्य कल्पनाका रूपमा नभई अवश्यंभावी घटनाको वैज्ञानिक भविष्यवाणीका रूपमा प्रस्तुत गरिएका थिए ।
परन्तु, यो सबै वाहियात थियो र माक्र्सको इतिहाससम्बन्धी सिद्धान्त ‘द्वन्द्वात्मक भौतिकवाद‘ गलत सिद्ध भएको छ र खासगरी सबै क्षेत्रमा खतरनाक हुनपुगेको छ । मार्क्सका प्रखर आलोचकमध्येका एक बीसौं शताब्दीका महान् दार्शनिक कार्ल पोपरले उनलाई ‘नक्कली देवदूत‘ भनेर सही संज्ञा दिएका छन् । यसको थप प्रमाण के हो भने बीसौं बताब्दीमा पुँजीवाद अपनाएका मुलुकहरूमा समाज बढी लोकतान्त्रिक, खुला र समृद्ध हुँदैगएको छ ।
अर्कातिर ठीकविपरीत मार्क्सवादका नाममा पुँजीवाद निषेध गर्ने सबै सत्ता असफल भएका छन् । यो कुनै संयोग वा मार्क्सका अनुयायीका कुनै सैद्धान्तिक अज्ञानका कारण भएको भने हैन । निजी स्वामित्व उन्मूलन र अर्थतन्त्रमा राज्यको नियन्त्रण स्थापना गरिँदा समाजलाई अगाडि बढाउन आवश्यक उद्यमशीलताबाट वञ्चित हुनेमात्र हैन स्वतन्त्रता पनि समाप्त हुन्छ ।
मार्क्सवादमा समाजका सबै अन्तर्विरोधको जड वर्ग संघर्ष हो र सम्पत्तिमा निजी स्वामित्व समाप्त हुनेबित्तिकै वर्ग संघर्ष पनि समाप्त हुने भएकाले सम्पत्तिमा निजी स्वामित्व समाप्त भएर कम्युनिज्म स्थापना हुनेबित्तिकै सबै प्रकारका असन्तुष्टि पनि समाप्त हुने मानिन्छ । सिद्धान्ततः यसपछि नयाँ व्यवस्थाप्रति कुनै चुनौती दिनु दमनकारी पुरानो शासनको अवैध अवशेष मानिन्छ ।
यसरी मार्क्सवादी शासनहरू यथार्थमा मार्क्सकै सिद्धान्तको नियोजित विस्तार हुनपुगेका छन् । जन्करले ठीकै भनेका हुन् रुसी क्रान्तिभन्दा ३४ वर्ष पहिले मरेका मार्क्स यातना शिविरहरूका लागि जिम्मेवार छैनन् । तैपनि, उनका विचारहरू त स्पष्टरूपमा जिम्मेवार छन् नि !
युवा अवस्थामा मार्क्सवादी भए पनि पछि मार्क्सवादका प्रखर आलोचक बनेका पोल्यान्डका दार्शनिक लेजेक कोलाकोवस्की आफ्नो ‘मेन करेन्टस अफ माक्र्सिज्म‘ शीर्षकको विख्यात पुस्तकमा मार्क्सले व्यक्तिको अस्तित्वमा कुनै ध्यान नदिएको टिप्पणी गरेका छन् । उनले लेखेका छन् –‘‘मार्क्सवादमा मानिस जन्मन्छ र मर्छ, तिनमा पुरुष र महिला हुन्छन्, युवा र वृद्ध तथा स्वस्थ र बिरामी हुन्छन् भन्ने यथार्थमा पटक्कै ध्यान दिइएको छैन । कोलाकोवस्की लेख्छन् – ‘‘खराबी र पीडाको मार्क्सका दृष्टिमा कुनै अर्थ छैन तिनीहरू त मुक्तिका साधनमात्र हुन् । मार्क्सका लागि तिनीहरू मानव जीवनका अभिन्न अंग नभएर सामाजिक यथार्थमात्रै हुन् ।‘‘कोलाकोवस्कीको विवेचनाले मार्क्सको यान्त्रिक तथा निर्देशात्मक सिद्धान्त अपनाउने सरकारहरू समाजको जटिलताको सामना गर्नुपर्नेवित्तिकै किन सबै सर्वसत्तावादी भइहाल्नेछन् भन्ने बुझ्न सहयोग गर्छ । मार्क्सवादी सरकारहरू सधैँ सर्वसत्तावादी हुन विफल पनि भएका छन् तर त्यसको परिणाम भने सधैँ नै त्रासद हुनेगरेको छ ।
विगत केही दशकको चीनको आर्थिकलाई सीले मार्क्सवादको निरन्तरताका कायम राख्ने बलियो प्रमाण ठानेका छन् । तर, यथार्थ भने यसको ठीक उल्टो हो । चीन खाँटी कम्युनिस्ट हुँदाताकाको भोकमरी, र ‘अग्रगामी छलाङ‘ तथा ‘सांस्कृतिक क्रान्ति‘को आतंकको सम्झौँ त ! किसानहरूसँग जमिन र व्यवसायीहरूसँग उनीहरूको उद्यम, व्यवसाय खोस्ने माओको निर्णयबाट भयावह विध्वंश भएको थियो । त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीले निजी स्वामित्व खोस्ने सिद्धान्त नै त्यागेको थियो ।
माओका उत्तराधिकारी देङ स्याओपिङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीे आर्थिक खुलापनको नीति अपनायो । सन् १९७८पछि निजी स्वामित्व तथा उद्यमशीलतालाई स्वीकृति दिइयो र त्यसको परिणाम आश्चर्यजनक उपलब्धिका रूपमा देखियो । चीनको विकासमा अहिले सबैभन्दा बाधक राज्यको स्वामित्वका दक्षताहीन उद्योगहरू र विरोधको दमनजस्ता माक्र्सवादका अवशेष नै हुन् । आधुनिक र बहुलतापूर्ण समाजसँग चीनको केन्द्रीकृत एक दलीय प्रणाली मेल खाँदैन ।
मार्क्सको जन्को दुई सय वर्षपछि उनको बौद्धिक योगदानको विवेचना गर्नु पक्कै पनि बुद्धिमत्तापूर्ण हुन्छ । यस अवसरमा मार्क्सवादको विवेचना उनको जन्मलाई उत्सवका रूपमा मनाउन हैन बरु हाम्रो खुला समाजलाई मार्क्सवादी विचारबाट उत्प्रेरित सर्वसत्तावादको चंगुलमा पर्नबाट जोगाउनका लागि गर्नुपर्छ । (स्विडेनका पूर्व प्रधानमन्त्री)

शुक्रबार, जेष्ठ ४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री