महिलामा उत्प्रेरणा जगाऔं

जिल्लाको तमानखोलाकी बिष्णु रोकाले सडक छेउमा मकै पोलेर दैनिकी चलाउँदै आएकी छिन् । पोलेको मकै बिक्री गरेर उनले दैनिक चारदेखि पाँच सय रुपैयाँसम्म कमाउने गरेकी छिन् । अविवाहित रोकाले कमाईबाट घरमा दाई भाउजु र उनीहरुका छोराछोरीको पढाइका लागि सामान्य सहयोग गर्छिन् । बाँकी कमाईबाट उनले आफ्नो दैनिकी चलाएकी छिन् । सडकको छेउमा बसेर मकै पोल्दा उनको काममा प्रस्न उठाउनेहरु धेरै थिए तर उनले त्यस्ता कुरामा ध्यान दिने गरेकी छैनन् । किनकी उनले कामलाई मायासंगै सम्मान गर्ने गर्छिन् । यस्तै बागलुङ नगरपालिका–३ पावरहाउसमा बस्ने दिलकुमारी थापाले बंगुर पालेर कमाई गर्न थालेकी छन् । पाँचबर्ष अघिसम्म खान लाउन समस्या पर्ने थापाको परिवारमा बंगुरपालनको आम्दानीले खर्च पुगेर कमाई समेत भएको हुन्छ । मालढुंगादेखि पाठापाठी किनेर ल्याएपछि उनले व्यवसायिक रुपमा बंगुरपालन थालिन् । उनले गरेको व्यवसायले दैनिकीसंगै बचत समेत हुने गरेको छ ।
जिल्लाभर यस्ता कयौं महिलाहरु छन् जसले मेहेनत गरेर छाक मात्रै टारेका छैनन् उनीहरुले भविश्यको लागि बचत समेत गर्ने गरेका छ । महिलालाई उनीहरुमा रहेको जाँगर प्रयोग गर्न दिने होभने जिवीकोपार्जन गर्न सक्छन् र मौका पाए मनग्य कमाई समेत गर्न सक्छन् भन्ने उदाहरण हुन् । पछिल्लो समय चाहे सरकारी तह होस वा गैह्रसरकारी निकाय सबैले महिलाका नाममा क्षमता विकास र स्वरोजगारमुलक तालिमको नाममा करोडौं रुपैयाँ खर्चिने गरेका छन् । तर उनीहरुले प्रोजेक्टरको माध्यमबाट कम्प्युटरमा बनाईएका सामग्रीहरु प्रस्तुत गरिरहँदा जति सुन्दा आनन्द लाग्छ त्यतीनै ति कुराहरु व्यवहारमा प्रयोग गर्न कठिन हुने गरेका छन् । तालिमको नाममा केही घण्टा भुलाएर भत्ता बाँडेर बजेट सक्ने र प्रगति देखाउने प्रबृतिका कारण आजपनि कयौं काम सिकेका र तालिम लिएका महिला बेरोजगार जस्तै छन् । उनीहरुलाई काम गर्ने वातावरण निर्माण गर्ने तरिकाको बिषयमा ज्ञान छैन् ।
तालिम तथा गोष्ठीमा देखाईएका जस्ता अनेकौं सपनाहरु पालिरहेका छन् तर काम कसरी र कहाँ सुरु गर्ने भन्ने विषयमा अन्यौलता छ । उनीहरुलाई व्यवहारिक ज्ञानको अभाव छ त्यसैले अलमलमा छन् । भाषण र बन्द कोठामा हैन महिलाहरुको सिप विकासको लागि गरिने तालिम तथा गोष्ठीहरु बिष्णु र दिलकुमारी जस्ता हिम्मतिला महिलाहरुले गरेको कामलाई देखाएर व्यवहारिक ज्ञान दिउँ । अनेकौं अवसर भएर पनि ती अवसरलाई प्रयोग गर्नबाट बञ्चित भएका वा बनाईएका महिलाहरुलाई यस्ता उदारहणीय महिलाको काम देखाएर उत्प्रेरणा प्रदान गरौं । समाज रुपान्तरणको जिम्मेबारी हामी सबैको हो । यो समाजमा व्याप्त बेथितीलाई निर्मुल पार्दै आर्थिक समृद्धि सहितको समाज निर्माणका लागि यस्ता खालका उदारहणिय महिलाहरुबाट पाठ सिक्ने वातावरण सरोकारवालाले बनाईदिनु पर्छ । किताबी ज्ञानको आधारमा बिद्याबारिधि गरेका प्राध्यापकले बन्द कोठामा दिने ज्ञानभन्दा यस्ता उदाहरणीय महिलाहरुको काम स्थलगत रुपमा अवलोकन र अध्ययन गर्न सके त्यसको प्रभावकारिता अझ बढी हुने छ ।