प्रतिवाद कला सिकाऔं

अघिल्लो हप्ता मात्रै बागलुङको जैमिनी नगरपालिकामा एक बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा जैमिनी–९ का २८ बर्षिय अर्जुन नेपाली पक्राउ परे । ललाईफकाई जंगलको बीचमा लगेर एक स्कुले बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनीमाथि म्याद थपेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जैमिनीको घटना सेलाउन नपाउँदै सोमबार मात्रै पर्वतको फलेवास नगरपालिकामा स्कुले बालिकाहरुलाई यौनजन्य व्यवहार गरेको आरोपमा माझीगाउँ आधारभुत विद्यालयका प्रधानाध्यापक खिलराज शर्मा पक्राउ परे । उनीमाथि ४ जना बालिकालाई एक बर्षदेखी यौनजन्य दुव्र्यवहार गर्ने र काट्ने मार्ने जस्ता धम्की दिने गरेको आरोप लागेको छ । बागलुङ, पर्वत लगायतका धौलागिरीका सबै जिल्लाको मुद्धाहरुलाई राम्रोसँग नियाल्ने होभने कुनै न कुनै रुपमा यौनजन्य क्रियाकलापमा संलग्न भएका र बालिका तथा महिलाहरु यौनजन्य अपराधको सिकार भएका मुद्धाहरु निकै धेरै रहेको पाईन्छ ।
यी सबै घटनालाई नियाल्ने होभने हाम्रो समाजको सभ्यताको चित्र देखिन्छ । त्यो मात्रै हैन यस्ताखालका घटना हुन नदिन र जनचेतनाको विस्तार गर्नका लागि भन्दै गठन भएका अधिकारीवादी संस्था, समुह तथा सरोकारवालालाई यस्ता खालका घटनाले जिस्काईरहेका छन् । बालिकाहरुलाई दुव्र्यवहारबाट जोगाउनको लागि बिभिन्न सरकारी गैरसरकारी संस्थाहरुले तालिम, गोष्ठी, जनचेतनामुलक कार्यक्रम र बिबिध खालका शिर्षक बनाएर बर्षमा करोडौं सकिरहेका छन् तर समजमा यस्ता खालका घटना घट्नुको साटो बढ्दै गैरहेका छन् । यौन दुव्र्यवहारमा संलग्नलाई कानुन अनुसारको कारवाही हुन्छ र गरिन्छ यो एउटा पाटो हो तर यस्ता खालका घटना हुनै नदिनु सबैभन्दा महत्वपुर्ण कुरा हो । जर्बजस्ती करणी र यौनजन्य हिंसामा संलग्नहरुलाई सामाजिक बहिस्कार गर्ने र यस्तो खालको घटना दोहोरिन नदिनको उनीहरुलाई रहँदै आएको समाजबाट निकाला गर्ने सम्मको काम गरिनु पर्छ ।
अर्को महत्वपुर्ण पक्ष दुव्र्यवहारबाट बच्नको लागि बालिका, युवती तथा महिलाहरुलाई त्यस्ता खालका व्यक्तिबाट बच्ने उपायको बिषयमा जानकारी गराउने र सिप सिकाउने कार्यक्रम राज्यले तयार गर्न जरुरी छ । कोही कसैले जर्बजस्ती गर्दाको समयमा प्रतिवाद गर्न नसकेकै कारण आज पनि हाम्रा बालिका, किशोरी तथा महिलाहरु हिंसाको सिकार बनिरहेका छन् । अब उनीहरुको लागि प्रतिबाद र आक्रमणको कला समेत सिकाईनु पर्छ । आदर्श छाँट्ने तालिममा लाखौं सकेर हैन व्यवहारिक प्रतिवाद कला सिकाउनेमा राज्य र गैह्र राज्यको लगानी हुने होभने यस्ता खालका घटनाहरुमा कमी आउने र गलत मनसाय भएकाहरुले समेत प्रतिवादको त्रासमा आक्रमणको आँट गर्दैनन् । अर्कोतर्फ हिंसामा पर्नु पुर्वको प्रतिवादले अपराधीको पहिचान हुने र हिंसाको सिकार बन्नु पुर्व बच्न सकिन्छ । जसका कारण एकै व्यक्तिबाट कयौ व्यक्ति हिंसामा पर्ने समभावना पनि टरेर जान्छ । राज्यले हिंसाका घटनामा कमी ल्याउन र चेतनाको विकास गर्नको लागि देशमा रहेको चरम गरिबीको कमी, शिक्षा र स्वास्थयको क्षेत्रमा सबैको पहुँच र सामाजिक तथा सार्वजनिक स्थानहरुमा सबैको उपस्थिती हुने वातावरण सिर्जना गर्न सके यौन हिंसाका घटनामा आधा कमी आउने छ ।