सेवा नै धर्म हो

पैसाले मान्छेलाई कतिसम्म अन्धो बनाउँछ भन्ने कुरा मृगौला तस्करी समातिएपछि रहस्योद्घाटन भएको छ । मान्छेले पैसाको लागि मान्छेको मृगौला समेत तस्करी गर्छ भन्दा पत्याउन गाह्रो हुन्छ तर यो यथार्थ हो । प्रहरीले हिजो मात्र चितवनबाट मृगौला तस्करीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । मान्छे पैसाको पछाडि यसरी दौडिएको छकि उसले आवश्यक परे जस्तो पनि अपराध गर्न पछि पर्दैन । पैसाकै कारण जघन्य अपराध समेत हाम्रो समाजमा घटिरहेका छन् । तर, यहीँ समाजमा यस्ता मनकारी मानव पनि छन् जसले पुण्य कमाउनको लागि आफुले दैनिक गुजारा चलाउँदै आएको छाक कटाएर समेत सामाजिक क्षेत्रमा खर्च गरिरहेका छन् । जसले यो समाजमा मानवीयता पनि छ है भन्ने सन्देश दिएका छन् । पैसा सबथोक होइन फेरि पनि मान्छे आज पैसाको लागि आफ्नो थालथलो समेत छाडेर विदेशी भूमिमा पलायन भईरहेका छन् तर कतिपय यस्ता नागरिक छन् जसले गाउँघरमै दुःखसुख गरेर जीवनयापनसंगै सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेलीरहेका छन् ।
समाजमा एउटा यस्तो वर्ग छ जस्ले छोराछोरीको न्वारन, पास्नी होस् वा जन्मदिन लाखौ रुपैयाँ खर्च गरेर मनाउने गरिन्छ । तर यही समाजले यस्तो एउटा वर्ग छ जसले जन्मदिन होस् वा एनिभर्सैरीमा हुने फजुल खर्च कटाएर समाजबाट अपेहित भएर बाँचिरहेकाहरुको क्षेत्रमा खर्च गरिरेका छन् । हाम्रो समाजमा यस्तो एउटा वर्ग पनि छ जसको ओत लाग्ने बास छैनभने भोक लाग्दा खाने अन्न समेत छैन । यस्ता वर्गका नागरिक पनि हाम्रो समाजका सदस्य नै हुन । यिनीहरुलाई दुःख पर्दा मल्हम लगाउने हाम्रो पनि दायित्व हो भन्ने कुरा भुल्नु हुँदैन । मान्छेले धर्म गर्नको लागि केवल मठमन्दिर धाएर मात्रै हुँदैन । समाजमा पुण्य हुने केही काम गरेमात्र स्वर्गिय आनन्द प्राप्त गर्न सकिन्छ । यस्तै सामाजिक सेवाबाट ओतप्रोत भएका मानवबाट आज हाम्रो समाजबाट विमुख भएर बाँचेकाहरुले राहतको महशुश गर्न पाएका छन् । धन्य यस्ता पात्रहरुलाई जसले आफुसंगै अरुको पनि भलो चिताउने गर्छ ।
मानवीय सेवामा समर्पित एक दम्पत्ति हुन जसले आफ्नो छोरीको जन्मदिनको खर्च कटाएर गाउँको विद्यालयमा अक्षकोष स्थापना गरेका छन् । रोजगारीको शिलशिलामा हाल अमेरिका जर्जिया रहेका कुश्मा नगरपालिका–८ का विनोद जिसी र शोभा जिसी पौडेलकी छोरी एन्जलेन जिसीको जन्मदिनको खर्च कटाएर गाउँको विद्यालयमा २ लाख ५० हजार ३ सय प्रन्धको अध्यक्षकोष स्थापना गरेका हुन् । विनोद र शोभा मात्रै होइन पर्वतकी सरस्वती शर्मा जिज्ञासुले समेत आफ्नो जन्मदिनमा ५ लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेकी छिन् । सामाजिक क्षेत्रमा खर्च हुने गरी स्थापना गरिने यस्ता अक्षयकोषले गरिब, निमुखालाई निकै नै राहत हुने गर्छ । जन्मदिन र एनिभर्सरी मनाउने परम्परा आयातित हो । यसलाई अनुशरण गर्दै लाखौं रुपैयाँ खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्दै आधारभूत आवश्यकताबाट बन्चित बनेको क्षेत्रमा खर्च गर्न अग्रसर हुनुपर्छ । फजुल खर्च सामाजिक क्षेत्रमा खर्च गर्ने होभने पुण्यको काम हुनेछ ।