धार्मिक सद्भावको यो दृष्टान्त

आदिम कालदेखि नेपाली समाज जातजाति, धर्म, संस्कृतिका कारण विभाजित छ । त्यो परम्परा हिजोभन्दा केही कम भएपनि धर्म र जातजातिको नाममा एकले अर्कालाई बन्देज लगाउने प्रवृत्ति भने निर्मुल हुन सकेको छैन । जातिय विभेदका कारण आज दलित र गैरदलितबीच वैमन्स्य बढ्दै जाँदा जन्मदेखि मृत्यु संस्कारमा समेत एकले अर्काेलाई बहिष्कार गर्ने प्रवृत्ति हाबी भएको छ । सूचना, प्रविधि र विज्ञानले सिंगो विश्व एउटा गाउँमा परिणत भईरहेको वर्तमानमा हामी बिहे होस् वा ब्रतबन्ध दलित र गैरदलितका लागि भान्सा छुट्टाछुट्टै बनाउँदै आएका छौ । छोइछिटो गर्ने परम्परालाई त्याग्न सकेका छैनौ । महाकवि लक्ष्मी प्रसाद देवकोटाले भनेका छन्ः ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’ तर, हामी अझैपनि जातिय दलदलबाट बाहिर निस्कन नसक्दा सार्वजनिक धारा होस् वा मन्दिरमा पसेको निहुँमा दलितलाई अपमान गर्ने काम रोकिएको छैन । के हामीमा मानवीयता मर्दै गएको हो ? यदि होइन भने हामी किन जात र धर्मको नाममा अझैपनि विभाजित भईरहेका छौ । जबसम्म एक जातिले अर्काे जातिको अस्तित्व स्वीकार नगर्ने र एक धर्मले अर्काे धर्मलाई बहिष्कार गर्ने परिपाटी अन्त्य हुँदैन तबसम्म देशमा सद्भाव कायम रहन सक्दैन ।
आज पुरा विश्व धर्मकै कारण विभाजित छ । धार्मिक विभाजनका कारण विशेषत मुश्लिम देशहरुमा भीषण युद्वनै चलिरहेको छ । अरबी मुलकमा सुन्नी र सिया समुदायबीच चलिरहेको धार्मिक युद्वका कारण हरेक दिन सर्वसाधारणले ज्यान गुमाउन बाध्य भएका छन् । पुरा विश्वलाई इस्लामिक बनाउने उद्घोषका साथ युद्व चर्काइरहेको इस्लामिक स्टेटका कारण आज सिरिया रणभूमीमा परिणत भएको छ । त्यहाँका लाखौं नागरिकले धार्मिक हिंसाकै कारण ज्यान गुमाउन बाध्य भएका छन् । धार्मिक हिंसाकै चपेटामा परेका कारण आज लाखौं थाइल्याण्डका रोहिंगा मुश्लिम समुदायले आफ्नो थातथलो छोडेर शरणार्थी जीवन बिताउनु परेको अवस्थ छ । अल्पसंख्यक रुपमा रहेको रोहिंगया समुदायमाथि सरकारी सेनाको ज्यादतीका कारण उनीहरुले आफ्नो थातथलो छोड्न बाध्य भएका हुन् । जातिय हिंसाका कारण कंगो, सुडान लगायतका देश क्षतविक्षत भएका छन् । धार्मिक र जातिय हिंसा उत्कर्षमा पुगेपनि ती देशहरुमा अहिले पनि शान्ति सेनाले सुरक्षा दिनुपर्ने अवस्था सिर्जना भएको छ । जातिय र धार्मिक हिंसाले निम्त्याएको नरसंहारका कारण आज ती देशको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । नागरिकले अझैपनि सुखको सास फेरेर बाँच्न पाउने अवस्था छैन ।
जातिय र धार्मिक रुपमा नेपाली समाज पनि विभाजित छ । जातिय विभेदका घटना अखबार आईरहनु यसको उदाहरण हो । नेपाली समाज धार्मिक रुपमा पनि विभाजित छ । देशमा भईरहने पहिचानवादी आन्दोलनले यसको पुष्टि गर्छ । धार्मिक र जातिय रुपमा नगन्य मात्रामा नेपाली समाज विभाजित भईरहेको बेला गुल्मीका महिलाहरुले भने धार्मिक सद्भावको नमुना प्रस्तुत गरेका छन् । नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकै कारण सबै जातजाति मिलेर बसेका छन् । यद्यपी कहिँ न कहीँ धार्मिक रुपमा एकले अर्काेलाई हेर्ने दृष्टिकोण फरक पाइन्छ । एक धर्मले अर्काे धर्मलाई नराम्रो देख्ने प्रचलन छ । धार्मिक संस्कारमा देखिने विभाजनलाई पुर्नको लागि गुल्मीका हिन्दु र मुश्लिम महिलाहरुले उदाहरणीय काम गरेर देखाएका छन् । गुल्मी बाट साउदी अरवमा ह ज गर्न जान लागेका मुश्लिम समुदायकालाई हिन्दु र बौद्विष्ट महिलाहरुले विदाई गरेका छन् । विदाईको पलमा उनीहरुले पुष्प गुच्छा दिएर विदाई गर्दा आँखाबाट आँशु समेत झारेका छन् । गुल्मीका हिन्दु र बौद्व महिलाहरुले मुश्लिम समुदायकी एक महिला र पुरुषलाई विदाई गरेर धार्मिक सद्भावको ज्वन्त उदाहरण पेश गरेका छन् । नेपाली समाजमा विभिन्न जातजाति र धर्ममा आस्था राख्ने समुदाय बस्दै आएका छन् । जसले जुन धर्म माने पनि त्यसको सम्मानमा अर्काे जातिले कन्जुस्याई गर्नुहुँदैन । जातिय र धार्मिक रुपमा मिलेर बस्नु नै नेपालीको पहिचान हो । यसलाई कहिल्यै मर्न दिनु हुँदैन । हामीले एक अर्काको धर्मलाई सम्मान गर्नुपर्छ ।